नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् ।
सदस्यताको सूचीप्रति एक पक्षले देखाएको व्यवहारप्रति खिन्न भएको भन्दै उनले राजीनामा दिएका हुन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।
उनले राजीनामा पत्रमा लेखिएको छ, ‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यता सूची आफूलाई देखाएर मात्र अघि बढ्नुपर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा झर्ने मन खिन्न हुन गएको छ । यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन । यी सबै अवस्था आउनुमा मेरो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रूपमा काम गर्न सक्ने अवस्थामा छैन ।’
महासङ्घको निर्वाचन दुई पटक तोकिए पनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरूमा पोखरेलले पुनः कार्यपालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औँल्याएका छन् ।
‘सिङ्गो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,’ पोखरेलले लेखेको राजीनामा पत्रमा भनिएको छ ।
महासंघले असोज ५ गते एकैसाथ चुनावको मिति घोषणा गरेका थिए । लामो समय सदस्य शुद्विकरणको विवादलाई सुल्झाउन नसक्दा चुनाव हुन नसकेका हुन् । के अब चुनावको मिति अन्योल हो ? यी प्रश्न अब फेरि बल्झिएको छ ।