नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाह्य लगानी जुटाउनका लागि सरकारले उपर्युक्त वातावरण सृजना गर्नुपर्ने सुझाव दिएका छन् ।
गैह्र आवासीय नेपालीलाई मात्र नभइ विदेशीहरु पनि नेपालमा लगानी गर्नका लागि पूर्वाधार बनाउनुपर्ने नेता नेपालको धारणा थियो । ‘नेपालमा घुम्नको लागि होस्, लगानी गर्नको लागि होस्, विकास निर्माणमा लगानी गर्न होस्, नेपाल उत्तम गन्तव्यस्थल बनाउनुपर्छ । यसका लागि हामीले सबै न्यूनतम पूर्वाधारहरु तयार गर्नुपर्छ, अनुकूल वातावरण सिर्जना गर्न सक्नुपर्ने नेपालले सुझाए ।
समृद्ध नेपाल निर्माणमा एनआरएनहरुको भूमिका विषयमा सञ्चार केन्द्र नेपालले शनिवार काठमाडौंमा गरेको कार्यक्रमका प्रमुख अतिथिको हैसियतले नेता नेपालले माथिको भनाइ व्यक्त गरेका हुन् । उनले सडक होस् या सामुन्द्रिक बाटो, विकासका लागि मुख्य आधार हुने भएकाले सरकारले त्यसलाई प्राथमिकता दिनुपर्नेमा जोड गरे ।
एनआरएनमा शुक्रबार मात्रै निर्वाचित कुमार पन्तसहितको प्यानललाई बधाई दिंदै स्वदेशमा समृद्धिको अभियानमा सघाउन आग्रह पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै दक्षिण कोरियाका एनआरएनए नेता डा.देवीबहादुर बस्नेतले अहिले स्थायी सरकार भएकाले बाह्य लगानी भित्र्याउने वातावरण बनाउन सुझाव दिएका थिए ।उनले पहिले देशभित्रै समृद्धिको आधार खोजेपछि मात्रै बाह्य विकल्पमा लाग्न सरकारलाई आग्रह समेत गरेका छन् ।
त्यस्तै एनआरएनए अष्ट्रेलियाका नेता देवबहादुर गुरुङले नेपाल र नेपालीमाझ आफूहरु जहाँ रहेपनि नेपालको सेवा गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा एनआरएनए जापानका नेता महेन्द्रकुमार श्रेष्ठ, सञ्चार केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौंलागाईसहितले एनआरएनएको भूमिकाबारे बोलेका थिए ।