२९ औँ तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा तेस्रो तामाङ फिल्म एसोसिएसन (TFA) अवार्ड २०२४ हुने भएको छ । शनिवार सेकुवा जक्सनमा पत्रकार सम्मेलन गरी आगामी भदौ १५ गते चलचित्र विकास बोर्डमा आयोजना गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपालको पर्यटन विकासको प्रवर्द्धन गर्दै भाषा, कला, संस्कृतिलाई संवर्द्धन गरी परम्परागत ज्ञान कलाको संरक्षण गर्न यो दिवस र अवार्डले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
तामाङ चलचित्र सङ्घका अध्यक्ष दीपक तामाङ लामाले भने, ‘तामाङ चलचित्र दिवस तामाङ समुदायको कला, संस्कृति, र पहिचानलाई सम्मान गर्ने अवसर हो, र यो समारोहले हाम्रो समुदायलाई थप प्रोत्साहन दिएको छ।’
तामाङ चलचित्र दिवस र तामाङ फिल्म एसोसिएसन (TFA) अवार्ड २०२४ मा तामाङ समुदायको कला संस्कृति र सिनेमाजगतमा योगदान पुर्याउनेलाई सम्मान गर्ने अध्यक्ष लामाले बताए ।
TFA अवार्डमा यस वर्षका उत्कृष्ट तामाङ फिल्महरू र तामाङ समुदायका कलाकारहरूको मेहनतको कदर गर्दै विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ ।
यस अवार्डले तामाङ सिनेमाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।