बौद्धमा परम्परागत रूपमा मनाइँदै आएको गाईजात्रा तथा रोपाइँ जात्रा (घोनाई) पर्व यस वर्ष पनि विविध कार्यक्रम गरी मनाउने तयारी भएको छ ।
बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्व र काठमाडौँ महानगरपालिका वडा नं. ६ को विशेष सहयोगमा भदौ ४ र ५ गते विभिन्न कार्यक्रमहरूका साथ मनाउने तयारी भएको हो ।
दिवङ्गत आत्माको चिर शान्तिको कामना सहित मनाइने यो पर्व बौद्धनाथ क्षेत्रभित्र भदौ ५ गते विशेष झाँकी, हास्यव्यङ्ग्य सहित प्रस्तुत गरिने भएको छ ।
जात्राबारे पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाका अध्यक्ष जय मङ्गल तामाङका अनुसार पर्वलाई व्यवस्थित बनाउन गाईजात्रा तथा रोपाई जात्रा मूल समारोह समिति गठन गरिएको बताए ।
समितिका अनुसार विभिन्न विधामा सहभागी भएका उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कार, ट्रफी तथा मेडल मात्र र नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष जय मङ्गल तामाङले जानकारी दिए ।
यो वर्षको गाईजात्रा तथा रोपाई जात्रा कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र ‘बालेन’ शाहको उपस्थिति रहने बताइएको छ ।
समितिले यो वर्षको कार्यक्रमका लागि २० लाख माथि अनुमानित खर्च देखाएको छ । सो बजेटमध्ये वडा नं ६ बाट १५ लाख र बाँकी ५ लाख ५५ हजार कल्याण गुठीले व्यहोर्ने बताइएको छ ।
कार्यक्रममा बौद्धनाथ क्षेत्र वरपरका ३९ वटा संस्थाहरूलाई सहयोगी सदस्यका रूपमा रहेका छन् ।
वडा नं. ६ का वडाध्यक्ष भुवन लामाका अनुसार यो पर्व काठमाडौँ खाल्डोभित्र मात्रै सीमित नभई देशका विभिन्न स्थानमा आयोजना हुने गरेको छ ।
काठमाडौँ महानगरपालिकाभित्र विभिन्न क्लब तथा धार्मिक संघसंस्थाहरुले मनाउने सो जात्रा बौद्धनाथ क्षेत्रभित्र रहेका सामाजिक संघसंस्थाहरुको सक्रियताले सो क्षेत्रको जात्रा ऐतिहासिक हुने गरेको वडाध्यक्ष लामा बताए ।
गाईजात्रालाई आफ्ना पितृहरूको सम्झनामा मनाउने पर्वका रूपमा लिइन्छ ।
कार्यक्रममा गाईजात्रा तथा रोपाई जात्रा मूल आयोजक समितिका प्रवक्ता सम्पूर्णकुमार लामाले रोपाईजात्रालाई सभ्य भव्य बनाउन बौद्धनाथ तामाङ कल्याण गुठी, कठमाडौं महानगरपालिका वडा नं ६, बौद्धनाथ क्षेत्र विकास समिति समेत विभिन्न संघसंस्थाहरुबाट गाईजात्रा–रोपाई जात्रा मूल समारोह समिति बनाएको बाए । उनले भने, ‘समिति अन्तर्गत रहेका विभिन्न उपसमितिहरूलाई कामको बाँडफाँड गरिएको छ ।’
कार्यक्रमको संयोजन मूल समारोह समितिका सदस्य वीरबहादुर लामाले गरेका थिए ।