तामाङ समुदायमा लैङ्गिकता

काठमाडौँ

१. विषयप्रवेश

तामाङ जातिबोधक शब्द हो । जुन शब्दले नेपाली भूमिमा खासगरी काठमाडौं उपत्यकाको आसपासका जिल्ला र पूर्वी नेपालको पहाडी जिल्लाहरूमा प्राचीन कालदेखि बसोबास  गर्दै आइरहेको एक जाति विशेषलाई बुझाउँछ (प्रयोगात्मक नेपाली शब्दकोशः २०६१) । त्यसो त यस जातिका मानिसहरू भारत, वर्मा, भुटान लगायत विश्वका अन्य विभिन्न मुलुकमा समेत बस्ने गरेको पाइएको छ । यद्यपि यिनीहरूको मूल थलो भने नेपाल नै रहेको पाइएको छ । भौगोलिक रूपमा जहाँ जहाँ छरिएर रहे पनि यस जातिका मानिसहरूको आफ्नो छुट्टै मौलिक रहनसहन, भाषा, धर्म, संस्कृति र भेषभुषा लगायतले आफ्नो छुट्टै समुदाय निर्माण गर्न सफल भएको छ । यसैकारण बहुजातियुक्त मिश्रित समाजमा बसेर पनि यिनीहरूको आफ्नो छुट्टै सामाजिक पहिचान रहेको छ ।

लैङ्गिकताका दृष्टिकोणबाट अन्य जाति वा समुदायका मानिसहरूसरह तामाङ समुदाय पनि नारी, पुरुष तथा तेस्रो लिङ्गी र समलिङ्गी गरी विविध लिङ्गधारी मानिसको समूहबाट निर्माण भएको छ र यस समुदायमा पनि नारी र पुरुषको नै बर्चस्व बढी रहेको छ । तर यिनीहरूको पारिवारिक तथा सामाजिक दायित्व निर्वाह गर्ने भूमिका भिन्न भिन्न रहेकोे छ । प्रस्तुत लेख तिनै तामाङ समुदायभित्र नारी र पुरुषलाई हेर्ने सामाजिक सांस्कृतिक दृष्टिकोण तथा शैक्षिक, आर्थिक क्षेत्रमा उनीहरूको उपस्थिति र योगदान तथा ती क्षेत्रमा देखिएका लैङ्गिक विभेद वा समस्यामा केन्द्रित छ ।

२. सैद्धान्तिक अवधारणा

लैङ्गिकता अङ्ग्रेजीको जेन्डर शब्दको पर्यायवाचीका रूपमा प्रचलित नेपाली शब्द हो । यसले मानिसका जैविक प्राकृतिक गुण अर्थात् शारीरिक बनोटको भिन्नताका कारण सामाजिक विशेषतामा हुने भिन्नता अर्थात् स्त्रीत्व र पुरुषत्वलाई बुझाउँछ (पाण्डे, २०६९,पृ.२) । यसले महिला र पुरुषको शारीरिक भूमिका तथा विशेषतालाई नभई तिनको सामाजिक सांस्कृतिक भूमिका र विशेषतालाई बुझाउँछ (पाण्डे, २०६९,पृ.३) । अर्थात् शारीरिक संरचना वा बनोटका आधारमा नारी र पुरुषले गर्ने काम र जिम्मेवारीको बाँडफाँड, शक्तिसम्बन्ध र सामाजिक सांस्कृतिक मान्यता नै लैङ्गिकता हो  ।

मानिस लगायत संसारमा जति पनि प्राणीहरू छन् ती प्रत्येक प्रजातिका प्राणीहरू भाले र पोथी गरी दुई किसिमका छन् । यो सृष्टिको निरन्तरताको लागि प्राकृतिक रूपमै तय भएको कुरा हो । मानव समाजमा भाले जातिलाई पुरुष भनेर चिनिन्छ भने पोथी जातिलाई स्त्री वा महिला भनेर चिनिन्छ । अन्य प्राणीभन्दा मानिस चेतनशील भएकाले उसले आफूलाई जङ्गली युगबाट विकासको सभ्यतातर्फ उन्मुख गराउँदै लगेको देखिन्छ । यसरी समाज र सभ्यताको विकासको क्रममा नयाँ नयाँ आविष्कारसँगै विभिन्न सांस्कृतिक प्रचलनको पनि विकास भएको पाइन्छ भने यही क्रममा नारी र पुरुषलाई फरक शक्ति र फरक हैसियतको अस्तित्व ठान्ने गलत अवधारणा वा संस्कारको पनि विजारोपण भएको पाइन्छ (पाण्डे, २०६९,पृ.१) ।

जति जति सभ्यताको विकास हुँदै गयो उति उति नारी र पुरुषको अस्तित्व सम्बन्धी फरक फरक अवधारणा वा संस्कारले अपरिवर्तनीय सत्यकै रूपमा समाजमा झन् जरो गाड्दै लग्यो । फलतः यसले नारी र पुरुषबीच ठूलो खाडल निर्माण ग¥यो र यस खाडलभित्र विभेदका अनेक रूपहरू पनि भरिँदै गयो । शारीरिक बनावटका कारण आफूलाई शाक्तिसम्पन्न ठान्ने पुरुष जातिले नारीलाई आफ्नो अनुकूलमा प्रयोग गर्दै गए । नारीलाई हरेक अवसरहरूबाट बन्चित पार्दै लगियो र अन्ततः पाप र धर्मको परिकल्पना गरी पूर्ण रूपमा पुरुषको दासी बनाइयो । घर, परिवार, समाज जुनसुकै ठाउँमा उसलाई उपेक्षापूर्ण दृष्टिले हेरिन थालियो र कालान्तरमा नारी केवल पुरुषको आवश्यकता पूर्ति गर्ने र तिनको वंश परम्परालाई निरन्तरता दिनको लागि उपयोग गरिने साधन मात्रै बन्न पुग्यो । जब घरभित्र र बाहिर जहाँ पनि नारीलाई विभेदपूर्ण व्यवहार गर्न थालियो तब नारीहरूले आफ्नो हक, हित र अधिकारका लागि सङ्घर्ष सुरु गरे । यस सङ्घर्षको औपचारिक थालनी अमेरिकाको न्यूयोर्क सहरमा कपडा मिलमा काम गर्ने महिला मजदुरहरूले सन् १९०८ मार्च ८ का दिन सडकमा उत्रिएर विरोध गरेपछि भयो (दास,२०५७,पृ.५०) ।

नेपाली मूलका अन्य समुदाय तथा अन्यदेशीय नारीहरूको जस्तो दयनीय अवस्था भने यस समुदायको नारीहरूको पाइदैन । तर पनि सामाजिक भूमिकाका हरेक क्षेत्रमा कतै न कतै कुनै न कुनै प्रकारले यस समुदायका नारी र पुरुषबीच विभेद रहेको टड्कारै देख्न सकिन्छ ।

यसरी थालिएको सङ्घर्षले विस्तारै आन्दोलनको रूप लिँदै जाने क्रममा विश्वयुद्धजस्ता महाविनाशकारी घटनाले यसलाई थप टेवा पुर्‍यायो । यस घटनापश्चात् विश्वमा राजनीति, कला, साहित्य, दर्शन जस्ता क्षेत्रहरूमा नयाँ चिन्तनको आरम्भ भएसँगै लैङ्गिक समानताको अवधारणाको पनि विकास भएको हो (पाण्डे, २०६९,पृ.४) । यसरी विकास भएको लैङ्गिक समानताको अवधारणाले विभेदकारी अमानवीय संस्कृतिबाट नारी र पुरुषबीच रहिआएको असमानजनक मान्यतालाई विस्थापित गरी समानताको संस्कृतिप्रति मानवसमाजलाई ब्युँझाउने वा अनुरक्त पार्ने प्रयास गर्दै आएको छ । वास्तवमा यही समानतामूलक संस्कृति निर्माणको अवधारणा नै लङ्गिकताको अवधारणा हो (पाण्डे, २०६९,पृ.२) भने यस अवधारणाले विश्वका सबै मुलुकलाई प्रभाव पारेको छ । यसर्थ यसको प्रभाव स्वतः नेपालमा पनि परेको छ र लैङ्गिकता वा लैङ्गिक समानता सम्बन्धी थुप्रै प्रयासहरू पनि राजनीतिक, समाजिक, साहित्यिक विभिन्न क्षेत्रहरूका माध्यबाट हुँदै आएको छ । लैङ्गिकता सम्बन्धी यसै अवधारणालाई आधार मानेर सामाजिक सांस्कृतिक, राजनीतिक, आर्थिक र शैक्षिक क्षेत्रमा विद्यमान नारी र पुरुषबीचको सम्बन्धलाई केलाउने प्रयास गरिएको छ ।

(क) सामाजिक सांस्कृतिक क्षेत्रमा लैङ्गिकता

कुनै निश्चित भौगोलिक क्षेत्रभित्र एकआपसमा बलियो सम्बन्ध कायम गरी साझा संस्कारहरूलाई अङ्गालेर बसोबास गरेका मानिसहरूको ठूलो समूहलाई समाज भनिन्छ । जहाँ विभिन्न जाति, भाषा, धर्म र संस्कार भएका छुट्टाछुट्टै समुदायका मानिसहरूको बसोबास रहेको हुन्छ भने आफ्नो आवश्यकता पूर्तिका लागि आपसी सहकार्य र अन्तरत्र्रिmयाका माध्यमबाट तिनीहरूले एकआपसमा एकता कायम गरेको हुन्छ ।

समाज एकअर्कामा आधारित हुन्छ भने समाजमा बसोबास गर्ने मानिसका रुचि, चाहना, सामाजिक मूल्य र मान्यता, शारीरिक बनावट, लिङ्ग आदिका आधारमा तिनीहरूबीच समानता र भिन्नता पनि रहेको हुन्छ । यद्यपि समानताको नियम समाजमा महत्वपूर्ण हुन्छ । तामाङ समुदायको कुरा गर्नुपर्दा यो समुदाय नेपाली समाजमा विद्यमान विभिन्न समुदायमध्ये आफ्नै मौलिक भाषा, धर्म, संस्कृति र भेषभुषा भएको एक जातीय समुदाय हो । यिनीहरूको आफ्नै सामाजिक मूल्य र मान्यता रहेको छ । लैङ्गिक दृष्टिकोणका आधारमा यस समुदायलाई हेर्दा खासगरी हिन्दूआर्य मूलका मानिसहरूको तुलनामा नारीलाई हेर्ने दृष्टिकोण र उनीहरूलाई समाजमा दिइने स्थान उदार प्रकृतिको रहे पनि कतिपय कुराहरूमा नारी र पुरुषबीच विभेद रहेकै पाइन्छ ।

प्राचीन कालमा यस समुदाय मातृसत्तात्मक प्रणालीबाट सञ्चालित थियो भन्ने गरेको पाइए पनि पितृतर्फबाट अर्थात् बाबुको थरबाट वंशपरम्परा अघि बढिरहको तथ्यबाट यसलाई पितृसत्तात्मक प्रणाली भएको समुदाय नै हो भनेर किटान गर्न सकिन्छ (तामाङ, २०७५: पृ.८७) । जहाँ पितृसत्ता त्यहाँ लैङ्गिक विभेद अवश्य नै हुने गरेको पाइएको छ । परम्परादेखि हिन्दु समुदायमा चलिआएको विभेदजन्य संस्कार यस समुदायले पनि ग्रहण गरेको पाइन्छ । किनकि एउटै समाजमा बसोबास गरिरहँदा नजादिँदो किसिमले स्वतः एकअर्काको प्रभाव परेको हुन्छ नै त्यही प्रभाव स्वरूप तामाङ समुदायको सामाजिक मुल्य र मान्यतामा पनि नारी र पुरुषलाई हेर्ने दृष्टिकोणमा भिन्नता रहेकै देखिन्छ । यो भिन्नता उनीहरूले निर्वाह गर्ने भूमिकाका माध्यमबाट प्रष्ट हुन्छ, जस्तैः– उत्पादक काममा पुरुषको भूमिका बढी रहेको पाइन्छ भने पुनर्उत्पादक काममा नारीको भूमिका बढी रहेको पाइन्छ (तामाङ, २०७५: पृ.९९) । यो तामाङ समुदायले मात्रै नभएर सिङ्गो मानव समुदायले नै तय गरेको नारी र पुरुषलाई प्रदान गरिने जिम्मेवारी वा कामको बाँडफाँड हो । यसै भूमिकाका आधारमा नै परिवारको नेतृत्वको भूमिका पनि जोडिएको हुन्छ र अन्य समुदायमा झैं यस समुदायमा पनि नेतृत्वदायी भूमिकामा पुरुष नै रहेको पाइन्छ जसलाई घर मुली भनिन्छ । घरमुलीलाई सम्पत्तिको खटनपटन गर्ने अधिकार प्राप्त हुन्छ । अर्थात् जोसुकैले कमाएर ल्याएको भए पनि उक्त सम्पत्ति कहाँ कति खर्च गर्ने भन्ने कुराको निर्धारण उक्त व्यक्तिले नै गर्ने गर्दछ (तामाङ, २०७५: पृ.९८) । यसो हुनुको वैज्ञानिक तथा प्राविधिक कारण हुनसक्छ तर यसै जिम्मेवारी र भूमिकाका आधारमा समाजमा भने लैङ्गिक विभेदले जरो गाडेको पाइन्छ र यो तामाङ समुदायमा पनि देखिन्छ ।

त्यसो त यस समुदायमा मानिस जन्मेदेखि मृत्युसम्म गरिने संस्कारमा नारी र पुरुष दुवैको सहभागिता रहन्छ भने जात्रा, मेला, चाडपर्व आदि मनोरञ्जनात्मक सामाजिक गतिविधिमा पनि नारी र पुरुष दुवैको उपस्थिति समानै रहेको पाइन्छ । त्यसैगरी एकअर्काको सहअस्तित्वलाई स्वीकारेर पारिवारिक रूपमा समानताको भाव कायम गरेको पनि पाइन्छ । यसको उदाहरणको रूपमा विवाहमा नारी पुरुष दुवैले आफ्नो जीवनसाथी स्वेच्छाले रोज्न पाउने अधिकार तथा पारपाचुके र पुनर्विवाह गर्न पाउने अधिकार तथा एकअर्काको जन्म अनुसारको थर कायमै रहने व्यवस्थालाई लिन सकिन्छ । यही व्यवस्थाले गर्दा स्वास्नीमानिसको मृत्यु हुँदा दाहसंस्कारमा माइती पक्षको उपस्थिति अनिवार्य मानिन्छ । यसले माइती पक्षलाई चेलीप्रति सधैँ उत्तरदायी बनाएको देखिन्छ । यसबाट नारीहरू एक्लो र निरीह छैनन् भन्ने नै बुझाउँछ (तामाङ, २०७५: पृ.७४) । तापनि केही त्यस्ता सामाजिक मान्यता र प्रचलनहरू पनि छन् जसले नारी र पुरुषबीचको विभेदलाई स्वतः झल्काएको देखिन्छ । त्यस्ता केही उदाहरणहरू हुन्– न्वारान, पास्नी, विवाह आदि ।

तामाङ समुदायमा छोरीको न्वारान ३ दिनमा र छोराको न्वारान ५ देखि ७ दिनमा गरिने प्रचलन छ भने पास्नी छोरीको भए ५ महिनामा र छोराको भए ६ महिनामा गर्ने प्रचलन रहेको छ (तामाङ, २०७५: पृ.१९२) । लैङगिक दृष्टिकोणबाट यहाँ विभेद रहेको भन्न सकिन्छ । वंश धान्ने र देशविदेश गएर कमाएर घर परिवार धान्ने छोरै हो भन्ने मान्यता यस समुदायमा पनि विद्यमान नै छ । त्यसैको प्रभाव स्वरूप छोराको बढी हेरविचार गर्ने प्रचलनले त्यस्तो परम्परा रहेको हो भन्दा अत्युक्ति नहोला । त्यसैगरी बिहेको कुरा गर्नुपर्दा छोरीलाई विदाई गरी अर्काको घर पठाउने र छोराले बिहे गरी त्यही घरमा बस्ने प्रचलनले विवाहपछि त्यस घरमा छोरीको अधिकार नगन्य हुने र विवाह गरी गएको घरमा पनि पराश्रित जस्तै हुनुपर्ने तथ्य यस समुदायमा पनि स्पष्ट नै देखिन्छ ।

सामाजिक पाटोबाट हेर्दा पनि तामाङ समुदायका नारी र पुरुषबीच विभेद रहेकै पाइन्छ । समुदाय तथा समाजिक परम्परा सञ्चालनका लागि यस समाजमा आफ्नै किसिमको सङ्गठनात्मक संरचना रहेको पाइन्छ र त्यस सङ्गठनात्मक प्रणालीमा विभिन्न पदमा रहेर पदाधिकारीहरूले आ–आफ्नो भूमिका निर्वाह गरेको पाइन्छ । त्यस्ता सार्वजनिक पद धारण गर्ने मानिसहरू भने प्रायः सबै पुरुष नै हुने गरेको तथ्य भेटिन्छ । जसले नारी र पुरुष दुवैको पारिवारिक र सामाजिक जिम्मेवारीको निर्धारण गर्ने गर्दछ । यसबाट के प्रष्ट हुन्छ भने यस समुदायमा पनि निर्णयको अधिकार केवल विवाहको सन्दर्भमा बाहेक अन्य सन्दर्भमा पुरुषलाई मात्रै दिइएको छ । छोरा वा छोरीको विवाहमा आमाको स्वीकृतिलाई महŒव दिइए पनि अन्य कुनै पनि सामाजिक कुरामा तथा सार्वजनिक पद धारण गराएर नारीलाई निर्णयको अधिकार दिइएको पाइदैन । तसर्थ यस समुदायमा लैङ्गिक विभेद स्पष्टै देखिन्छ ।  लामा पुरुष नै हुने, ताम्बा र गान्बाको भूमिकामा पनि पुरुष मात्रै रहने संस्कारले नारीको सक्षमतामाथि प्रश्न खडा गरेको छ । यसो हुनु भनेको लैङ्गिकताको दृष्टिकोणले हुने विभेद नै हो ।

(ख) राजनीतिक क्षेत्रमा लैङ्गिकता

राज्य सञ्चालनको मूल संयन्त्र राजनीति हो । यसले देश र जनताको भविष्य कतातिर लैजाने भन्ने कुराको नीति योजना तर्जुमा गर्ने कार्य गर्दछ । अर्थात् राज्यको नीति निर्माण गर्नेदेखि लिएर त्यसलाई कार्यान्वयनमा लैजाने कार्यमा समेत यसैले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । यसका लागि राज्यको तल्लो निकाय अर्थात् ग्रामीण भेकदेखि लिएर केन्द्रसम्म जनप्रतिनिधिहरू रहेका हुन्छन् भने त्यस्ता जनप्रतिनिधि स्थानीय जनताले चुनेर पठाएका हुन्छन् । जातिगत आधारमा हेर्दा यस्ता जनप्रतिनिधिहरू तामाङ समुदायबाट कमै मात्र देखिन्छन् भने तामाङ महिला त झन् नगन्य मात्रामा मात्रै देखिन्छन् । यहाँसम्म कि तामाङ समुदायको बाहुल्य भएको क्षेत्रमा समेत तामाङ जातिहरू राजनैतिक क्षेत्रमा सक्रिय भएर लागेको पाइदैन । यसको मूल कारणको रूपमा निम्न आर्थिक अवस्था, अशिक्षा र राजनीतिक चेतनाको कमीलाई लिन सकिन्छ ।

२०७४ को प्रतिनिधि सभा सदस्यमा यस समुदायबाट निर्वाचित हुने सङ्ख्यालाई हेर्ने हो भने प्रत्यक्षतर्फ पुरुष ३ जना छन् भने महिला शुन्य अवस्थामा छन् । समानुपातिकतर्फ भने २ पुरुष र २ महिला गरी बराबरी सङ्ख्यामा निर्वाचित छन् । त्यसैगरी प्रदेश सभातर्फ हेर्दा प्रत्यक्षतर्फ पुरुष ७ र महिला २ छन् भने समानुपातिकतर्फ पुरुष १ र महिला ६ जना निर्वाचित देखिन्छन् (वैद्य तामाङ, २०७६: पृ.५९) ।  यस तथ्याङ्कलाई हेर्दा समानुपातिकतर्फ महिलालाई अलिक बढी स्थान दिइएको देखिए पनि अन्यमा भने पुरुषकै सङ्ख्या बढी देखिन्छन् । संविधानसभा सदस्यको निर्वाचन र स्थानीय तहको निर्वाचनले यो कुरालाई प्रष्ट पारेको छ । जुन यसप्रकार देखिएको छ– जसमध्ये संविधानसभा सदस्य पहिलो अर्थात् २०६४ मा निर्वाचित हुनेमध्ये प्रत्यक्षतर्फ ७ पुरुष र १ महिला देखिन्छन् भने समानुपातिकतर्फ ५ पुरुष र ४ महिला देखिन्छन् । त्यसैगरी २०७० को नतिजालाई हेर्दा प्रत्यक्षतर्फ ४ पुरुष र शुन्य स्थानमा महिला देखिन्छन् भने समानुपातिकतर्फ ७ पुरुष र ३ महिला देखिन्छन् (वैद्य तामाङ, २०७६: पृ.६१)

स्थानीय तहको अवस्थालाई हेर्दा पनि स्थिति यही देखिन्छ । यसो हुनुको कारण प्रतिच्छेदनको (इन्टरसेक्सनालिटी) अवधारणा अन्तर्गत राजनैतिक विभेद हुनु पनि हो भन्न सकिन्छ भने यसको मुख्य कारण चाहिँ यस समुदायको मानिसको सामाजिक, आर्थिक, शैक्षिक स्थिति तथा राजनैतिक चेतनाको कमी हुनु नै हो । त्यसबाहेक यस समुदायमा पनि महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक नहुनु तथा महिलाको क्षमता र दक्षतालाई अविश्वास गर्नु वा अवमूल्यन गर्नुलाई पनि कारणको रूपमा लिन सकिन्छ ।

वर्तमान अवस्थामा राजनीतिक क्षेत्रमा यस समुदायको सहभागिता अति न्यून हुनुको पछाडि ऐतिहासिक कालखण्डमा राज्यबाट भएको दमन तथा अन्य समुदायको हस्तक्षेप मुख्य कारण हुन सक्छ तर प्राचीन कालमा भने यो समुदाय  राजनैतिक रूपमा निकै सचेत रहेको पाइन्छ । यसको उदाहरणको रूपमा चोहो प्रणालीलाई लिन सकिन्छ । जसको निर्माण निर्वाचन प्रणालीबाटै गरिन्थ्यो (तामाङ,२०७५ः पृ.११३) भने त्यसले गर्ने कार्यलाई हेर्दा अहिलेको स्थानीय सरकारले गर्ने कार्यसरह नै गरिएको पाइन्छ । तर लैङ्गिकताको कुरा गर्नुपर्दा चोहो प्रणालीमा नेतृत्व तथा निर्णय गर्ने तहमा नारीको भने कुनै संलग्नता रहेको पाइदैन । यसले के देखाउँछ भने परम्परादेखि वर्तमानसम्मै नारीलाई हेर्ने दृष्टिकोणमा कुनै भिन्नता छैन । अर्थात् उनीहरूको राजनीतिक सामथ्र्यप्रति यस समुदायलाई विश्वास छैन र यसो हुनु भनेको लैङ्गिकताको दृष्टिले नारीमाथिको विभेद नै हो ।

(ग) आर्थिक क्षेत्रमा लैङ्गिकता

मानिसको जीविकोपार्जनको मूल खाँबो भनेको अर्थतन्त्र हो । यो विकाससँग जोडिएर आएको हुन्छ । अर्थात् सामान्य घरपरिवारदेखि समाज र राष्ट्रको विकासको आधार भनेकै अर्थ व्यवस्था हो । कुन मानिसले कति प्रगति गरे, समाज तथा राष्ट्रले कति विकास गरे भन्ने कुराहरू आर्थिक पक्षसँगै सम्बन्धित हुन्छन् । सामान्य मानिसको जीवन निर्वाह गर्ने कुरादेखि लिएर उसको शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत कुराहरू परिपूर्तिका लागि अर्थको आवश्यकता पर्दछ भने समाज र सिङ्गो राष्ट्रको विकासका लागि पनि राज्यको अर्थतन्त्र नै मजबूत हुनुपर्दछ । राज्यको आर्थिक विकासको प्रमुख मेरुदण्डको रूपमा कृषि, उद्योग र व्यापारलाई लिइन्छ भने सामान्य मानिसको हकमा भने दैनिक तथा मासिक रूपमा ज्याला प्राप्त हुने रोजगारीले पनि महŒवपूर्ण भूमिका खेलेको हुन्छ । कतिपयले यसलाई पेसा पनि भन्ने गरेको पाइन्छ । यही सन्दर्भमा तामाङ समुदायको आर्थिक अवस्थाको कुरा गर्नुपर्दा यिनीहरूले प्रमुख पेसाको रूपमा कृषिलाई नै अपनाएको पाइन्छ । कृषिकर्मबाटै आर्थिक उपार्जन गरेर आफ्नो दैनिक व्यवहारदेखि लिएर चाडपर्व, बिहेँ जस्ता सामाजिक संस्कार धान्ने प्रचलन सुरुदेखि नै यस समुदायमा रहेको पाइन्छ भने पछिल्लो समयमा यस समुदायका केही व्यक्तिहरू व्यापार व्यवसायमा, केही सरकारी तथा गैरसरकारी संघसंथामा जागिरदारको रूपमा र धेरैजसो युवाहरू वैदेशिक रोजगारीमा संलग्न देखिन्छन् ।

प्रस्तुत लेखमा तामाङ समुदायको आर्थिक गतिविधिभन्दा पनि लैङ्गिक दृष्टिकोणले आर्थिक क्षेत्राधिकार कसलाई कति भन्ने कुराको अध्ययन गर्न खोजिएकाले यहाँ त्यसैसँग सम्बन्धित पक्षको मात्रै चर्चा गरिएको छ । यस समुदायको प्रारम्भिक अवस्थादेखि हेर्दा आर्थिक क्षेत्रमा पुरुषकै बढी हाबी भएको पाइन्छ । कृषि तथा पशुपालन मुख्य पेसा भएको र समान रूपमा नारी पुरुष दुवैले त्यस क्षेत्रमा श्रम गर्ने गरेको भए पनि त्यसमा अधिकार भने पुरुषकै रहेको देखिन्छ । सामान्य घर खर्च गर्ने र राखनधारण गर्ने कामबाहेक बाह्य आर्थिक क्रियाकलापमा पुरुषकै सहभागिता बढी पाइन्छ । समग्रमा भन्नुपर्दा परिवारमा अभिभावकीय भूमिकामा पुरुष नै रहने हुँदा चलअचल सम्पत्तिको मालिक उही हुने गरेको पाइन्छ (तामाङ, २०७५: पृ.९८) । पैतृक सम्पत्तिमाथिको स्वामित्व उसैमा निहित हुने भएकोले पनि आर्थिक रूपमा पुरुषको तुलनामा नारी दुर्वल नै रहेको पाइन्छ । तर यस समुदायका नारी अन्य समुदायका नारी झैं पुरै अवला र दुर्बल भने देखिँदैन कारण यस समुदायमा पत्नी, छोरी तथा बुहारीलाई पेवा दिने चलनले आर्थिक रूपले केही मात्रामा भने नारी सबल नै रहेको पाइन्छ (योन्जन–तामाङ, २०६७ पृ.५२) । तर यतिले मात्रै यहाँ नारी पुरुषबीच विभेद छैन भन्न सकिँदैन । सम्पत्तिको सबै हिस्सा चाहिँ पुरुषलाई सुम्पिएर जाबो तिल जत्रै पेवा दिएर समान व्यवहार भएको भनेर भन्नु हास्यासपद नै हुन्छ । पेवा पनि स्वतः वृद्धि हुने कुरा होइन नारीले आफ्नो श्रम र सिपले बढाएर लगे मात्रै ऊ आर्थिक रूपले आत्मनिर्भर हुने हो अन्यथा नारी रित्तो नै हो । पेवा बढाउनको लागि भन्दा बढी श्रम त उसले सिङ्गो घरको लागि गरेको हुन्छ तर त्यसको ज्याला उसले कहिल्यै पनि प्राप्त गरेको पाइदैन । जुन कार्य महिलाको पुनरुत्पादक भूमिकाभित्र पर्दछ । तर पुरुषको सवालमा हेर्ने हो भने कुनै काम नगरी लफङ्गा नै भएर हिँडेको भए पनि उसले स्वतः पैतृक सम्पत्तिमाथि हक दाबी गर्न सक्ने अधिकार उसलाई प्राप्त छ । यसरी एकथरीले श्रम गर्दागर्दै पनि श्रमको उचित मूल्याङ्कन नहुनु अनि अर्काथरी केही नगरी पनि पुरा सम्पत्तिको हकदार हुनुलाई विभेद छैन भन्नु त हास्यास्पद नै हुन जान्छ । तसर्थ यस समुदायमा पनि लैङ्गिकताको दृष्टिकोणले नारी पुरुषबीच आर्थिक क्षेत्रमा पनि विभेद रहेको छ ।

वर्तमानमा आएर लैङ्गिकताको बारेमा नयाँ अवधारणाहरूको विकास भइसकेपछि कतिपय नारीहरू स्वरोजगार पनि भएका छन् । उनीहरूमध्ये कतिपय व्यापार व्यवसायमा संलग्न छन् भने कतिपय सरकारी र गैरसरकारी संघसंस्था कार्यरत पनि छन् र कतिपय वैदेशिक रोजगारीमा पनि छन् । यसले गर्दा उनीरूको आर्थिक अवस्था राम्रै देखिन्छ भने आत्मनिर्भर भएको कारणले पारिवारिक तथा सामाजिक क्षेत्रमा सगर्व बाँच्न सक्षम पनि छन् । तै पनि पुरुषको तुलनामा यस्ता नारीहरूको सङ्ख्या अति न्यून नै छ । यसको कारण फेरि पनि लैङ्गिक विभेदलाई नै लिन सकिन्छ । यही विभेदका कारण छोरालाई मनचाहे जति पढाउने तर छोरीलाई चाँडै बिहे गरेर पारिवारिक जिम्मेवारी सम्हाल्न लगाउने परम्परा पनि विद्यमान नै छ । नगन्य रूपमा छोरासरह घर परिवार धानेर बस्ने नारीहरू पनि छन् तर अविवाहित । पैतृक सम्पत्तिको कुरा गर्नुपर्दा अविवाहित नारीले बाहेक अन्य नारीले उक्त अधिकार प्राप्त गरिनसकेको स्थिति नै हो । नेपालको नयाँ संविधानले पैतृक सम्पत्तिमाथि छोराछोरीको समान अधिकार कायम गरेको भए पनि व्यवहारमा अझै त्यो देखिएको छैन । तसर्थ आर्थिक दृष्टिकोणबाट पनि नारी र पुरुषबीच विभेद पर्याप्त रहेको देखिन्छ ।

(घ) शैक्षिक क्षेत्रमा लैङ्गिकता

शिक्षा मानिसको चेतनाको संवाहक हो । त्यो चाहे औपचारिक होस् या अनौपचारिक यसले मानिसलाई व्यवहारिक, प्राविधिक र सैद्धान्तिक ज्ञान प्रदान गर्दछ भने यही ज्ञानको माध्यमबाट मानिसले आफ्नो जीवनस्तर उकास्ने काम गर्दछ । समग्र मानव सभ्यताको विकाससँगै विकसित हुँदै गएको विभिन्न संस्कारहरू नै हरेक मानव समुदायले प्राप्त गर्ने पहिलो ज्ञान वा शिक्षा हो । जसलाई अनौपचारिक शिक्षाको रूपमा लिन सकिन्छ भने जुन हरेक समुदायको विकासको आधार पनि हो । तामाङ समुदायको शैक्षिक प्रणालीको कुरा गर्नुपदा पनि स्वतः यिनै कुरा अगाडि आउँछ । अर्थात् यस समुदायले सुरुमा प्राप्त गर्नेे ज्ञानको आधार भनेको पनि अनौपचारिक रूपमा प्राप्त हुने मौलिक संस्कार नै हो र जुन अनवरत रूपमा चलिरहन्छ पनि । तर वर्तमान समयमा शिक्षा भन्ने बित्तिकै परम्परादेखि चलिआएको संस्कारजन्य कुरा नभएर विद्यालय तथा विश्वविद्यालयबाट प्राप्त हुने औपचारिक शिक्षाको कुरा हुन आउने हुनाले यहाँ यसै सन्दर्भमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

नेपालमा औपचारिक शिक्षाको विकास राणाकालमा आएर भएको भए पनि त्यो दरबारिया र उसको आसेपासेहरूको लागि मात्रै थियो । सर्वसाधारणले भने त्यसबेला पढ्ने लेख्ने अवसर प्राप्त गरेको थिएन । तर राणाहरूमध्येबाटै प्रधानमन्त्री तथा श्री ३ भएका देवशमशेरले भने सर्वसाधारणको लागि पनि विद्यालय खोलेर पढ्ने लेख्ने अवसर प्रदान गरेपछि नेपालीहरूले शिक्षाको क्षेत्रमा प्रवेश गर्ने मौका पाए तर यो पनि लामो समयसम्म भने रहन सकेन । उनी पदबाट हट्ने बित्तिकै उनले खोलेका पाठशालाहरू पनि बन्द भए तर सर्वसाधारणले शिक्षाको स्वाद लिइसकेकाले त्यसको प्राप्तिका लागि बेला बेलामा सङ्घर्ष गर्दै गए भने जब यसले राजनैतिक मोड लियो तब क्रान्तिको रूप धारण ग¥यो र अन्ततः वि.सं.२००७ सालमा प्राप्त प्रजातन्त्रसँगै स्वतन्त्र ढङ्गले शिक्षा प्राप्त गर्ने अवसर पनि जनताले प्राप्त गरेपछि मात्रै तामाङ समुदायका मानिसले पनि पढ्ने मौका प्राप्त गरेका हुन् । तर त्यसो भए पनि यसभन्दा अघिदेखि नै यस समुदायका कतिपय मानिसले विभिन्न माध्यमद्वारा भए पनि पढ्ने लेख्ने काम भने गरिरहेका नै थिए । खासगरी लामा, झारफुक गर्ने व्यक्ति र वैद्यहरूले आ–आफ्नै ढङ्गबाट शिक्षा लिइरहेका थिए । लामाहरूले त औपचारिक रूपमै गुम्बामा अध्ययन गर्ने र दीक्षित हुने परम्परा नै रहेको थियो । तीबाहेक धार्मिक शास्त्रीय अुछेन लिपिमा गुम्बामा साक्षारता हासिल गर्ने र शैक्षिक मापदण्डको स्तर निर्धारपण गरेर प्रमाणपत्र दिइने परम्परा समेत रहेको थियो (तामाङ,२०६९ः पृ.१९५) । यद्यपि यस समुदायमा अहिलेको विद्यालयीय शिक्षामा पहुँच भने २००७ साल पछिबाट मात्रै भएको पाइन्छ ।

लैङ्गिकताका दृष्टिकोणले तामाङ समुदायका नारी र पुरुषको शैक्षिक अवस्थालाई हेर्दा नारी र पुरुषलाई प्रदान गरिने शिक्षाको परिपाटीमा सुरुदेखि हालसम्मको अवस्थालाई हेर्दा केही न केही भिन्नता अवश्य नै पाइन्छ । परम्परागत अनौपचारिक शिक्षा प्रणाली खेती किसानी र सिप मूलक हुने हुनाले त्यस्ता शिक्षा नारी र पुरुषको लागि भिन्नाभिन्नै किसिमको हुने गर्दथ्यो । जस्तैः हलो जोत्ने खन्ने जस्ता काम पुरुषको हुनाले पुरुषलाई त्यस्तै किसिमको ज्ञान प्रदान गरिन्थ्यो भने नारीलाई घरभित्रको काम गर्ने, राडी–पाखी, गुन्द्री–सुक्ली बुन्ने जस्ता काम सम्बन्धी ज्ञान प्रदान गरिन्थ्यो । यसरी ज्ञान प्रदान गर्ने काम अघिल्ला पुस्ताका मानिसले पछिल्ला पुस्ताका मानिसलाई व्यवहारिक तथा अनौपचारिक शैलीमा गर्ने गरिन्थ्यो । त्यसैगरी लामाहरूको लागि प्रदान गरिने औपचारिक शिक्षामा पनि महिलाको उपस्थिति रहँदैन थियो । त्यसको ठिक विपरीत आधुनिक शिक्षा प्रणाली भने सैद्धान्तिक प्रकृतिको रहेको पाइन्छ र यस्तो शिक्षा औपचारिक ढङ्गमा विद्यालय तथा विश्वविद्यालयमा सम्बन्धित व्यक्तिले मात्रै प्रदान गर्ने गरिन्छ । हाल आएर शिक्षा भन्ने बित्तिकै यसैलाई नै बुझ्ने गरिन्छ । त्यसैले यहाँ औपचारिक शिक्षा प्राप्त गर्ने तामाङ पुरुष र महिलाको स्थितिको अध्ययन गर्ने प्रयत्न गरिएको छ ।

पछिल्लो समयमा आएर देशमा जब सबैले पढ्न पाउने अवसर प्राप्त भयो तब यस समुदायका मानिस पनि विस्तारै विद्यालयीय शिक्षा प्राप्तितर्फ अघि बढेको पाइन्छ । तापनि अन्य समुदायको तुलनामा औपचारिक शिक्षा हासिल गर्नेको सङ्ख्या कमै देखिन्छ । २०६८ सालको जनगणनाअनुसार साक्षार प्रतिशत  ६२.६० मात्रै देखिन्छ (वैद्य तामाङ,२०७६ः पृ.३४) भने औपचारिक शिक्षा आर्जन गर्नेको सङ्ख्या झनै कम पाइन्छ । जसलाई परशुराम तामाङले प्रतिशतका आधारमा यसरी देखाएका छन्– प्राथमिक तह १७.३ प्रतिशत, एस.एल.सी. ४.८ प्रतिशत, स्नातक ०.७ प्रतिशत र स्नातकोत्तर ०.१ प्रतिशत भन्दा कम (तामाङ, २०६३ः पृ.५४) । यीमध्ये पनि लैङ्गिकताका आधारमा हेर्ने हो भने पुरुषको तुलनामा नारीको सङ्ख्या न्यून रहेको पाइन्छ । यसको कारण भनेको मूलतः छोरीलाई पढाउने चलन नभएर र आर्थिक अवस्था कमजोर भएर तथा शिक्षाको महत्व थाहा नभएर नै हो । तथापि शैक्षिक क्षेत्रमा पनि यस समुदायमा लैङ्गिक विभेद टड्कारै रहेको पाइन्छ ।

३. निष्कर्ष

समग्र मानव सभ्यताको विकासको आरम्भ जस्तै तामाङ सभ्यताको आरम्भ पनि मातृसत्तात्मक प्रणालीबाट भएको पाइए पनि सामाजिकीकरण र विकासको गति लिँदै जाने क्रममा विस्तारै यस समुदाय पनि पितृसत्तात्मक प्रणालीमा परिणत भएको पाइन्छ । यस समुदायमा पनि लैङ्गिकताका आधारमा नारी र पुरुषको कर्तव्य र जिम्मेवारीको निर्धारण तथा उनीहरूको सामाजिक भूमिकाको भागबण्डा लगाइएको पाइन्छ । यति हुँदाहुँदै पनि नेपाली मूलका अन्य समुदाय तथा अन्यदेशीय नारीहरूको जस्तो दयनीय अवस्था भने यस समुदायको नारीहरूको पाइदैन । तर पनि सामाजिक भूमिकाका हरेक क्षेत्रमा कतै न कतै कुनै न कुनै प्रकारले यस समुदायका नारी र पुरुषबीच विभेद रहेको टड्कारै देख्न सकिन्छ । वर्तमान स्थितिलाई हेर्दा पितृसत्तात्मक प्रणालीबाट गुज्रिएका नारीहरू चाहिँ आफ्नो हक र अधिकारको सुनिश्चित गर्दै राज्य तथा सामाजिक निकायका विभिन्न अङ्गहरूमा प्रतिनिधित्व जनाइसकेका छन् भने मातृसत्तात्मक प्रणालीको खोक्रो नारा बोकेर बाँचिरहेका तामाङ समुदायका नारीहरू भने उनीहरूभन्दा गएगुज्रिएको अवस्थामा जहाँको त्यही रहिरहेका छन् । यसको कारण कुनै न कुनै रूपमा राज्यसत्ता भए पनि अशिक्षा, गरिबी र जनचेतनाको अभाव पनि हो । त्यसैले घर, परिवार, समाज तथा राष्ट्रिय स्तरमा नै आफ्नो पहिचान बनाएर अघि बढ्न नारीहरू स्वयम् सचेत हुनु आवश्यक देखिन्छ भने यस समुदायका पुरुषहरूले पनि त्यसतर्फ सोँचविचार गरेर आफ्नो मौलिक इतिहासको अवशेषलाई जीवन्त तुल्याउनु आवश्यक देखिन्छ ।

सन्दर्भ सामग्रीसूची

खत्री, प्रा.डा. प्रेम, (२०७०), नेपालका जातीय संस्कार, काठमाडौंः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
तामाङ, अजितमान, (२०६९), तामाङ जातिको चिनारी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल तामाङ घेदुङ ।
तामाङ, परशुराम, (२०७५, दोस्रो संस्करण) तामाङ जाति, काठमाडौंः डि. बि. ओ. प्रेस प्रा. लि. ।
तामाङ, परशुराम, (२०६३), तामाङ जाति नयाँ सहस्राब्दी विकास एजेण्डा, काठमाडौंः नेपाल तामाङ घेदुङ र दुर्गबहादुर तामाङ स्मृति प्रतिष्ठान ।
दास, प्रभाकर लाल, (२०५७) लैङ्गिक अध्ययन, काठमाडौंः रेखारानी प्रकाशन ।
पाण्डे, डा. ज्ञानू, (२०६९) नेपाली उपन्यासमा लैङ्गिकता, काठमाडौंः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
योन्जन–तामाङ, अमृत, (२०६७) लोकतन्त्रमा तामाङ पहिचानका सन्दर्भहरू, टोकियोः तामाङ समाज जापान ।
वैद्य–तामाङ, सन्तोषकुमार, (२०७६) विकासको पथमा तामाङ जाति, काठमाडौंः कोको म्हेन्दो समाज भोजपुर, काठमाडौं ।
शर्मा, जनकलाल, (२०६७, चौथो संस्करण) हाम्रो समाजः एक अध्ययन, ललितपुरः सझा प्रकाशन ।

(लेखक भक्तपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् । )

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया