सम्पादक ढुङ्गेलको दोस्रो पुस्तक सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्धसंग्रह ‘समयको नक्साबाहिर’को विमोचन भएको छ । कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमका बिच सो कृतिको लोकार्पण गरिएको हो ।

लेखक ढुङ्गेलसहित मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल, राजनीतिकर्मी एवं लेखक गणेश कार्की, कथाकार अनिता पन्थी तथा प्रकाशन पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रमको सञ्चालन राजु झल्लु प्रसादले गरेका थिए । उनले कृतिलाई केन्द्रमा राखी सिर्जनात्मक प्रश्नहरू वक्ताहरूलाई सोधेका थिए ।

झल्लुका प्रश्नहरूको उत्तर दिने क्रममा प्रमुख अतिथि डा. लम्सालले संस्मरणलाई लघुउपन्यासै भने पनि हुने बताए । उनले भने, “ढुङ्गेलको पुस्तकमा मैले आफ्नै ढुकढुकी पाएँ । यसमा हरेक युवाले भोगेको गाउँको कुरा छ, समाजको कुरा छ । पुस्तकमा कथाको स्वाद पाइन्छ र यसलाई लघुउपन्यास भन्न सकिन्छ ।”

उनले अगाडि थपे, ‘‘समयको नक्साबाहिर’ले युवाहरूको त्यो बेलाको समय बोलिरहेको छ जसमा साइकलको युग छ, नोकियाको युग छ । भाइरल भए होस्, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ पछिको युवापुस्ताको गजबको संस्मरणात्मक पुस्तक यो हो ।’’

त्यस्तै, पछिल्लो पुस्ताका सशक्त लेखक तथा समीक्षक अनिता पन्थीले मानवीय संवेदनालाई छोएर लेखिएको यस पुस्तकमा बालमनोविज्ञान पाइने बताइन् । उनले भनिन्, ‘‘ढुङ्गेलले बाल्यकालमा अनुभूतिमात्र गर्नुभएका बालमनोविज्ञानका कुराहरूलाई अर्थ लगाएर अहिले लेख्नुभएको छ । समय, परिवेश र परिस्थिति नै यस पुस्तकको विशेषता हो । यसले दिदी, आमा, फुपूदिदीहरूको नारीसंवेदनालाई पनि पक्रिन सकेको छ ।”

युवा पुस्ताका राजनीतिकर्मी तथा लेकक गणेश कार्कीको धारणा भने अलिकति फरक थियो । उनले विज्ञान, खेल र सिकाइलाई यो पुस्तक मीठोसँग प्रस्तुत गरिएको प्रशङ्ग कोट्याए । भने, “लेखकले गुच्चा तथा फुटबलका माध्यमबाट पृथ्वी गोलो भएकोमा आफू विश्वस्त भएको बताउँछन् । उनले कमिला फुटबलमा सजिलै हिंडेकोबाट त्यसरी नै पृथ्वीमा मानिस हिंडेको कल्पना गर्छन् । पहिलेको पुस्ताका बालबालिका धर्तीसँग रमाएको कुरा यस संग्रहमा पाइन्छ । पुस्तकमा पर्यावरणीय चेत पनि प्रशस्तै छ ।”

लेखक ढुङ्गेलले झुटो लेख्न नजानेको परिणाममा यो पुस्तक आएको बताए । कार्यक्रमका सञ्चालक राजु झल्लु प्रसादका प्रश्नको जवाफ दिँदै उनले भने, “मसँग अर्को कुनै लेख्न विषय थिएन र आफैंलाई लेखें । आफैंलाई झल्न नसकिंदो रहेछ, र जे थियो त्यही लेखें । बाल्यकाल र सम्बन्धहरू छ्यालब्याल बनाएर लेखें ।”

कार्यक्रमको सभापतित्व भुवनहरि सिग्देलले सबैलाई धन्यवाद दिंदै भने, ‘कृष्णजीको पुस्तक धेरै नै फरक भएकाले पेजटर्नरले प्रकाशन गरेको हो ।”

तपाईको प्रतिक्रिया