सैलुङ जात्रा आज: स्वास्थ्य उपचारका लागि विशेष हेल्थ क्याम्प खडा, यसरी पुग्नुहोस

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
189 Shares
दोलखा

दोलखाको प्रसिद्ध सैलुङमा परम्परादेखि मनाउँदै आइरहेको जनै पुर्णिमा मेला अर्थात् सैलुङ जात्रा यस वर्ष भदौ १ गते अर्थात् भोली परम्परागत भव्यता र उल्लासका साथ मनाउने तयारी गरिएको छ ।

सैलुङ क्षेत्रको ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा रहेको यो जात्रा प्रत्येक वर्ष जनै पूर्णिमाको अवसरमा मनाइन्छ । जात्रामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं लगायतका जिल्लाबाट तिर्थालुहरु ठुलो सङ्ख्यामा सहभागिता हुने गर्दछ ।

सैलुङको मेलामा धामी झाँक्री गुफा बस्ने, मृतकको सम्झनामा बत्ती बाल्ने, पूजा अर्चना गर्ने गरिन्छ ।

जात्राको व्यवस्थापनमा शैलुङ र मेलुङ गाउँपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको छ । सुरक्षा व्यवस्थापनमा इलाका प्रहरी कार्यालय सैलुङ र भैँसेले विशेष सुरक्षा योजना बनाएको सैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जात्रामा स्वास्थ्यमा समस्या आएमा हेल्थ क्याम्प (स्वास्थ्य टिम) रहेको जानकारी दिए । ३१४५ मिटर उचाइमा रहेको डाँडामा बालबालिका, ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गरी स्वास्थ्यमा खराबी आएमा प्राथमिक उपचारका लागि स्वास्थ्य टिम खटाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने,‘त्यस डाँडामा पुग्दा लेक लाग्ने समस्या आउन सक्ने हुँदा सुरक्षित भई जानसमेत आह्वान गरिएको छ।’

सैलुङ जात्राले स्थानीय संस्कृतिको प्रवर्द्धन गर्नुका साथै समुदायबिचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाएको छ। यसले धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले दोलखा जिल्लाको महत्त्वलाई अझै उचाइमा पुर्‍याएको छ।

जनै पूर्णिमा पर्व, जसलाई रक्षा बन्धन, ऋषि तर्पणी र साउने पूर्णिमा भनेर पनि चिनिन्छ, हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हो। यो पर्व देशका विभिन्न भागमा विभिन्न सांस्कृतिक र धार्मिक कार्यक्रमहरूसहित मनाइन्छ।

जनै पूर्णिमा मेला देशभरका विभिन्न भागमा मेला लाग्ने गर्दछन् । रसुवाको गोसाईंकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी लगायतका स्थानहरूका विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेको छ । यो पर्वले धार्मिक, सांस्कृतिक, र सामाजिक एकताको भावना जागृत गराउँदै नेपाली समाजको विविधता र परम्परालाई थप मजबुत बनाएको छ ।

यसरी पुग्न सकिन्छ ?

शैलुङ क्षेत्र पुग्न काठमाडौँबाट मुडेसम्म पुगेपछि चरिकोटतर्फका लागि दायाँबाट बाघखोरतर्फ जानुपर्छ । लामोसाँघु जिरी सडक खण्डअन्तर्गत तामाकोसी बजार हुँदै चर्णावतिधाम पुगेर फस्कु हुँदै पनि शैलुङ डाँडामा पुग्न सकिन्छ । रामेछापको दोरम्बाबाट शैलुङ पुग्ने अर्को बाटो छ ।

सबैभन्दा सजिलो र सहज यात्रा भने काठमाडौँबाट दोलखा जाने बाटोमा पर्ने मुडेबाट चरिकोट जाने सडक छोडेर दायाँको सडक भएर जान सकिन्छ । करिब एक सय ३० किलोमिटर सडक पार गरेपछि शैलङको सय थुम्का पुग्न सकिन्छ । यहाँ बास बस्नका लागि पर्यटक लक्षित होटेल प्रशस्त खुलेका छन् ।

तपाईको प्रतिक्रिया