गुरुङ सम्पदा पदमार्गको उद्घाटन सञ्चारमन्त्री गुरुङले गरे

काठमाडौं

सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्गहरु छोटिंदै र खुम्चिदै गइरहेको बेला गुरुङ सम्पदा पदमार्गले नयाँ आशा जगाएको छ । उक्त पदमार्गको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन् ।

विशेष गरेर विश्वकै उत्कृष्ट मध्यको अन्नपूर्ण चक्रीय पदमार्गलाई पुनः व्यूंताउन सकिने संभावनालाई यस पदमार्गले उजागर गरेको हो। कास्कीको मादी गाउँपालिकाभित्र पर्ने तोंनीनासा (ताङतिङ) बाट सुरु भएर दश दिनमा मनाङको चामे गाउँपालिकास्थित तिमाङमा पुगेर पुरा हुने यस गुरुङ सम्पदा पदमार्गको २०८१ जेठ २१ देखि ३० गते सम्म गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) गण्डकीको आयोजना र जिटिन केन्द्रको सहभागितामा खोज तथा अनुसन्धान कार्य सम्पन्न गरेको थियो ।

पदमार्गको खोज तथा अनुसन्धान कार्य सम्पन्न भएपछि जिटिन गण्डकीको आयोजनामा गुरुङ सम्पदा पदमार्गको पहिलो पटक पोखरामा सार्वजनिकीकरण गरिएको थियो । आज ९शुक्रबार० काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिटिन केन्द्रको तर्फबाट गुरुङ सम्पदा पदमार्गको शुभारम्भ कार्यक्रम गरेको थियो ।

पदमार्ग योजनामा काम गरिरहेका इञ्जिनियरहरु, अन्वेषकहरु, जीपीएस एक्सपर्ट, सञ्चारविज्ञ, जिटिनका पदाधिकारीहरु, पर्यटक पदप्रदर्शक तथा सहयोगीहरुसहित ३३ जनाको समुहले गरेको यस खोज तथा अनुसन्धान कार्यले यस पदमार्ग सफल हुने सम्भावना उच्च रहेको निष्कर्ष निकालेको छ । साथै पदमार्गमा गर्नुपर्ने सुधार तथा निर्माण कार्यहरुको विस्तृत परियोजना प्रतिवेदन पनि तयार पारेको छ ।

प्रकृति, संस्कृति र इतिहासको संगमको रुपमा रहेको यस पदमार्गले पदयात्रामा जाने जो कोहीलाई पनि मोहित बनाउन सक्ने देखिएको छ । त्यसैले यसको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई असर नपर्ने गरी, प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानी नुपुग्ने गरी पर्यटकीय पदमार्गको विकास र प्रवद्र्धन गर्नुपर्ने हाम्रो जोड रहेको छ ।

यस पदमार्गका केही विशेषताहरु यस पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमू (गुरुङ) का पूर्खहरु अहिलेको बस्तीहरुमा फैलिएको भन्ने भनाई रहेको छ । यस भनाई गुरुङको पेले मात्र होइन, क्होलासोंथरमा विभिन्न चरणमा देशी तथा विदेशी विशेषज्ञहरुले गरेको पुरातात्विक अध्ययनहरुले पनि प्रमाणित गरिसकेको छ । क्होलाको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रको रुपका विकास गर्न सकेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गर्न सकिने छ ।

त्यसै गरी दोस्रो ऐतिहासिक विरासतको रुपमा कास्की र लमजुङका गुरुङ गाउँहरुमा अझै पनि मनाङ भोटको नुन बोक्दाका कथा व्यथाहरु सुन्न पाइन्छ । अहिले खोज तथा अनुसन्धान कार्य गरिएको गुरुङ सम्पदा पदमार्ग नै उक्त नुनको व्यापारिक बाटो रहेको कुरा पनि उजागर भएको छ । अझै पनि पदमार्गमा भेटिने लामा लामा विसौनी चौतारीहरु त्यही नुनको व्यापारिक मार्गको साक्षी बनिरहेका छन् ।

तपाईको प्रतिक्रिया