जिम्मा
माइला भाइ अजयलाई सुनाएँ, ‘भर्खरै मैले तामाङ भाषामा एउटा पुस्तक लेखिसकाएँ । प्रकाशन गर्ने सोचमा छु । यससम्बन्धमा के गर्न सकिन्छ होला ?’
मेरो कुरा सुनेर अजयले एकाएक उज्यालो अनुहार बनायो र मतर्फ फर्केर उसले सुनायो, ‘तपाईँले यसविषयमा चिन्ता लिनुपर्दैन । यसको सबै जिम्मा म लिन्छु ।’
नभन्दै उसको आर्थिक सहायतामा मेरो ‘पिङ्गाई’ पुस्तक प्रकाशित भयो ।
पाण्डुलिपि
‘पिङ्गाई’ पुस्तक प्रकाशित हुने सन्दर्भबारे मैले कवि मित्रद्वय सुन्दर शिरीष र छम गुरूङसमक्ष पेश गरेँ ।
उहाँहरू दुवैजना खुसी हुनुभयो ।
र, मित्र छम गुरूङले सुन्दर अक्षरमा ‘पिङ्गाई’को पाण्डुलिपि कापीमा सारिदिनुभयो भने सुन्दर शिरीषले ‘पिङ्गाई’को लागि सुन्दर आवरण र भूमिका लेखिदिनुभयो ।
थाहा
काठमाण्डूको वसन्तपुरमा भेट्ने क्रममा मैले तामाङ मातृभाषी लेखक बुद्ध योन्जन लामासमक्ष ‘पिङ्गाई’ प्रकाशनबारे सुनाएँ ।
उहाँले ‘पिङ्गाई’ पुस्तक प्रकाशन–पूर्व ‘तामाङ डाजाङ’ (२०६७ चैत) साहित्यिक मासिकको एउटा अङ्कमा यसरी ‘थाहा’ प्रकाशित गर्नुभएछ–
‘तामाङ स्रष्टा ईश्वर
थोकरको गजलसङ्ग्रह पिङ्गाई
छिट्टै बजारमा आउँदै छ ।’
किनभने, उनले त्यत्रो प्रेमले दिएको त्यो किताब मेरै पहिलो कृति थियो– ‘पिङ्गाई’ नामको ।
विमोचन
‘पिङ्गाई’को विमोचन नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाण्डूमा जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जनको प्रमुख आतिथ्यतामा तामाङ मातृभाषी कवि सन्चु ब्लोन तामाङको ‘को–म्हेन्दोन्हाङला छिगकादे’ र तामाङ मातृभाषी कविहरूको संयुक्त कवितासङ्ग्रह ‘याङताम म्हाइबान’सँग संयुक्तरूपमा भएको थियो ।
त्यसकार्यक्रममा; मेरा दुईजना छात्राहरू क्रमशः ज्ञानू माझी र मीना वाइबाको पनि गौरवशाली उपस्थिति रहेको थियो ।
‘पिङ्गाई’ विमोचनको सन्दर्भलाई लिएर मीनाले एकठाउँमा लेखेकी थिइन्, ‘… केही वर्षपश्चात् हामी अर्को विद्यालय गयौँ । त्यस बेलामा उहाँको भाइ तीर्थ साथीद्वारा उहाँकै भाइ अष्टमानसँग चिनाजानी भयो र विसं. २०६८ सालमा उहाँको पुस्तक लोकार्पणको अवसरमा हामीलाई निमन्त्रणा दिनुभयो । साथी ज्ञानू र म खुसीसाथ गयौँ । त्यहाँ जाँदा भाषाको केही समस्या भए पनि हामीलाई निकै नै रमाइलो भयो । उहाँले साहित्यमार्फत आफ्नो भाषा र संस्कृतिको जगेर्ना गरेको देख्दा हामीलाई निकै नै गौरव महसुस भयो ।
उहाँलाई देख्दा साँच्चै गुमेको मणि भेट्टिएजस्तो हामीलाई लाग्यो । उहाँ पनि हामीलाई देखेर धेरै खुसी हुनुभयो । त्यस पुस्तक लोकार्पण समारोहमा उहाँद्वारा रचित गजलसङ्ग्रह ‘पिङ्गाई’ पुस्तक हाम्रो हातमा पर्यो । हामी निकै खुसी भयौँ ।’
अनुभूति
म भक्तपुरको ताथलीमा थिएँ– एउटा कविगोष्ठीमा ।
दिउँसोपख; नाङसाल क्लब–नेपालको तत्कालीन अध्यक्ष हिक्मत सिं वाइबाको फोन आयो, ‘ईश्वरजी, यस वर्ष हामीले तपाईँको पिङ्गाई पुस्तकलाई सम्मानका लागि सम्झेका छौँ ।’
मैले स्वीकारेँ ।
‘पिङ्गाई’ प्रकाशित भएको केही समयपछि तामाङ मातृभाषी कवि सन्चु ब्लोन तामाङ र त्यसैगरी तामाङ मातृभाषी गजलकारद्वय रिना बम्जन र खोजराज गोलेसँगै ‘नाङसाल क्लब–नेपाल’बाट म सम्मानित हुनपाएको थिएँ ।
यो मेरो जीवनको पहिलो अनुभूति थियो ।
हुबहु
कवि मित्र जीवन खत्रीले कवि तथा गजलकार साथीहरूको माझमा एक दिन मेरो ‘पिङ्गाई’मा समावेश गजल ‘एला ङाला ङाम्तेला ह्रो हिन्ना ताम्सालिङ/सुख–दुःख साम्तेला ह्रो हिन्ना ताम्सालिङ …’लाई हुबहु वाचन गरेर सुनाइदिनुभयो ।
उहाँको त्यस क्षमताबाट अरू साथीहरू पनि प्रभावित हुनुभयो ।
कवि मित्र छम गुरूङले ठट्टा गर्नुभयो, ‘जीवनजीले त एउटा गजलमात्रै कण्ठग्र पार्नुभयो । ईश्वरजीका भाइबहिनीहरूलाई त पिङ्गाईभित्रका समग्र गजलहरू कण्ठग्र छन् ।’
नाम
धेरैवर्षको अन्तरालपछि एविकासित मेरो भेट भयो । उनी मेरी स्कुल जीवनको क्लासमेट थिइन् ।
भेटेलगत्तै उनलाई मैले ‘पिङ्गाई’ दिएँ ।
उनी खुसी भइन् र मतर्फ फर्केर सुनाइन्, ‘अक्कल, कतै यो पुस्तक तिमीले मेरो नाममा त लेखिएका होइनौ ?’
म अक्क न बक्क भएँ ।
पछि बुझ्दा थाहा भयो; उनको नाम पनि ‘पिङ्गाई’ रहिछन् ।
किताब
‘अक्कल, मसँग एउटा किताब छ ।’ घरबेटी बाकी छोरीले मुस्कुराउँदै भनिन्, ‘म तिमीलाई उपहार दिन्छु ।’
यति भनेर उनी हस्याङफस्याङ गर्दै माथि उक्लिइन् र हत्त न पत्त एउटा किताब मेरो हातमा थमाइदिँदै उनले फेरि मुस्कुराउँदै भनिन्, ‘यसलाई जतनका साथ राख्नुहोला ।’
म आश्चर्यमा परेँ ।
किनभने, उनले त्यत्रो प्रेमले दिएको त्यो किताब मेरै पहिलो कृति थियो– ‘पिङ्गाई’ नामको ।
ishworthokar@gmail.com