म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) क्रोएसियाले आफ्नो प्रथम वार्षिकोत्सव तथा तीज पर्व भव्य रूपमा मनाएको छ । मोनाले वार्षिकोत्सब तथा तीज शनिबार जाग्रेबको प्रेच्को २ ए मा बृहत सांस्कृतिक कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मोनाका मानार्थ सदस्य मानसिंह धामीले प्रवासमा नेपालकै झल्को आउने खालको महसुस भएको बताए । प्रमुख अतिथि धामीले मोनाले प्रथम वार्षिकोत्सब र तीज सव्य र भव्य रूपमा सम्पन्न गरेकोमा धन्यवादसमेत दिए ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथि एनआरएनए क्रोएसियाका महासचिव हरि घिमिरेले वार्षिकोत्सबसँगै नेपालबाट गायक ल्याएर तीज कार्यक्रम गरेकोमा धन्यवाद दिए । उनले आगामी दिनमासमेत मोनालाई यस्तै कार्यक्रमहरु गरि प्रवास रहेका नेपालीहरुलाई देशमै भएको महसुस दिलाउन आग्रह गरे ।
कार्यक्रममा युवा समाजसेवी एवं काठमाडौं मार्टका संचालक कमलमान गुरुङ, एनआरएनए क्रोएसियाका कोषाध्यक्ष दुर्गा अधिकारी, जन प्रगतिशील मंच क्रोएसियाका अध्यक्ष लोप्साङ लामा, तामाङ समाज, तमु समाज, सुदूरपश्चिमेली समाज लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरु उपस्थिति रहेका थिए ।
मोनाका क्रोएसिया अध्यक्ष रुपेश सुन्दासको सभापतित्वमा सम्पन्न कार्यक्रम जसमान दर्लानले संचालन गरेका हुन् । स्वागत मन्तव्य भने मोनाका उपाध्यक्ष सपना जुग्जलीले दिएकी थिइन् । कार्यक्रमका सभापति सुन्दासले उपस्तिथि सबैलाई विशेष धन्यवाद दिदै आगामी दिनमा समेत संस्थाले यस्तै कार्यक्रमहरु गरिरहने प्रतिबद्धता गरे ।
कार्यक्रममा नेपालबाट आएका गायक प्रकाश दुतराजको बिशेष प्रस्तुति दिएका थिए । गायक दुतराजले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए । त्यस्तै कार्यक्रममा स्थानीय कलाकारहरु दीपा तामाङ, निरु परियार, निरु पुन, उमा आले मगर, सपना जुग्जाली, अन्जु फागामी, देबिन गर्बुजा लगायले आआफ्ना प्रस्तुति दिएका थिए ।
` देश-विदेशमा प्रख्यात गायक दुतराज म्याग्दीकै भएकोले यसपटक उहाँलाई निमन्त्रणा गरेको हो,´ मोनाका संस्थापक अध्यक्ष रामकृष्ण शर्माले भने,` आगामी दिनमा अन्य कलाकारहरुलाई पनि निमन्त्रणा गर्ने संस्थाको योजना छ ।´ संस्थापक अध्यक्ष शर्माले म्यादीबाट रोजगारीका लागी क्रोएसिया आएकाहरुलाई संस्थामा जोडिन पनि आग्रह गरे ।
थप यो पनि
मोना क्रोएसियाको तीज कार्यक्रममा प्रकाश दुतराजको बिशेष प्रस्तुति