जनआकाश साप्ताहिकले १७ औँ वार्षिकोत्सव बिहीबार मनाएको छ।
प्रज्ञा भवन कमलादीमा जन आकाश मिडियाद्वारा प्रकाशित साप्ताहिकले एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएका हुन् ।
साप्ताहिकको वार्षिकोत्सवमा त्यसै पत्रिकाका प्रधान सम्पादक मोहन कार्कीले लेखेको ‘कृपज’ नामक पुस्तकको लोकार्पण, स्रष्टाहरूलाई सम्मान तथा सङ्गीत खबर कार्यक्रमको प्रोमोसमेत उद्घाटन गरिएको थियो ।
वार्षिकोत्सवलाई सम्बोधन गर्दै सङ्घीय उपसभामुख इन्दिरा रानाले म आफै पनि सामाजिक क्षेत्रबाट काम गरेर आएको व्यक्ति बताउँदै हालसम्म पनि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताइन् । उनले भनिन्,‘ उनीहरूलाई त्यस्तै वातावरण बनाएर हुर्काइरहेका छौँ । अहिले स्कुल चलाई राखेका छौ ।’ ‘म पनि सानो हुँदा दुःख नै गरेर आएको हुनाले यस्ता सघर्षहरुलाई बुझेको छु,’ उपसभामुखले रानाले भनिन् ।’
कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका कुमार कार्कीले बिचौलियाहरूको अन्त नभईकन देशको विकास गर्न नसकिने बताए । त्यसैगरी पर्यटन विज्ञ खुमबहादुर सुवेदीले शुभकामना दिँदै पर्यटन क्षेत्रको बृहत् विकासको आवश्यकता औँल्याएका थिए ।
यसै गरी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम बिडारीले स्वदेशी र आत्मनिर्भर मुखी पत्रपत्रिकालाई जोगाउन सरकारले उपर्युक्त भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले नेपालको विज्ञापन बोर्डको औचित्य नभएको भन्दै विज्ञापन बोर्डले पछिल्लो समय गरेको गलत निर्णयप्रति आक्रोश पोखेका थिए ।
सोही अवसर पारेर जनआकाश साप्ताहिकमा लेख, रचना पठाउने र सङ्गीत खबर कार्यक्रममा आवाज दिने प्रतिभा तथा नव प्रतिभाहरूलाई कदर पत्रले सम्मानित गरिएको थियो ।
सोही अवसर पारेर सामाजिक र आर्थिक दुवै क्षेत्रबाट उत्तरदा बहन गरेको भनी सिप्रदी ट्रेडिङ प्रालिलाई प्रशंसा पत्रले सम्मानित गरेको छ भने ज्योति विकास बैङ्कलाई बालबालिका र स्वास्थ्यको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गरेको भनी प्रशंसा पत्रले सम्मानित गरेको छ ।
कार्यक्रममा वरिष्ठ साहित्यकार डा।शैलेन्दु प्रकाश नेपाल, वरिष्ठ पत्रकार राजन कार्की, बाल साहित्यकार ललिता दोषी, सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी, उपाध्यक्ष सुशीला ढकाल अधिकारी, जयराम बिडारी लगायतलाई कदरपत्रद्धारा सम्मानित गरिएको थियो ।
सोही अवसरमा साहित्यकार दुर्गा अधिकारी ‘भमरकोटे’कवि द्वारिका कुइँकेल, एली खड्का,सानू शर्मा, लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा ‘कृपज’ पुस्तकमाथि टिप्पणी गर्दै दामोदर ढकाल दीपकले विद्रोह सङ्घर्ष र लगनशीलताका परिचायकका रूपमा पहिचान स्थापित गरेका मोहन कार्की राष्ट्र निर्माणका संवाहकका रूपमा स्थापित भएको बताए । उनले यो देशका योजनाविद् तथा राजनैतिक नेतृत्वले कार्कीद्वारा लेखिएको ‘कृपज’ कृषि पर्यटन र जलविद्युतका क्षेत्रमा इमानदारीका साथ लागू गर्ने हो भने देश विकासका लागि लामो समय कुर्नु नपर्ने बताए ।