महोत्तरी सडक मानव र आश्रयविहीनको व्यवस्थापनका लागि निर्माण थालिएको ‘हाम्रो मायाघर’को सहयोगार्थ बर्दिबासमा आयोजित शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।
महायज्ञ सम्पन्न भएको चार दिनभित्रै शनिबार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै शिवपुराण महायज्ञ आयोजक समितिले आयव्यय सार्वजनिक गरेको हो । गत साउन २१ देखि २९ गतेसम्म सञ्चालित महायज्ञमा दाताहरुबाट दुई करोड पाँच लाख नौ हजार तीन सय ३२ रुपैयाँ बराबरको नगद र जिन्सी प्राप्त भएको समितिले जनाएको छ ।
जिन्सीमा सिमेन्ट, इँटा र अन्य निर्माण सामग्री छन् । महायज्ञ सम्पन्न भइसकेयता पनि समितिलाई विभिन्न दाताले पछिल्ला चार दिनबीच चार लाख ६९ हजार एक सय ४६ रुपैयाँ नगद प्राप्त भएको महायज्ञ आयोजक समितिको आर्थिक उपसमितिका संयोजक शम्भुप्रसाद भट्टराईले जानकारी दिए ।
यसैगरी, महायज्ञमा ३० लाख ५० हजार चार सय ८२ रुपैयाँ खर्च भएको विवरण समितिले सार्वजनिक गरेको छ । यसमा मण्डप निर्माण, पन्डाल व्यवस्थापन, स्टेशनरी, विद्युत्, अतिथि आवास तथा भोजन, प्रचारप्रसार, सञ्चार, यातायात, पूजा सामग्री र भेटीसहितका खर्च शीर्षक छन् ।
बर्दिबास–२ मा निर्माण थालिएको हाम्रो मायाघरको गत बुधबार मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले शिलान्यास गरेको थियो । सार्वजनिक गरिएको आयव्ययबाहेक प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले हाम्रो मायाघर निर्माणमा आवश्यक पर्ने ७१ हजार इँटा उपलब्ध गराउने प्रतिबद्धता जनाएको महायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले बताए ।
यसैगरी, आयव्यय सार्वजनिकीकरण कार्यक्रममा उपस्थित रहेएका दन्त चिकित्सक डा सुवास घिमिरेले हाम्रो मायाघर निर्माणमा एक करोड रुपैयाँ बराबरको सहयोगको समन्वय गर्ने प्रतिबद्धता जनाए । बर्दिबास–२ मा दाताहरुबाट प्राप्त पाँच कट्ठा १० धुर जग्गामा हाम्रो मायाघर निर्माण थालिएको छ । यसको निर्माणमा १० करोड ६९ लाख ४५ हजार रुपैयाँ खर्च हुने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ ।
अपाङ्गता तथा बालबालिकामैत्री बन्ने हाम्रो मायाघरका दुई भवन भूकम्प प्रतिरोधी र खानेपानी, बिजुली, शौचालयसहितका आधुनिक सुविधायुक्त हुनेछन् । दुईवटा भवनमा १२ कोठा हुने हाम्रो मायाघर समितिका अध्यक्ष कृष्णप्रसाद गौतमको भनाइ छ । त्यसमा भोजनालय, अध्ययन, आवास, कार्यालय र बैठककक्षसहित छन् । भवन पाँच वर्षभित्रै सञ्चालनमा आइसक्ने अध्यक्ष गौतमको भनाइ छ । निर्माण थालिएको हाम्रो मायाघरमा दुई सय आश्रयविहीनलाई राख्न सकिने गौतमले स्पष्ट पारे ।