क्रोएसियाले विदेशी कामदारलाई तीन वर्षे भिसा दिने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
469 Shares
जाग्रेब, क्रोएसिया

क्रोएसियाले विदेशी कामदारका लागि तीन वर्षको भिसा दिने भएको छ । यसअघि एक वर्षसम्मका लागि भिसा दिदै आएको क्रोएसियाले अब भने तीन वर्षको भिसा दिने भएको छ ।

स्थानीय मिडियाका अनुसार क्रोएसियाली श्रम मन्त्री मारिन पिलेटिचले विदेशी कामदारहरूको थप सुबिधाका लागि नयाँ नियम ल्याउने तयारी गरेका हुन् । उनले भनेका छन् ` देशले विदेशी कामदारहरूको लागि थप अनुकूल नियम पनि लागू गर्छ ।´

हाल क्रोएसियामा करिब १ लाख ४३ हजार विदेशी कामदार कार्यरत रहेको पेन्सन इन्स्योरेन्स इन्स्टिच्युटको तथ्यांकले जनाएको छ । मन्त्री पिलेटिकका अनुसार अधिकांश विदेशी कामदारहरू युरोपभन्दा बाहिरका छन् । युरोपका कामदार भने क्रोएसियामा १२ हजारको हाराहारी छन् ।

विदेशी कामदारहरूले क्रोएसियालीहरूको जागिरको खोसेको नभई देशको अर्थतन्त्रमा सहयोग पुर्‍याएको श्रममन्त्री पिलेटिचको भनाई छ । श्रममन्त्री पिलेटिचले क्रोएसियामा कामको मूल्य नघटाएको, बरु औसत तलब बढ्दै गएको दावी गरेको छ ।

क्रोएसियाले बोस्निया र हर्जेगोभिना, सर्बिया, उत्तरी म्यासेडोनिया, कोसोभो, अल्बानिया, भारत, नेपाल, बंगलादेश, फिलिपिन्स, पाकिस्तान लगायत अन्य विभिन्न देशबाट कामदार पूर्ति गर्छन् । क्रोएसियामा ३० भन्दा धेरै क्षेत्रमा विदेशी कामदारहरु कार्यरत छन् ।

क्रोएसियाली गृह मन्त्रालयले कामदार अभावलाई कम गर्न प्रत्येक महिना झन्डै २०हजार विदेशीहरूलाई अनुमति जारी गरिरहेको बताएको छ । मन्त्रालयका अनुसार यो वर्षको जनवरीदेखि जुलाईसम्म ८५ हजारभन्दा बढी विदेशी कामदारहरुलाई वोर्क पर्मीट(work permit) जारी गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया