पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले धनकुटा नगरपालिकाको वडा नं. १ हिले स्थित् न्यूरोडमा बुद्धपार्क निर्माण गरिएको छ ।
धनकुटा नगरपालिका कार्यालयबाट ११ लाख, वडा नं. १ बाट ५ लाख गरी १६ लाख लागतमा निर्माण गरिएको छ । धनकुटाको हिले आफैमा पर्यटन र व्यापारिक केन्द्रको रुपमा स्थापित भइसकेकाले थप पर्यटक भित्र्याउने उद्देश्यसँगै पर्यटकको गन्तव्य बनाउन नगरलाई सिंगार्न पार्कहरु निर्माण गरिएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बताए । पार्कमा लगभग ३ फिटको बुद्ध मुर्ति राखिएको छ ।
उनले आ.व.०७६/०७७ मा धनकुटाको हिलेमा नगरपालिकाको लगानीमा हिले पुच्छार र सिरानमा थप २ वटा पार्क निर्माण गरिने बताए । ‘धनकुटा नगरपालिका १० वटा वडामध्ये सबै भन्दा बढी राजस्व संकलन हुने वडा भएको नाताले पनि यो वर्ष १ नम्वर वडाको विकासको लागि नगरले पहिलो प्राथमिकतामा राखेको बताए । मेयर तामाङले भने, ‘वडाको विकासको लागि वडामा छुटिएको वजेट र नगरपालिकाको सोझै लगानीबाट पार्क बाहेक अन्य भ्यूटावर लगायतका पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भौतिक पूर्वाधारका योजनाहरु छन् ।’
त्यसैगरी वडा नं. १ का वडाध्यक्ष निरेन तामाङले स्थानीय तहको चुनावताका धनकुटाको हिलेमा ७ वटा पर्यटन प्रवद्र्धनको लागि टेवा पुग्ने भ्यू पोईन्ट निर्माण गर्ने भन्ने प्रतिवद्धता अनुरुप न्यूरोडमा बुद्धपार्क निर्माण गरिएको बताए । उनले वडा नगरपालिका र जनश्रमदान गरी करिव २० लाख रुपयाँमा बुद्धपार्क निर्माणमा खर्च भएको बताए । वडाध्यक्ष तामाङले हिलेमा पर्यटकीय क्षेत्रहरुको विकास गर्नेक्रममा बुद्धपार्क पनि एउटा भएको बताएका छन् ।
निर्माण समितिका अध्यक्ष बीरवहादुर तितुङ तामाङले धनकुटा नगरपािलका कार्यालय र वडा नं. १ को वडा कार्यालयको आ.व.०७४/०७५ र ०७५/०७६ को वजेट कार्यक्रमले बुद्धपार्क निर्माण गर्न सफल भएको बताए । अध्यक्ष तामाङले ०७४ साल चैत्र १८ गते बुद्धपार्क निर्माण समिति बनाएर थालनी गरिएको सम्झदै करिब २ वर्ष ६ महिनाको अवधिमा मात्र निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । उनले धनकुटा नगरपालिकाले आ.व.०७४/०७५ मा ३ लाख, ०७५/०७६ मा ८ लाख र धनपा वडा नं. १ ले ५ लाख गरी जम्मा १६ लाख पुगे पनि भुक्तानी भने १३ लाख, ७० हजार, ८ सय १८ रुपैयाँ मात्र प्राप्त भएको बताए । उनले थपे – वाँकी निर्माणको काम जनश्रमदान र स्थानीयको साथ सहयोग जुटाएर सम्पन्न गरिएको हो ।