पर्साको तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या

सैलुङअनलाइन
सैलुङअनलाइन सम्वाददाता
63 Shares
पर्सा

वीरगञ्ज पर्साको ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सीमानामा रहेको तिलावे पुल क्षतिग्रस्त हुँदा सर्वसाधारणलाई आवतजावतमा गर्न समस्या भएको छ ।

पर्सा जिल्लामा आएको वर्षात्को पानीको बहावले तिलावे पुलको फाउण्डेसनसँगै रहेको स्पान पिलरलाई क्षतिग्रस्त बनाएपछि पुल जोखिमयुक्त बनेको हो ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले तिलावे पुलको फाउण्डेसनसँगै रहेको स्पान भत्किएसँगै सवारीसाधन चलाउन नमिल्ने अवस्थामा पुगेको बताए । “पहिलादेखि नै तिलावे पुल जीर्ण अवस्थामा थियो । अहिले पुलको फाउण्डेसनसँगै रहेको पिलरमा चिरा परेर भत्किने अवस्थामा छ”, उनले भने, “तिलावे पुलबाट हुने आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको छ । सरोकारवाला निकाय सिँचाइ विभाग र सडक विभागलाई पनि मौखिक रुपमा जानकारी गराइसकेका छौँ ।” प्रमुख पटेलले गण्डक नहरसँगै ५० वर्षअघि यो पुलको संरचना निर्माण गरिएको बताए ।

सडक सुधार तथा विकास योजना बाराका प्रमुख विनोद साहले उक्त खण्डको सडक स्तरोन्नति आफूले गरे पनि पुल निर्माणको जिम्मेवारी भने नरहेको स्पष्ट पारे । “तिलावे पुल भत्किएको विषयमा सडक विभाग मातहतको पुल महाशाखालाई आवश्यक जानकारी गराउने तयारीमा छौँ”, उनले भने, “सडक विभागबाट आवश्यक बजेट आएको खण्डमा भत्किएको पुलको निर्माण अघि बढाउनेछौँ ।

उनले बाराको सिम्रनगढदेखि पर्सा जिल्लाको अन्तिम विन्दुसम्म करिब ५९ किलोमिटर सडक स्तरोन्नति अघि बढाएको बताए ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले वर्षां देखिको जीर्ण पुल भएकाले पनि मर्मतसम्भारभन्दा पनि नयाँ पुल निर्माण गर्दा राम्रो हुने बताउछ । “स्पान भत्किएकाले पनि नयाँ निर्माण आवश्यक छ”, उनले भने, “पुल महाशाखासँग प्रविधि र जनशक्ति दुवै भएकाले पनि मर्मतसम्भार गरेर पनि चलाउन सक्ला कि भन्ने लाग्दछ ।”

तपाईको प्रतिक्रिया