चितवनकी विपना गोले (नाम परिवर्तन)को घरमा साँझ बिहान दुई छाक खान धौधौ थियो । श्रीमानले ज्याला मजदुरी गरेर दुई चार पैसा कमाउँथे । तर, कमाएको पैसाले दिनहुँ रक्सी खाएर घरमा झैझगडा गर्थे । विपनालाई चार छोराछोरीको पालनपोषण गर्न कठिन थियो ।
कसरी बालबच्चालाई पेटभरी ख्वाउने भन्ने चिन्ताले विपनालाई सधैँभरी सताईरहन्थ्यो । यत्तिकैमा एक दिन विपनालाई नयाँ नम्बरबाट अपरिचित व्यक्तिको फोन आयो । विपनाले को रहेछ भनेर फोन उठाउँदै कुरा गरिन् । पछि त्यो फोन गर्ने मान्छेले सामाजिक सञ्जाल (फेसबुक) मा साथी बन्न अनुरोध पठाए । विपनाले अनुरोध स्वीकार गरे र साथी बने ।
फेसबुकमा कुरा हुँदै जाँदा विपनालाई पैसा नलाग्ने गरी विदेश पठाइदिने प्रलोभन देखाए । विपनाले भनिन् , “घरमा पनि सधैँभरी लाउन खानकै दुःख, अरु भन्दा पनि छोराछोरीलाई कति दिन भोकै राख्ने भनेर मैले विदेश जाने निधो गरेँ ।”फोन गर्ने मान्छेले विपनालाई भारत हुँदै कुवेत पठाइदिने भनेका थिए । विपनालाई भारतको वेश्यालयमा लगेपछि मात्रै दलालले आफूलाई बेचेको थाहा पाइन् । एक बर्षपछि विपना आफन्तको सहयोगमा नेपाल फर्किन सफल भइन् । यसरी प्रलोभनमा पारेर भारतमा बेचिएकी विपना एक उदाहरण मात्रै हुन् । बढ्ढो सूचना, सञ्चार र प्रविधिको विकासले मानव बेच बिखन सजिलो भएको छ । पहिले गाउँका सोझा महिला मात्रै बेचिन्थे ।
अहिले सहरका टाठाबाठा सजिलै बेचिने गरेका छन् । पछिल्ला पाँच वर्षयता सहरकै शिक्षित महिला बेचविखनको जोखिममा पर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन रोक्न तीव्रता देखाए पनि बढ्दो सञ्चार प्रविधिका कारण मावन बेचविखन तथा ओसारपसार गर्न दलालहरुलाई सजिलो भएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि मावन बेचविखन रोक्न पहल गरिरहेका छन् । तर, मावन बेचविखनको अवस्था घट्नुको सट्टा बढ्दै गएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने मानव बेचविखनमा पर्ने ८० प्रतिशत बढी महिला छन् । पछिल्लो समय पाका उमेरका चिनियाँ र कोरियाली पुरुषले नेपाली युवती विवाह गरेर लैजाने र बेचविखनमा पर्ने गरेको माइती नेपाल नामक संस्थाले जनाएको छ । नेपालबाट विवाह गरेर लगे पनि ती महिलालाई पछि घरमै बन्धकझैँ बनाएर यातना दिने गरेको माइती नेपालको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका लागि लैजाने तर प्रक्रिया नपु-याइ लैजाँदा श्रम शोषण, यौनशोषण हुने गरेको छ । विभिन्न सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथी चिनेजानेकै बाट बेचिने गरेका छन् ।
पछिल्लो समय धनुषा जिल्लाका सात र सिरहा जिल्लाका २१ गरी (२४ देखि ६० वर्षसम्मका) जम्मा २८ जना पुरुष बन्धक बनाइएको भारतीय गैरसरकारी संस्था किन इण्डियामार्फत जानकारी हुन आएको थियो । मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इण्डियाको प्राविधिक सहयोग र सहकार्यमा उक्त पीडित÷प्रभावितलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको मन्त्रालयले जनाएको छ । मानव बेचविखनबाट पीडित र प्रभावितको उद्धार तथा संरक्षणलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ । यो घटनाको संवेदनशीतालाई मध्यनजर गरी धनुषा ल्याइएका २८ पुरुषलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह (सुडी), मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको समुपस्थितिमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत निजको परिवारसँग पुनःमिलन गराइएको छ ।
यसरी पछिल्लो समय मानव बेचविखनको शैली परिवर्तन हुँदै गएको हो । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको सङ्ख्या बढेसँगै बेचविखनको जोखिम बढेको हो । सामाजिक सञ्जालमा आम नागरिकको पहुँच भएकाले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन फस्टाएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा बेचबिखनको जोखिम बढेको जनाइएको छ । प्रविधिको विकाससँगै बढ्दो मानव बेचविखन तथा ओसारपसार रोक्न राज्यले सोही अनुरुप सक्रियता देखाउनुपर्ने देखिन्छ ।