काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता–२०८१ हुने भएको हो ।
संस्थाका अध्यक्ष शान्त उदासले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मातातीर्थ चौरमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले प्रतियोगितामा काठमाडौँ उपत्यकाका साथै धादिङ, मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोकलगायत जिल्लाका खेलाडीको सहभागिता रहने बताए ।
प्रतियोगितामा सहभागी हुने टोलीले असोज ४ गतेसम्म गर्न सक्ने अध्यक्ष उदासले बताए । प्रतियोगितामा प्रथम हुने टोलीले रु चार लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले दुई लाख ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र पाउनेछन् ।
विसं २०७९ देखि सुरु गरिएको प्रतियोगितामा पहिलो वर्ष ३० र दोस्रो वर्ष २४ टोलीको सहभागिता रहेको थियो ।