तामाङ समुदायको सांस्कृतिक पहिचानलाई समर्पित एक विशेष गीत ‘रोशी खोला दुम्जामा’ हालै सार्वजनिक भएको छ। यस गीतले तामाङ समुदायको परम्परा, प्रेम, र प्राकृतिक सौन्दर्यलाई जीवित राख्दै सांगीतिक जगतमा चर्चा पाउँदैछ।
गायक रोज मोक्तानको पछिल्लो कोशेलीमा रोशी खोलालाई केन्द्रित रहेर माया र जोवनलाई मिठो स्वरमा व्यक्त गरिएको छ।
गीतमा स्थानीय बाजा, डम्फु र मादलको प्रयोगले तामाङ जातिको मौलिकतालाई जीवन्त पार्दछ। गायक तथा गीतकारले तामाङ भाषामा ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यलाई गीतको माध्यमबाट जनमानसमा पुर्याउन सफल भएका छन्।
गीतको भिडियोमा पनि तामाङ समुदायको पहिरन, भेषभूषा र संस्कृति झल्काउने प्रयास गरिएको छ। भीमफेदी गाइज र याङ्की दोङको प्रस्तुतिले गीतलाई अझ सजीव बनाएको छ। बरिष्ठ गायक मोक्तानको अभिनयले गीतलाई बिषेश थप मनोरञ्जन बनाएको छ ।
भिडियोमा खिचिएका दृश्यहरूले दर्शकलाई गाउँको सौन्दर्यमा हराउने अवसर प्रदान गर्दछ।
भिडियोलाई पवन सुलिङको कोरियोग्राफर, दिनेश सुवेदीको छायाँङ्कन र निर्मल कुमार लामाको निर्देशन रहेको छ ।
गायको मोक्तानको कलकत्ते काईयो, सिसम तामाङ सितोबा, हेलम्बुको बजारमा, झमझम ईष्टाकोट, हिउंपर्यो फुरुरु, आँखको रमझम, यानिमाया लगायत थुप्रै चर्चित गीतका गायक रचनाकार तथा संगीतकार हुन ।
‘रोशी खोला दुम्जामा’ गीतले न केवल तामाङ समुदायलाई गर्वको अनुभूति दिलाउँछ, तर सबै नेपालीलाई सांस्कृतिक विविधताको महत्त्व बुझाउने एउटा उत्कृष्ट साधन बन्न सक्छ।
बरिष्ठ गायक रोज मोक्तानले तामाङ समुदायका आफ्नो सांगीतिक यात्रामा थुप्रै लोकप्रिय गीतहरू प्रस्तुत गरेका छन्। उनका गीतहरूले तामाङ समुदायको भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्दै नेपाली संगीत क्षेत्रमा पनि राम्रो पहिचान बनाइसकेका छन् । उनले गीतकार मनोज घिसिङको शब्द सिसम तामाङ सितोबा… बाट गायन प्रारम्भ गरेका थिए ।
रोज मोक्तानका गीतहरूले विशेषगरी तामाङ समुदायका मानिसहरूमा गर्व र आफ्नोपनको भावना उत्पन्न गर्छन्। उनका गीतहरूमा प्रयोग गरिएका तामाङ बाजाहरू, भाषाशैली र सांस्कृतिक तत्वहरूले उनलाई नेपाली संगीतमा एक विशिष्ट स्थान दिएको छ।