तामाङ समाज क्रोएसियाले मेरुदण्ड क्यान्सरबाट ग्रसित याङरी माया स्याङ्तानलाई १ लाख ६ हजार ६५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त आर्थिक सहयोग बिरामी तामाङलाई बागमती प्रदेशकी सांसद कुमारी तामाङको हातबाट हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोग भक्तपुरस्थित बिरामीकै डेरमा पुगेर हस्तान्तरण गरेको हो ।
प्रदेश सांसद तामाङले मेरुदण्ड बिरामीको स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम हस्तान्तरण गर्न पाउँदा गौरवान्वि महसुस गरेको बताइन् । उनले सहयोग जुटाउन अग्रगामी भुमिका खेलेका क्रोएसियामा रहेका संयोजक बुद्ध लामा, तामाङ समाज क्रोसिया लगायत अन्य सहयोगीहरुलाई धन्यवाद दिइन् ।
त्यस्तै आर्थिक सहयोग हस्तान्तरणका क्रममा प्रवल थिङले मेरुदण्ड क्यान्सर बिरामी स्याङ्तानको उपचारका लागी अन्य संघसंस्था, व्यक्ति र व्यवसायहरुलाई आर्थिक सहयोग गर्न अनुरोध गरे । थिङका अनुसार बिरामीको आर्थिकस्थित कमजोरी रहेका कारण सहयोगको अपिल गरेका हुन् ।
बिरामी याङरी स्याङ्तानले सहयोगीहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा समेत यस्तै मानवीय सेवा लागिरहन सुझाए । ` म नि ठिक भएपछि यसरीनै मानवीय सेवामा लाग्छु,´ बिरामी स्याङ्तानले भनिन् ,`मानवीय चोला लिएर आएपछि कुन बेला के हुने हो, थाहै हुन्न, त्यसैले सकेसम्म एकले अर्कोको सहयोग गरौं ।´
त्यस्तै क्रोएसियाका आर्थिक संकलन समितिका संयोजक बुद्ध लामाले क्यान्सर बिरामी स्याङ्तानलाई सहयोग गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए । आर्थिक संयोजक लामाका अनुसार बिरामी स्याङ्तानलाई पुनर्जीवन दिलाउनका निम्ति अन्य संघसंस्था र व्यक्तिसँग पनि आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।
तामाङ समाज क्रोएसियाका सचिव बुद्ध लामाको संयोजकत्वमा सञ्चालित अभियानलाई तामाङ समाजकै उपाध्यक्ष प्रकाश चन्द्र तामाङ, कोषाध्यक्ष दीपा तामाङ गोले र अन्य सदस्यहरूले समन्वय गरेको थियो । लामाको संयोजकत्वमा १ लाख १ हजार ६५ र नेपालमा रहेका प्रबल थिङले ५ हजार गरि १ लाख ६ हजार ६५ रुपैयाँ आर्थिक सहयोग जम्मा भएका हुन् ।
सिन्धुली घ्याङलेखकी याङरी स्याङ्तान लामो समयदेखि मेरुदण्ड क्यान्सरबाट ग्रसित छिन् । हाल भक्तपुर क्यान्सर अस्पतालमा बिरामी स्याङ्तान उपचाररत छिन् ।