एकैपटक ४६ जना आरोहीहरुलाई खिजीदेम्बा गाउँपालिकाको सम्मान

काठमाडाैं

गाउँपालिकाको पर्यटन विकास, प्रचारप्रसार, सम्बद्र्धन र प्रबद्र्धनका साथै पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आरोहीहरुलाई खिजीदेम्बा गाउँपालिकाले सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने विभिन्न ४६ जना आरोहीहरुलाई  संस्कृति ,पर्यटन तथा उड्डयन  मन्त्री बद्री प्रसाद पाण्डेको सम्मान गरेका हुन् ।

पर्यटनमन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा ‘स्वालम्बी कीर्तिमानी र कर्मशिलहरुलाई खिजीदेम्बाको साथ सहासिक पदयात्रामार्फत पर्यटन प्रबद्र्धनमा मिलाऔँ हातमा हात’ नाराको उच्चारण गर्दै गाउँपालिका अध्यक्ष गम्ब शेर्पाको सभाध्यक्षतामा काठमाडौंको ज्योति पाटी प्यालेसमा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बाका आरोहीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा ओखलढुंगा जिल्लाबाट प्रथम पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा ९ खुन्दुर्के निवासी दोजी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा ९ मैदानेका आरोही जाङबु शेर्पा, सबै भन्दा कान्छा उमेरमा सगरमाथा आरोहण गर्ने आरोही जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्धय खिजीदेम्बा ५ मेले लाक्पा शेर्पा र खिजीदेम्बा २ नस्पु निवासी गेल्जे शेर्पा ओखलढुंगा जिल्लाकै पहिलो महिला कीर्तिमानी आरोही खिजीदेम्बा ९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजीदेम्बाका प्रथम आरोही खिजीदेम्बा ९ का भीग्खकंका शुभराज तामाङ लगायतलाई गाउँपालिकाको तर्फबाट सम्मान गरेको हो ।

कृषि, जलस्रोत र पर्यटनबाट खिजीदेम्बावासीको आर्थिक अवस्था उठने निष्कर्षका साथ गाउँपालिकाले बजेट निर्माण गरी कार्यान्वयन गरी रहेको र सरकारले पहिचान गरेको १०० गन्तव्य मध्ये खिजीदेम्बाका दुई वटा पर्यटकीय स्थलहरु समेत सूचिकृत भएको सन्दर्भमा गाउँपालिकाको पर्यटनको दिगो विकास र उन्नतीका लागि सबै तहको सरकार समेत ध्यानाकर्षण गराउन सधीय राजधानीमा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला तामाङले स्वागत तथा बधाई मन्तव्य व्यक्त गरेकी थिइन् । धेरै अगाडि देखि नेपालमा हिमाल आरोहणमा खिजिदेम्बा गाउँपालिकाबाट धेरै शेर्पाह जाने गरेको तर अहिलेसम्म कसैलाई पनि सम्मान नदिएकोले पालिकाले यो सम्मान दिएको उनले बताइन् । उनले भनिन् , ‘यो झरीमा गाउँ जानुभन्दा यही बाट आरोहीहरुलाई समान गर्न सके सबै को सहभागिता हुने भएकोले यो कार्यक्रम काठमाडौंमा गरिएको हो ।’

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले भने, ‘ हामीले गरेको कार्यक्रममा राजनीति नगर्नु होला । अबको दिनमा खिजीमा बनाउने क्रममा रोकिएको एयपोर्ट खुलाउन पहल सबै मिलेर गर्नुपर्छ । ’ भोजपुरको मान्यजनले खटाएको खर्च ओखलढुङ्गाको मान्यजनले खर्चको लागि पहल नगरिदिँदा अहिलेसम्म पनि सञ्चालनमा ल्याउन नसकेकोमा उनले दुखेसो पोखे ।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं ओखलढुंगाबाट संघीय सांसद रामहरि खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रदीप कुमार सुनुवार,खिजीदेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्ष बेदबहादुर रोक्का नेपाल पर्ववतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा लगायतको विशेष उपस्थिती रहेको थियो ।

यसैगरी कार्यक्रममा सुरुदेखि अन्त्यसम्म प्रमुख अतिथिहरु बसिदिएर कार्यक्रम समापन गरेकोमा सम्पूर्णलाई पालिका अध्यक्षले धन्यवाद दिए । सो कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न जातीय संस्था, खिजीदेम्बामा परियोजना सञ्चालन गर्ने संघसंस्थाका प्रतिनिधि, पर्यटनसँग सम्वन्धित सस्थाका अध्यक्ष,अन्य पर्वतारोहीलगायतको उपस्थिती रहेको थियो ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया