तामाङ पहिचान दिवसको अवसरमा प्रत्येक वर्ष मनाउँदै आएको तामाङ ज्ञान महोत्सव यस वर्ष पनि आयोजना गर्ने भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयले भाद्र ६ गते नवौँ तामाङ ज्ञान महोत्सव आयोजना गर्ने तयारी भएको हो।
तामाङ समुदायले आफ्नो संस्कृतिको जगेर्ना, ज्ञानको आदानप्रदान, र नयाँ पुस्तालाई परम्परागत ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले ‘तामाङ ज्ञान महोत्सव’ आयोजना गर्दै आएको न्हाङखोरका महासचिव निष्णु थिङले जानकारी दिए ।
इतिहास, भाषा, संस्कृति र साहित्य लगायत विविध विषयमा बृहत् मन्थन हुने आयोजकले जनाएको छ ।
महोत्सवले तामाङ युवाहरूलाई आफ्नो पहिचानमा गर्व गर्न र आफ्ना पुराना ज्ञानहरूलाई आधुनिक युगसँग मेल गराउन प्रेरित गर्नेछ ।
यो महोत्सवले तामाङ समुदायको लागि मात्र नभई समग्र समाजको लागि पनि ज्ञानको खानीको रूपमा काम गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।