रातको निद्रा दोहाको एयरपोर्टमा


अमेरिकी दूतावासबाट पाँच वर्षका लागि मैले र समिताजीले मल्टिपल भिसा प्राप्त गरेको जानकारी पाएपछि लगभग अमेरिका जाने निश्चितजस्तै भएको थियो । धेरै नेपालीहरू अमेरिका गएका छन् फेरि पनि अमेरिकाको भिसा लाग्न त्यति सहज छैन । यो समयमा अमेरिका हरेक मानिसको सपना भएको छ । नेपालीहरूका लागि त झन महासपना । त्यसैले हामीप्रति अमेरिका दूतावासले गरेको विश्वासलाई सहृदयका साथ ग्रहण गर्दै हार्दिक धन्यवाद दियौ मनैदेखि ।

भिसा लागेको पासपोर्ट प्राप्त भएपछि अमेरिका जाने सन्दर्भमा हामीबिच सरसल्लाह हुन थाल्यो । सामाजिक जिम्मेवारीले घरका सदस्यसँग आवश्यक सल्लाह गर्न पनि समय दिँदैन । मिलाउन पर्छ । सल्लाहकै सन्दर्भमा समिताजी केही समय उतै बस्ने निधो भयो । म भने २/३ महिनापछि फर्कने भएँ । अहिलेको जम्माजम्मी सरसल्लाह त्यति नै थियो । कान्छी छोरी साहिरा ८ कक्षामा बनेपास्थित प्रहरी स्कूलमा पढ्छिन भने कान्छो छोरा साइरस स्थानीय एक बोर्डिङ स्कुलमा पढ्दैछन् । चालु शैक्षिक सत्रबाट दुवैलाई एउटै स्कुलमा राखेर मात्र अमेरिका जाने निधो भयो । हामीले त्यसै गर्‍यौँ । तर बाआमै अमेरिका गएर आमा चाहिँ उतै बस्दा छोराछोरीलाई कस्तो लाग्ला भन्ने चिन्ता मभित्र पनि थियो र समिताजीभित्र पनि । तर पनि हामीले पाइला चालिसकेका थियौँ । आजभोलि आजभोलि भन्दा भन्दै समय बितेको पत्तै भएन । साउन लागि सक्यो । भर्खर नयाँ घरमा सरेका थियौँ । मनभित्रको धार्मिक आस्थाले घरमा पूजा गर्न पर्छ भनिरहेको थियो । त्यसैले घरमा लाखबत्ती बाल्नुका साथै नारायण पूजा गर्‍यौ । बिचको समयमा विभिन्न धार्मिक स्थलको दर्शन र पूजापाठ गर्ने कामलाई पनि निरन्तरता दिँदै गयौं ।

अमेरिकाका लागि टिकट खरिद गर्न छोटो समयका लागि चर्को रकम लाग्ने रहेछ । श्रावणको पहिलो हप्ता नै काठमाडौँको बसुन्धारा स्थित ट्राभल नेपवे एन्ड टुर्स प्रा.लि.मा पुगेर  टिकटको व्यवस्था गर्‍यौँ । उडान थियो भाद्र ६ गतेको । आवश्यक खर्चको पनि चाँजो मिलाउनु थियो; मिलायौँ । दिन नजिकिँदै थियो र व्यस्तता पनि त्यतिकै बढ्दै थियो । अमेरिका बस्दा आवश्यक पर्ने लुगाफाटा, औषधि तथा अन्य केही वस्तुको जोहो पनि गर्नु थियो ।

लामो समयदेखि म नशासम्बन्धी समस्याबाट पीडित छु । त्यसैले महिनाको एक पटक डाक्टरसँग चेकजाँच गराउँदै आइरहेको छु । औषधि सेवनले निकै सुधार पनि भएको छ । अमेरिका गएपछि समयमा डाक्टरसँग फलोअप गर्न नपाइने भयो । मलाई परिस्थितिले नै चिन्तित बनाइरहेको थियो । श्रावणको दोस्रो साता डाक्टरबाट चेकजाच गराएँ र आफ्नो समस्या राखे । उहाँले तीन महिनासम्मका लागि औषधि लेखिदिनु भयो । म ढुक्क भएँ । मन रमायो । अब विशेष कुनै परिस्थिति परेन भने मलाई तीन महिनासम्म नशाको समस्याले नपिरोल्ने भयो ।

आवश्यक सामानहरू जम्मा गरेर हामी नुवाकोट लागेका थियौँ ।  सबै सामान काठमाडौ‘ घरमै थियो । समिताजी र म नुवाकोटबाट ४ गते काठमाडौँ आयौँ । त्यसो त झोरको बाटो खुलेपछि काठमाडौँ त्रिशूलीको यात्रा जम्माजम्मी दुई घण्टाको मात्रै भएको छ । अहिले धेरै मानिसहरू त्यही बाटोको प्रयोग गर्छन् । हामी पनि प्रायः त्यही बाटो हिँड्छौ स्कुटीमै । त्यसैमा सजिलो लाग्छ । दुई घण्टा लाग्दा पनि छिटै पुगेजस्तो लाग्छ । सायद सबै चिरपरिचित ठाउँ भएर होला । दुई लेनको कालो पत्रे पक्की सडक छ । कतैकतै ढलान बिग्रिएको छ । यसपालिको बर्खामा भने बाढी र पहिरोले अलि बढी क्षति पुर्‍यएको छ । तै पनि यात्रा आरामदायी नै हुन्छ । पहिले हिलाम्मे र ठाउँठाउँमा खाल्टा खुल्टीका कारण काठमाडौँ पुग्न चार/पाँच घण्टा लाग्दथ्यो । बाटोका कारणले धेरै सवारी साधन दुर्घटना पनि हुन्थ्यो । हाल पक्की मोटर बाटोका कारण त्यस्तो अप्रिय घटना कम भएको छ ।

नुवाकोटबाट झोर हुँदै टोखासम्मको मोटरबाटो खुल्ला हुनाले ट्राफिक जाप खासै हुँदैन । टोखाबाट अघि बढ्दा साघुरो बाटो र गाडीहरूको भिडभाडले गर्दा असहज हुने गर्दछ । हुन त यो काठमाडौकै विशेषता बनिसकेको छ । सामाखुसी, माछापोखरी, नेपालटार, शेषमति हुँदै हामी हाम्रो बासस्थानमा आइपुुग्यौँ । हप्ताको दुई/तीन पटक ओहोर दोहोर गर्दा पनि केही लाग्दैनथ्यो । यसपालि हाम्रो यात्रा अमेरिकातिर थियो त्यसकारण सधैँ हिँडेको बाटो पनि खास लागिरहेको थियो । हामी सकुशल घरमा आइपुग्यौँ ।

भोलिपल्ट अर्थात् भाद्र ५ गते आफन्त साथीभाइहरूसँग भेटघाट र छुटफुट सामानको व्यवस्थापन गर्‍यौँ । त्यस दिन साँझपख अमेरिकामा बस्ने छोरी श्रीया र ज्वाई विकाससँग जहाजमा प्रस्थान गरेदेखि अवतरण नहुन्जेलसम्मको बारेमा भलाकुसारी गर्‍यौ लामै समय । स्वदेशमै जहाज अथवा हेलिकप्टर नचढेको त होइन तर घन्टौ घन्टा जहाजको यात्रा पहिलो पटक हो । मनमा कुतुहलता जाग्नु स्वभाविकै हो । हामी जोहीपोइ आफ्ना जीवनका सुखदुःखका भलाकुसारी गर्‍यौं केही समय । रात छिपिनै लागिसक्यो खानपिन गर्‍यौँ । दिनभरको हिँडाइले ज्यान थकित भएको थियो । त्यसैले निन्द्रा पनि राम्रो लाग्यो ।

भाद्र ६ गते बिहानैदेखि आफन्त र साथीभाइहरूले फोनबाट अमेरिका यात्राको शुभकामना दिन थाले । ११ बजे केही साथीहरू तथा आफन्तहरू घरमै पनि जम्मा हुनुभएको थियो । कुराकानी गर्दा गर्र्दै समय गएको थाहै भएन । ओहो ! दुई बजिसकेछ । अब हिँड्न ढिला हुन लाग्यो । तयारी सबै भएकै थियो । माइला दाजुभाउजू घनश्याम श्रेष्ठ र कल्याणी श्रेष्ठको हातबाट माला खादा र सगुन दिएर शुभ साइत गर्‍यौँ ।

जहाजको उडान साँझको ६ बजे छ । उडानभन्दा तीन घण्टाअगाडि नै एयरपोर्ट पुगिसक्नु पर्नेछ । घरमै दिउँसोको साढे दुई बजिसकेछ । नुवाकोटबाट मित्रहरू सुरेन्द्र मुडभरी, रामराजा बोगटी,  कृष्ण न्यौपाने, प्रकाश साडौला, सञ्जिव थपलिया, रामचन्द्र ढुङ्गेल, रामचन्द्र प्याकुरेल आएका थिए । एयरपोर्ट जान मित्र कृष्ण न्यौपानेको निजी गाडी र नपुगलाई ट्याक्सीको व्यवस्था गरेका थियौं ।

काठमाडौँको बाटो त हो मोटर गाडीको चापले ठाउँठाउँमा जामले गर्दा ढिला होला जस्तो भयो । जाम छिचोल्दै अगाडि बढ्ने क्रममा चव्रmपथमात्र पुगेका थियौ पानी पर्न सुरू भयो । पानी दर्केर पर्‍यो भने गाडीको पछाडि राखेको लगेज झोलाहरू भिज्ला भन्ने डर भयो । यो शुभ सङ्केत हो भन्दै थिए सुरेन्द्र मुडभरी सरले । गौशाला पुगेपछि पानी पर्न छोड्यो । धन्य भगवान भन्दै नजिक रहेको पशुपति नाथलाई सम्झेँ । पशुपतिनाथ मन्दिर परिसरमा धुँवा उडेको देखिँदै छ । घाटमा धुँवा उड्नुको अर्थ हो कसैको जीवन सकिएको छ । मन भावुक भयो । मान्छेको चोला जन्मेपछि मर्नुपर्छ । मन आफैँ बुझ्यो । लास जलेको धुँवाको मुस्लो बाक्लै छ । वातावरण नै प्रदुषित पार्ने । लास जलाउनका लागि विद्युतीय साधन प्रयोग गरेमा वातावरण प्रदुषित नहुने भन्दै थिए प्रकाश साडौला । सम्बन्धित सरोकारवालाहरूले कहिले कार्यान्वयनमा ल्याउलान् प्रकाश चिन्ता व्यक्त गर्दै थिए ।

एयरपोर्ट पुग्दा दिउँसोको तीन बजेर २० मिनेट गइसकेछ । हामीले ग्रुुपमा फोटो खिच्यौँ सम्झनाका लागि । ट्रली लिएर सामान राख्यौँ । माइकले फुकिरहेको थियो कतार एयरको यात्रुलाई प्रवेश गर्न ।  विमानस्थलभित्र प्रवेश गरेपछि लगेज जोख्ने र चेकजाँच गर्दो रहेछ कडाइका साथ ठाउँ–ठाउँमा । चेकजाच विमानस्थलका कर्मचारीका साथै नेपाल प्रहरीका सुरक्षाकर्मीद्वारा पनि हुँदो रहेछ । हामीले दिउँसो साँढे चार बजे विमानस्थलको गेट नं. ६ मा पुनः टिकट, पासपोर्ट र ब्याग चेकजाच गरायौँ । अब विमान चढ्ने काममात्र बाँकी रह्यो ।

विदेश जानेहरूको भिडभाडले गर्दा बस्नका लागि कुर्सी खाली थिएन । धेरै यात्रुहरू उभिइरहेका थिए । प्रतीक्षालयमा डेढ घण्टा बस्यौँ । आजको दिनमा दुई हजारदेखि बाइस सय सङ्ख्यामा विदेश जाने नेपालीहरूको लर्को लागेको देखिन्छ । प्रतीक्षालयमा बसेका बेला थोरै समय केही यात्रुसँग भलाकुसारी गरेको थिएँ । थोरै भिजिट भिसामा र धेरै वैदेशिक रोजगारीका लागि जान लागेको जानकारी पाएँ । राज्यको कमजोर आर्थिक अवस्थाले गर्दा नै विदेशतिर जान बाध्य बनेको भलाकुसारीको क्रममा सुनियो । प्रतीक्षालयमा यात्रुको सुविधाका लागि चियापानी, नास्ताका लागि चिया, कफी र जङ्गफुडको व्यवस्था रहेछ । भोक मेटाउनका लागि हामीले केही खानेकुरा खायौंँ । तर खानेकुराको दररेट भने महङ्गो रहेछ । त्यस्तै, यात्रुहरूका लागि शौचालयको पनि व्यवस्था राम्रो छ । शौचालय सफा, सुग्घर देखिन्छ । घण्टा घण्टाको अन्तरालमा शौचालय सफा गरेको देखियो– कामदारहरूले ।

विमानस्थलभित्रको बसाइ खासै लामो र दिक्दार लागेन । विमानस्थल भित्रका कर्मचारी, सुरक्षाकर्मीहरूको आत्मीयताले मन छोयो । अपाङ्ग भएका यात्रुहरूका लागि कर्मचारीले ह्विल चियरमा राखेर गुडाउँदै विमानस्थलसम्म पुर्‍याउने व्यवस्था झनै राम्रो लाग्यो । साँझ ५:४५ बजे अन्तिम प्रवेश द्वारबाट बसको सहायताले कतार एयरलाइन्सको जहाजमम्म पुर्‍याइयो । जहाज ठुलो थियो । पालै पालो टिकट देखाउँदै जहाजमा प्रवेश गर्‍यौँ । हाम्रो जहाजको सिट थियो २२ जी र २२ एफ । जहाजभित्र कर्मचारीहरूको सहयोग प्रंशसा गर्न लायक छ ।

जहाज ६ बजे साँझ उड्ने समय तय भएको थियो तर भारतको आकाशमा समस्या आएकाले एक घण्टा समय सर्‍यो । रातको सात बजे जहाज उड्ने तरखर भयो । यात्रीहरूलाई सूचना आइरहेको थियो– आफ्नो सिटबेल्ट बाँध्नुुहोस् । कानमा एयरफोन लगाउनुहोस् । जाडो भएमा कपडा ओड्नुहोस् । विमानका एक कर्मचारी माइकिङ गरिरहेको थिए । जहाजको सिटको अग्र भागमा टि.भी.को क्रिन राखिएको छ । यात्रुहरूमध्ये कोही गीत सुन्न थाले कोही फिल्म हेर्न । कोही चाहिँ गेम खेल्नमा व्यस्त देखिन्छन् । जहाजले भुइँ छोडेर गति नलिँदासम्म सिटको बसाइ असहज लाग्ने रहेछ । जहाजले आफ्नो मार्ग लिएपछि सिटमा बसेको अनुभूति सामान्य लाग्यो । यात्रुलाई खाजा पानीको व्यवस्था टिकट काट्दाको समयमा नै अडर टिपाउनु पर्ने रहेछ । त्यसै अनुसारको खाना खाजाको व्यवस्था गरिएको हुँदो रहेछ ।

सिटको पकेटमा जहाजको यात्रा गर्दा के गर्ने नगर्ने भन्ने सचेत गराउने चित्राङ्कनसहितको सूचना राखिदिएका छन् । यसबाट विमानको यात्रा गर्दाको बखतमा सरल र सहज रूपमा बुझ्न सकिँदो रहेछ । जहाज उडेको १० मिनेटमा १५ हजार फिटमाथि पुगेको सूचना क्रिनमा देखियो । काठमाडौंबाट कतार पुग्न साढे चार घण्टाको समय लाग्ने रहेछ । जहाजको उडाइ जति उचाइमा गयो त्यति चिसोपन बढ्ने रहेछ । प्रवृmति हावा र कृत्रिम एसीले बेजोड जाडोको अनुभूति भयो । जहाजको एउटै गतिका कारणले कहाँ छु भन्ने खासै थाहा नहुने रहेछ । जहाँ बस्यो त्यहीँ हो कि जस्तो पनि लाग्ने रहेछ । जहाज जति अगाडि बढ्यो त्यति नै उचाइ लिने रहेछ । जहाजको झ्यालबाट बाहिर तलतिर हेर्दा केही पनि देखिएन । सायद रातको समय भएर होला । बादललै बादलको घुँइचो । अन्धकारै अन्धकार देखिरहेका छौँ । विमानभित्र भने अर्कै संसार छ; उज्यालो संसार । बादलभन्दा जहाज निकै माथि भएकोले मार्ग प्रशस्त हुँदो रहेछ । यात्रुहरू कोही निदाइरहेका छन् कोही क्रिनमा आँखा लगाइरहेका छन् । खाना खानका लागि माइकिङ भयो । विमान कर्मचारीहरूले अडरअनुसारको खानेकुरा सिटमा ल्याइदिए । चिल्लो रहित खानेकुरा । हाइजेनिङ अर्गानिकजस्तै लाग्ने खानेकुरा । स्वाद लिएर खायौँ । अतिथिको न्यानो सत्कार न्यानो प्रशंसायोग्य छ । चार हजार फिट अग्लो उचाइमा जहाज दौडिरहेको छ । कहिले खोलाको जस्तो  आवाज त कहिले मोटरगाडी स्टार्ड गरेको जस्तो आवाज कानमा आइरहेको थियो । कहिलकहीँ त कान नै टालिएला जस्तो पनि लाग्यो । यात्राको समय कानमा एयरफोन अनिवार्य लगाउनु पर्ने रहेछ । खानापान गरेपछि सुतेको मात्र थिएँ भुसुक्कै निदाएछु । रातको ११ बजे माइकिङले गर्दा निन्द्राबाट बिउँझिएँ । ४० मिनेटको समयमा जहाज दोहा कतार पुगिन्छ भन्दै थिए माइकबाट । विमानका कर्मचारीहरूले जहाजको बत्ती सबै बालेर यात्रीहरूलाई दोहा आउन लागेको जानकारी दिइरहेका थिए । दोहा कतिको गन्तव्यस्थल थियो भने कतिको पारगमनमात्रै । पारगमन हुनेले अब जहाज बदल्नुपर्ने छ र आआफ्ना गन्तव्यका लागि रवाना हुनुपर्ने छ ।

यात्रुहरूलाई विमान कर्मचारीहरूले चिसो तातो के खाने हो ! सोधे । जसलाई जे खान मन लागेको थियो खाए । म सिटबाट उठेर लामबद्व भइ शौचालय गएँ र रिफ्रेस भएँ । अब हामी कतारको दोहा एयरपोर्टमा झर्ने पर्खाइमा बस्यौँ । एयरपोर्ट नजिकिँदै छ । बाहिर कति गर्मी छ अहिले नै थाहा भएको छैन तर विमानभित्र चलाएको एसीले जाडो हुनुका साथै टाउको दुखिरहेको छ । एयरपोर्ट आउन लागेकोले जहाज तलतिर झर्दै छ भन्ने म अनुमान लगाइरहेको छु । एकैछिनमा जहाज थर्केको भान भयो । जहाजले कतारको भुइँ छोयो । बाहिर झलमल्ल उज्यालो छ । झिलिमिलि बत्ती बलेको छ एयरपोर्टभरि । रातको ११:४५ मा कतार आइपुग्यौं ।

जहाजबाट बाहिरिँदा कतारको भूमी निकै नै तातो लाग्यो । यतिखेर कतारको तापक्रम ४५ डिग्री सेल्सियस रहेछ । आगो बालेको अँगेना छेउ बस्दाको अनुभूति भयो । यस्तो गर्मी त जेठ–असारतिर हाम्रो तराईमा मात्रै हुन्छ ।

ल्यान्डिङ स्थलबाट एयरपोर्टसम्म लैजानका लागि गाडी आयो । हामी गाडी चढ्यौँ । गाडीमा एसी भएकाले शीतलताको अनुभूति भयो । दोहा एयरपोर्ट निकै ठुलो रहेछ । २४ घण्टा नै खुल्ला रहने  यस एयरपोर्टबाट धेरै देशहरूमा उडान छुट्ने गर्दछ । एयरपोर्टभित्र झिलिमिलि बत्ती अनि पसलै पसल छ । त्यहाँ सबै खाले रसामानहरू पाइन्छन् सायद तर हामीलाई सामान किन्नु थिएन त्यसैले खासै चासो पनि भएन । यात्रु बस्नका लागि कुर्सी, मेच पर्याप्त मात्रामा छ । यताउति हिँड्न, उक्लन र झर्न लिफ्टहरूको व्यवस्था गरिएको छ । एक प्रकारले भन्ने हो भने एयरपोर्ट धेरै व्यवस्थित छ र आधुनिक विकासको एउटा नमुना त्यहाँ हेर्न सकिन्छ । दोहा एयरपोर्टमा चार घण्टाको पारगमन (ट्रान्जिट) छ ।

रातको समय भएकाले साढे चार घण्टाको विमानयात्रा भए पनि निन्द्राले च्यापेको थियो । चेकजाच गर्ने प्रवेशद्वारको मेचमा यात्रुहरू सुतिरहेका देखिए । हामीले पनि प्रवेशद्वारमा गई सोधपुछ गर्‍यौँ र अरू सुतेजस्तै सुत्यौँ । केही समय भए पनि आँखाको काँडा मार्‍यौँ । मानिसहरूको कोलाहलका बिचमा पनि हाम्रो निद्रा मिठो थियो ।

(लेखक नेपाली काँग्रेस नुवाकोटका सचिव हुन् ।)

तपाईको प्रतिक्रिया