रसुवा जिल्लाको उतरगया गाउँपालिका वडा नम्बर २ डाडागांउका ७ जना महिलाले नास्पातीको जाम बनाएर बिक्री वितरण गरेका छन् । उनीहरूले व्यक्तिगत रूपमा २० हजारको सामूहिक लगानीमा जाम बनाएर आयआर्जनमा अग्रसर भएका हुन् ।
डाँडा गाउँ सामुदायिक सिकाई केन्द्रमार्फत २० जनाले ३ दिने तालिम लिएका थिए । तालिम लिनेमध्ये ७ जनाले तालिमको सदुपयोग गरेर आयआर्जनमा अघि बढेका हुन् । नास्पातीको जाम १ सय २५ वटा सिसि ५ सय एमएलको आधा केजीको २ सय ५० मूल्य राखेर स्थानीय बजारमा बिक्री सुरु गरेको श्रीमाया गुरुङले बताइन् ।
उतरगया गाउँपालिकाको उपप्रमुख चमेली गुरुङका अनुसार पालिकाले १ लाख २० हजार आर्थिक सहयोग गरी नास्पातीको जाम र कम्प्युटर बेसिकका तालिम सिकाइएका थिए ।
उनले भनिन्,‘महिला दिदीबहिनीहरूले नास्पाती को जामलाई प्राथमिकता दिएर ८० हजारमा तालिम प्राप्त गरेको थियो । तालिम लिएर ७ जनाले आफू आफू नै पैसा २० हजार जम्मा गरी सीपलाई सदुपयोग गरेको छ ।’
यसरी गाउँघरका महिला दिदीबहिनीहरू आत्मनिर्भर भई आयआर्जनमा लागेकोमा खुसी भएको पालिका प्रमुख माघव अर्यालले बताए ।
रसुवाको यस सानो गाउँले नास्पातीको जाम उत्पादन गरेर आत्मनिर्भरता र समृद्धिको नयाँ यात्रा आरम्भ गरेको छ। यो प्रयासले गाउँको आर्थिक स्थितिमा मात्र होइन, सामाजिक स्तरमा पनि सकारात्मक परिवर्तन ल्याएको छ।
उनीहरूको यो जुझारुपन र निष्ठाको कहानीले नेपालका अन्य ग्रामीण क्षेत्रहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।