दोलखाको मेलुङ गाउँपालिकाले ‘मेलुङ आलु महोत्सव- २०७६’ गर्ने भएको छ । वडा नं. ३ स्थित घ्याङसुकाठोकर भुमेस्थानमा कार्तिक १ र २ गते हुने महोत्सवको तयारी भइरहेको गाउँपालिका कार्यालयले जानकारी दिए ।
प्रदेश ३ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले महोत्सवको उद्घाटन गर्नेछ ।
‘व्यावसायिक आलु खेतीको प्रवद्र्धन, गाउँमै रोजगारी र आलु खेतीका माध्यमबाट मुलुकको अर्थतन्त्रमा सहयोग’ भन्दै महोत्सव आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘अधिराज्यभरीमा थोरै ठाउँमा मात्रै आलु महोत्सवहरु हुने गर्दछन् । यहाँको वडा नं. ४ बुद्वचोक र डाँडाखर्कभन्दा माथिका भेगमा अत्याधिक आलु उत्पादन हुने र बजारीकरण नभएको स्थितिमा यो महोत्सवले सहज थप्नेछ ।’ यो दोलखा जिल्लाकै पहिलो आलु महोत्सव हो, अध्यक्ष श्रेष्ठले भने ।
यहाँ उत्पादन हुने आलु सबैमा चिनौं र चिनाऔं, आलुको परिकार, स्वाद र स्वास्थ्यमा कस्ता फाइदा गर्छ भन्ने जानकारी दिन पनि महोत्सव गर्न लागेको आयोजकले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले भने, ‘मेलुङको माथिल्लो भेगमा बर्षे र तामाकोशी करिडोर क्षेत्रमा हिउँदे आलु अब्बल दर्जाका उत्पादन हुन्छ । जसले करोडौंको आम्दानी गरिरहेका छन् । यसको प्रचारप्रसार र सुसूचित गराउन महोत्सवको ठूलो भुमिका रहन्छ ।’
मेलुङ गाउँपालिका कृषिमा निर्भर भएको गाउँपालिका हो । जसमा प्रमुख बाली नै आलु उत्पादन र आम्दानीको स्रोत पनि आलु नै हो, गाउँपालिका अध्यक्ष श्रेष्ठले भने, ‘यहाँका आलुलाई राजधानीमा पुग्दा मुडेको आलु भनेर परिचित हुने हुँदा अब ‘मेलुङ आलु’ नामक ब्राण्डिङ, ग्रेडिङ, प्याकेजिङ र लेवलिङ गरेर बिक्री वितरण गर्नेछ ।’
महोत्सवमा स्टल निशुल्क छ भने आकर्षकका रुपमा अकबरे खुर्सनी, काँक्रो, बोडी, सिमी, केरा लगायतका गाउँपालिकाभरी अर्गानिक उत्पादनका वस्तुहरु स्टलमा हुने गाउँपालिकाले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटक र अवलोकनकर्ताहरुले महोत्सवमा आलुका विभिन्न परिकारहरु चखाउने योजना रहेको आयोजकले जानकारी दिए ।
कृषिमा आधुनिकीकरण, यान्त्रिकरण, वातावरण संरक्षणदेखि यहाँका पर्यावरणलाई पनि संरक्षण गर्नकासाथै मेलुङलाई परिचित गराउने योजनासमेत रहेको गाउँपालिकाका प्रवक्ता हिराकुमार थोकरले जानकारी दिए ।
महोत्सवको लागि ५ लाख बजेट विनियोजन गरेको छ भने नपुगमा थप बिनियोजित गर्ने पालिकाले जनाएको छ ।
संघीय सांसद, प्रदेशमन्त्री, सांसद, जिल्लाका ९ वटा स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, रामेछापका दोरम्बा गाउँपालिकाका जनप्रतिनिधि लगायतको उपस्थितिमा महोत्सवको उद्घाटन गर्ने गाउँपालिकाले जानकारी दिए ।