आरआर जर्नल विमोचन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
84 Shares
काठमाडौं

आरआर जर्नल विमोचन सञ्चार क्षेत्रको विकृति हटाउन पत्रकार स्वयम् लाग्नुपर्नेमा जोड काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसका स्नातक तहको तेस्रो वर्ष अध्ययनरत विद्यार्थीद्वारा प्रकाशित आरआर जर्नल विमोचन गरेको छ ।

शुक्रवार जर्नल विमोचनसँगै पत्रकारितामा ‘नवप्रवेशीहरूका लागि अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । आरआर पत्रकारिता हलमा भएको सो कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले आरआर क्याम्पस पत्रकारिता प्रशिक्षणको प्रमुख केन्द्र भएको बताउँदै सञ्चार क्षेत्रमा रहेका विद्यमान विकृति र विसङ्गतिको अन्त्यका लागि पत्रकार स्वयम लाग्नुपर्ने बताए । पत्रकारिताको प्रभावकारी अभ्यास, क्षमताको प्रयोग तथा प्राज्ञिक ज्ञान प्राप्त गर्ने शैक्षिक संस्थाको रूपमा आरआर क्याम्पस रहेकाले नेपालको सबैजसो प्रतिष्ठित सञ्चार संस्थामा अग्र पङ्क्तिमा काम गर्ने पत्रकारहरू आरआरकै उत्पादन रहेको बताए ।

क्याम्पस प्रमुख ज्ञवालीले देशभरका विद्यार्थीको रोजाइमा रहेको आरआर क्याम्पसलाई शैक्षिक गुणस्तर वृद्धि गराउन प्राध्यापक, अध्यापक तथा सम्पूर्ण कर्मचारीहरूको उत्तिकै भूमिका रहेको बताउँदै भौतिक संरचनामा भने केही समस्या रहेको औँल्याए । क्याम्पसको स्रोत र साधनले सकेसम्म कक्षाकोठालाई प्रविधिमैत्री बनाएर अध्यापन गराइरहेको जानकारी दिए । बजेट अभावकै कारण क्याम्पसको भौतिक संरचनामा केही समस्या भइरहेको र त्यसको पुनः निर्माण गर्नुपर्ने अवस्था आएकोले सहयोगको लागि सरकारसँग आग्रह गरे ।

जर्नल प्रकाशनले विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानसँगै सीप, विकास र व्यवहारिक पक्षको मूल्याङ्कनमा थप सहयोग पुगेको दिवा सत्रका सहायक क्याम्पस प्रमुख रामबहादुर कार्कीले बताए । कक्षामा लिएको पत्रकारिता शिक्षाले सैद्धान्तिक ज्ञानको बाटो देखाए पनि व्यवहारिक अभ्यासको प्रयोगले विद्यार्थीमाझ सही र गलत छुट्याउन सक्ने दिशावोध गर्ने बताए । पत्रकारिता गर्दा अरूको गोपिनीयताको ध्यान पुर्‍याउनुपर्ने बताउँदै नव प्रवेशी पत्रकारहरूलाई सैद्धान्तिक ज्ञान र व्यवहारिक पक्षलाई सँगसँगै लान आग्रह गरे । पत्रकारले राजनीतिक विषयमा मात्र केन्द्रित नभई विकास र आर्थिक पक्षको पनि समाचारलाई महत्त्व दिनुपर्ने बताए ।

कार्यक्रममा पत्रकारिता विभाग प्रमुख डा. जगत नेपालले पत्रकारिता विषय अध्ययनमा अथाह अवसरहरू रहेको बताउँदै पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका विकृतिलाई हटाउन पत्रकारिताकै विद्यार्थीबाट सुरु गर्नुपर्ने बताए । पेसाप्रति समर्पित भएर काम गरिए पत्रकारिता क्षेत्रमा कुनै समस्या नआउने बताए । पत्रकारिता समाजको अभिन्न अङ्गको रूपमा स्थापित भइसकेकोले सबैले विश्वास गर्ने पेसाको रूपमा रहेकाले इमानदारिता भएर लाग्न सुझाव दिए । आरआर क्याम्पसको पत्रकारिता विषय शिक्षक एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम बिडारीले गुणस्तरीय पत्रकारिता शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताउँदै समाचार कक्षालाई कक्षाकोठासँग जोडेर अध्यापन जारी राखेको बताए । बिडारीले इमानदारीपूर्वकता मेहनत गरियो भने राम्रो फल प्राप्त हुने बताए । विए तेस्रो वर्ष अध्ययनरत इलेक्टिभ जेएमसी ४१० विषय अन्तरगत प्रयोगात्मक रूपमा प्रकाशन गरेको आरआर जर्नलमा विद्यार्थीहरूको लगनशील र सामूहिक मेहनत पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा प्रारम्भ खबरका सम्पादक तथा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य भीम लामाले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थी तथा पत्रकार स्वयम् लाग्नुपर्ने बताए । पत्रकारिता पेसा संवेदनशील रहेको कुरा सञ्चार क्षेत्रमा लाग्नेहरूले आम नागरिकलाई बुझाउन सकिए सही र भ्रामक सूचनाबारे सचेत हुनेमा विश्वास गरे । पत्रकारिता विषयको अध्ययनले थुप्रै अवसरहरू प्राप्त गर्न सकिने उल्लेख गर्दै नव प्रवेशी पत्रकारहरूलाई धैर्य र सहनशील भएर लाग्न आग्रह गरे । पत्रकारिता पेसामा लागेको आफ्नो अनुभव सुनाउँदै लामाले सामाजिक मूल्य मान्यतालाई ख्याल गरी समाचार बनाउनुपर्ने र पत्रकारितालाई दिगो विकाससँग जोडेर लानुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार हरेराम भेटवालले आफ्नो अनुभव आदानप्रदान गर्दै पत्रकारिताका नवप्रवेशीहरुलाई शुभकामना दिए । उनले मेहनतका कारण नै सफल हुने पेसा पत्रकारिता भएकाले यसमा इमानदार भएर लागिपर्न विद्यार्थीहरूलाई सुझाव दिए । सो कार्यक्रममा पत्रकारिता गर्दै पढ्दै विभिन्न मिडियामा कार्यरत पत्रकारहरू कमलकृष्ण विष्ट, फोमस भण्डारी, अञ्जिता पोखरेल, प्रकाश कपाली, प्रेरणा आचार्यले कक्षा कोठा र समाचार कक्षका पत्रकारिताका अनुभव सुनाएका थिए ।

कार्यक्रममा बिहानी सत्रका सहायक क्याम्पस प्रमुख रविनदाश श्रेष्ठ, क्याम्पस विद्यार्थी कल्याण शाखाका प्रमुख डा. बुद्धिप्रसाद सापकोटा, अङ्ग्रेजी विभागका शिक्षक यादव अधिकारी लगायतको उपस्थिति रहेको थियो । विषय शिक्षक शन्तराम बिडारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जर्नलका संयोजक कमलकृष्ण विष्टले गरेका थिए भने स्वागत मन्तव्य समिता ढकालले गरेकी थिइन् । ४४ पृष्ठको उक्त म्यागेजिनमा विद्यार्थीहरुद्धारा उत्पादित सामग्रीहरू प्रकाशन गरिएको छ ।

तपाईको प्रतिक्रिया