प्राकृतिक उपचार केन्द्रको रूपमा ख्याति प्राप्त म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ ।
प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यवस्थित कुण्डसहित कार्यालय भवन, पहुँच मार्ग, पदमार्ग, बाहिरी कुण्डलगायतका पूर्वाधार निर्माण भइसकेका छन् । यहाँ उपचारका लागि भनेर आउने व्यक्तिको शुल्क, सहयोग तथा सरकारी बजेटबाट कुण्डलाई व्यवस्थित गरिएको र बिरामीको सहजताका लागि प्रविधिमैत्री संरचना निर्माणको पहल थालिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।
उनकानुसार गत आवमा पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराको रु १५ लाख बजेट र समितिको रु तीन लाख लागत साझेदारीमा मुख्य कुण्डको प्रवेशद्वार निर्माण गरिएको छ । भक्तपुरे इट्टाको प्रयोग गरेर निर्माण भएको प्रवेशद्वारले तातोपानी कुण्ड परिसरलाई आकर्षक र कलात्मक बनाइएको छ । गत वर्ष कुण्डमा स्नान गर्न आउनेका लागि कपडा फेर्ने भवन, मुख्य कुण्डको छानो पुनः निर्माण, कुण्ड परिसरमा पदमार्ग, तातोपानीको चिनारी स्तम्भलगायतका पूर्वाधार निर्माण गरिएका छन् ।
कुण्ड परिसरमा थरिथरिका फूलका बिरुवा रोपेर सौन्दर्यकरण गरिएको छ । एक वर्षको अवधिमा पूर्वाधार निर्माण र सुविधा विस्तारमा आन्तरिक आम्दानीबाटै करिब रु ३० लाख लगानी गरेको कुण्ड व्यवस्थापन समितिले बाहिरी कुण्डमा जाने प्रवेशद्वार र टिकट काउन्टर समेत कलात्मक शैलीमा निर्माण गरिरहेको छ भने नुहाउने पानीको लागि ३० वटा धारामा एकसाथ तातोपानी पुग्ने पूर्वाधार बनाइरहेको छ । पूर्वाधारलाई अपाङ्गतामैत्री र प्रविधिमैत्री बनाउनुका साथै कुण्डमा जानका लागि लिफ्ट जडान गर्ने र विद्युतीय ह्वील चियरको प्रबन्ध गर्ने तयारी भइरहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो । “लिफ्ट प्रविधि जडानका लागि विज्ञ प्राविधिकको टोलीद्वारा स्थलगत अध्ययन गराइसकेका छौँ, अब टोलीको प्रतिवेदन र सुझावका आधारमा पूर्वाधार बनाउन आवश्यक पहल थालिने छ”, उनले भने “कुण्डलाई जलचिकित्सासँग जोडेर फिजियो र मसाज थेरापीको सेवा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार र आवश्यक मेसिन उपकरणको बन्दोबस्त गरिएको छ ।”
यहाँ सङ्घीय सरकारको रु ५० लाख र कुण्ड व्यवस्थापन समितिको रु तीन करोडभन्दा बढी लगानीमा जलचिकित्सा सेवाका लागि भवन निर्माण गरिएको र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बराबरको मेसिन उपकरण प्राप्त भइसकेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डलाई प्राकृतिक चिकित्सालयका साथै धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न गत साउनदेखि हरेक साताको सोमबार सन्ध्याकालीन आरतीसमेत सुरु गरिएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो । म्याग्दी नदीको किनारमा रहेको र कुण्ड परिसरमा शिवालय मन्दिर रहेकाले सन्ध्याकालीन आरती सुरु गरिएको र यसले धार्मिक र आध्यात्मिक पर्यटनको विकास गराउन सहयोग पुग्ने उनको भनाइ छ ।
तातोपानीको मुख्य कुण्डमा एक सातासम्म बसेर प्राकृतिक उपचार गर्नका लागि वार्षिक करिब २० हजार मानिस आउने गरेका छन् । त्यसका लागि रु तीन सय शुल्क लिने गरिएको छ । आन्तरिक पर्यटकका लागि बाहिरी भागमा दुई वटा नयाँ कुण्ड निर्माण गरिएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा उपचारका लागि मात्रै १९ हजार चार सय तीन जनाले स्नान गरेको कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशमबहादुर कार्कीले जानकारी दिनुभयो । गत आवमा स्नानका लागि आएका बिरामीको शुल्कबाट रु ६७ लाख ९१ हजार ५०, चन्दा सङ्कलनबाट रु ४५ लाख १० हजार, मन्दिरबाट रु छ लाख नौ हजार आठ सय ३२ र आजीवन सदस्यताबाट रु पाँच लाख १० हजार नौ सय ११ सङ्कलन भएको उहाँले बताउनुभयो । “कुण्डमा आउने बिरामीले तिर्ने शुल्कबाट प्राप्त हुने रकमबाट सरकारलाई १३ प्रतिशत भ्याट कर तिर्ने र २५ प्रतिशत रकम बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । अन्य रकम कुण्ड व्यवस्थापनमा परिचालन भएका कर्मचारीको तलब, स्थानीय सरस्वती माविका शिक्षकको तलबमा सहयोगका साथै कुण्डको पूर्वाधार निर्माणमा परिचालन हुने गरेको छ”, कार्कीले भने।
गन्धक र बिरेनुनको गन्ध आउने प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरिन्छ । कुण्डमा डुबेर बाहिर निस्किएर कम्बल वा बाक्लो कपडा ओढेर पसिना बगाएपछि नजिकै बनाइएका तातोपानीका धारामा नुहाउने गरिन्छ । यहाँ नियमित नुहाउनाले ग्यास्ट्रिक, नसा, बाथ रोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायतका रोग निको हुने विश्वास छ ।