सिन्धुली खबर डटकमका प्रधानसम्पादक नविन श्रेष्ठ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिबाट सम्मानित भएको छ ।
फोनिजको २५औं स्थापना दिवसको अवसरमा सिन्धुलीबजारमा शनिबार आयोजित समारोहमा श्रेष्ठलाई ५ हजार ५०० रुपैयाँसहित सम्मान गरिएको हो ।
फोनिज बागमती प्रदेश समितिले लामो समयदेखि सिन्धुलीमा रहेर पत्रकारितामा क्रियाशील श्रेष्ठले प्रदेशमा फोनिजको अभियान सशक्त बनाउन खेलिएको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएकी थिइन् । उनले सम्मानित प्रधानसम्पादक श्रेष्ठलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ सक्रिय रुपमा अगाडि बढ्न शुभकामना दिइन् ।
फोनिज बागमती प्रदेश समितिको प्रकाशन विभाग प्रमुखसमेत रहेका प्रधानसम्पादक श्रेष्ठ लामो समयदेखि पत्रकारितासँगै फोनिजको अभियानमा सक्रिय छन् । उनले फोनिज सिन्धुली जिल्ला कार्यसमितिमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा काम गरिसकेको छ । २०६२ सालमा फोनिजसँग जोडिएका उनी २०६४ मा सिन्धुली जिल्ला कार्यसमिति सदस्य, २०६७ मा उपाध्यक्ष र २०७४ देखि २०७८ सम्म अध्यक्ष रहेको थियो ।
जिल्लादेखि प्रदेशसम्म फोनिजको संगठन विस्तार र संस्थागत कार्यक्रमहरु सफल बनाउन उहाँले योगदान गर्दै आएको छ । सोही योगदानको मूल्यांकन गर्दै २५औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो ।