हेर्ने कथाको पछिल्लो भाग ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङले नागरिकता पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथा हेरेपछि सचिवालयमार्फत नागरिकता प्रदान गर्न पहल गरिरहेको बताएका छन् ।
प्रधानमन्त्रीले भनेका छन्, ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईँलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यस बेला कुरा हुन सकेन । पछि सचिवालयको विद्या चापागाईँ र प्रकाश तामाङसँग सम्पर्क भयो । प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैङ्क खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ ।’
प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’