पाख्रिनका गीतसङ्गीतले आमश्रमिकलाई उद्वेलित र सङ्गठित हुन प्रेरित गर्थ्यो : अध्यक्ष दाहाल

पाख्रिनका गीतसङ्गीतले आमश्रमिकलाई उद्वेलित र सङ्गठित हुन प्रेरित गर्थ्यो : अध्यक्ष दाहाल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसङ्गीतज्ञ खुसीराम पाख्रिनका गीतसङ्गीतले आम नेपाली श्रमिकलाई उद्वेलित र सङ्गठित हुन प्रेरित गर्दै आएको स्मरण गरिएको छ ।

जेबी टुहुरे फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान–२०८१’ प्रदान गर्नुहुँदै उनले पाख्रिनले राजनीतिक परिवर्तनमा गीतसङ्गीतका क्षेत्रबाट खेल्नुभएको भूमिका महत्त्वपूर्ण रहेको बताए । “हामीले दर्शन, सिद्धान्त र राजनीतिकका कुरा गरेर धेरै जनतालाई सङ्गठित गर्थ्यो भन्ने लाग्दैन, जति खुसीरामले देशभर र प्रवासमा गाएका गीतले नेपाली श्रमिकलाई उद्वेलित बनाउँथ्यो र सङ्गठित गर्न प्रेरित गर्थ्यो”, अध्यक्ष दाहालले भने । पाख्रिनले आफैँ गीत रचना गर्ने, सङ्गीत भर्ने र गाउने गरेको स्मरण गर्नुहुँदै उनले खुसीराम आफ्नो गाउँले साथीका रूपमा असाध्यै मिलनसार योद्धाका रूपमा रहेको बताए ।

अध्यक्ष दाहालले जनगायक जेबी टुहेरेले गीतसङ्गीतका माध्यमबाट देशभर जनतामा जागरण पैदा गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको स्मरण गरे । “पञ्चायतकालमा टुहुरेका गीत जनतामा जाने मुख्य सामग्री हुन्थे । वैचारिक राजनीतिक रूपमा भन्दा पनि श्रमजीवीका गीत गाएपछि जनतालाई आकर्षित गर्न सकिन्थ्यो”, उनले भने ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ जनसङ्गीतिज्ञ खुसीराम पाख्रिनलाई मरणोप्रान्त ‘जनगायक जेबी टुहुरे सम्मान– २०८१’ प्रदान गरिएको छ ।

अध्यक्ष दाहालले दिवङ्गत पाख्रिनकी पत्नी सुकमायालाई उक्त सम्मान प्रदान गरेका हुन् । सो सम्मानको राशि रु एक लाख रहेको छ ।

पाख्रिनले नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा आजीवन प्रगतिशील गीत, सङ्गीत गायन तथा नृत्य एवं गीतिनाटकमार्फत नेपाली समाजका शोषित–पीडित वर्गमा चेतना जागृत गराउन पुर्‍याउनुभएको योगदानस्वरूप सम्मान गरिएको फाउन्डेशनका निर्भिक टुहुरेले जानकारी दिए ।

गोरखाको अजिरकोट गाउँपालिकामा विस २००९ कात्तिक ११ गते जन्मनुभएका पाख्रिनले चितवनको नारायणी कला मन्दिरबाट प्रारम्भिक कलायात्रा सुरु गरिएको थियो । विसं २०३५÷०३६ देखि जनवादी गीत रचना गर्ने, सङ्गीत भर्ने, गाउने, नृत्य सिकाउने र गीतिनाटकसमेत रचनामा समर्पित उहाँका ‘कालो वनको बीचैमा’, ‘गैती बेल्चा उचालेर’, ‘युवाहरु हो’ जस्ता गीत अत्यन्तै लोकप्रिय छन् ।

चार वटा गीति पुस्तिकासमेत प्रकाशन गर्नुभएका पाख्रिनले प्रतिरोध सांस्कृतिक परिवार र सामना सांस्कृतिक परिवारको नेतृत्वसमेत गरिएको थियो । विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्यका रूपमा उनले निर्वाह गरिएको भूमिका महत्वपूर्ण छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरु बरालले जनगायकद्वय पाख्रिनले टुहुरे एकै सिक्काका दुई पाटाका रूपमा जीवनभर जनताको पक्षमा गीतसङ्गीत गायन र सिर्जना गर्दै आउनुभएको स्मरण गरे । माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीले जीवनभर जनताका गीत गाएर पाख्रिनले नेपालको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण योगदान दिनुभएको बताए ।

त्यस अवसरमा जेबी टुहुरे फाउन्डेसनको वेबसाइट सार्वजनिक गरिएको थियो । कार्यक्रममा कलाकारहरूले जनगायक पाख्रिनले सिर्जना गरिएका गीतसङ्गीत प्रस्तुत गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया