मजदुरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बिमा गराएपछि पहिलो पटक भरतपुर अस्पतालमा उपचार गराउन आए । उनले, “स्वास्थ्य बिमाका बारेमा आफूलाई ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा बिमा कार्यक्रम समावेश भएको हुँ ।” अहिले उपचारमा लाग्ने खर्चको जम्मा १० प्रतिशत मात्र आफूले व्यहोर्नुपर्ने भन्ने सुन्दा दङ्ग परे । लाइन लामो भए पनि आफू उपचार गराएरै जाने उनले भने ।
माडी नगरपालिका–७ बाट उपचारका लागि भरतपुर अस्पताल आउनुभएका देवराज बराल पैसा हुने र नहुने दुवैलाई स्वास्थ्य बिमाले फाइदा गरेको बताए । उनले भने, “ग्रामीण क्षेत्रमा थोरै पैसा हुनेहरूका लागि स्वास्थ्य बिमा फलदायी छ ।”
पहिला आफूलाई पनि बिमा गर्दा के हुन्छ भन्ने लागेको भए पनि बिमाबाट उपचार सेवा लिँदा आफ्नो पैसाको बचत हुने गरेको उनले जानकारी दिए । उनले भने, “हामीजस्तालाई बिमा कार्यक्रम प्रभावकारी छ । उपचार गर्दा लाग्ने रकम बच्ने गरेको छ ।” यस्तै भरतपुर महानगरपालिकाका केदार पन्थले विगत तीन वर्षदेखि बिमामार्फत उपचार गराउँदै आएको बताए । अस्पतालको टिकट काउन्टर अगाडि भेटिनुभएका उहाँ पेटमा समस्या भएर अस्पताल आएको हो । उनले भने, “स्वास्थ्य बिमा कार्यक्रमले धाने जति उपचार गर्न पाइएको छ ।” थोरै रकममा धेरै सेवा लिन पाइएको जनाउँदै उहाँले खुसी व्यक्त गरे । आफूले सहुलियतमा उपचार गर्न पाएको जनाउँदै उहाँले थोरै पैसाले हुने भएकाले सबै यो कार्यक्रममा जोडिन सके राम्रो हुने बताए ।
यहाँको भरतपुर अस्पतालमा आउने अधिकांश बिरामी स्वास्थ्य बिमामा जोडिएका हुन्छन् । गत आर्थिक वर्षमा यस अस्पतालमा दुई लाख ६० हजार पटक बिमाका बिरामीको उपचार गरिएको अस्पतालको बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले जानकारी दिए । उनले भने, “बिमा गरेका कमजोर आर्थिक अवस्था भएकाहरूलाई उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन ।”
आव २०७९/८० मा अस्पतालमा बिमामार्फत दुई लाख ५० हजार छ सय १७ पटक उपलब्ध गराइएको पौडेलले जानकारी दिए । एउटै व्यक्ति धेरै पटक पनि बिमामा आउने गर्दछन् । पौडेलका अनुसार सो वर्ष रु ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ रकम भुक्तानी अस्पतालले पाएको थियो । बिमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उनले बताए ।
चालु आर्थिक वर्षको साउनदेखि स्वास्थ्य बिमामा जोडिएको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा बिमाले विपन्नका लागि उपचारमा ठुलो सहयोग गरेको बताउँछन् । अति विशिष्टिकृत सेवा लिन केही खर्चिलो हुने भए पनि स्वास्थ्य बिमा भएसँगै ग्रामीण क्षेत्रबाट उपचारका लागि ‘रेफर’ लिएर बिरामी आउन थालेको उनले बताए ।
उनले भने, “बिमा नहुँदा उपचारका लागि खर्च अभाव भयो भन्दै धेरै गुनासो आउँथ्यो, बिमा सुरु भएसँगै यस्तो समस्या कम भएको छ ।” स्वास्थ्य बिमाले गर्दा पैसा अभावमा रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य भएको प्रमुख प्रशासक देवकोटाको भनाइ छ । उनले भने, “स्वास्थ्य बिमा विशेष गरी विपन्नका लागि वरदान साबित भएको छ ।” बिमा कार्यक्रम लागू भएसँगै बिरामीको सङ्ख्या पनि ह्वात्तै बढेको उनको भनाइ छ ।