डाँसे खोलाको मोटरेवल पुल बनेपछि स्थानीयमा खुसी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
574 Shares
दोलखा

दोलखाको शैलुङ गाउँपालिका वडा नं १ र सिन्धुपाल्चोकको लिसंखुपाखर वडा नं १ जोड्ने डाँसेँ खोलाको मोटरेवल पुल निर्माण सम्पन्न भएको छ ।

शनिवार स्थानीय सरोकारवालाहरूको आयोजनामा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा बागमती प्रदेश पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काबाट पुल उद्घाटन गरिएको हो ।

मोटरेवल पुल उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व मन्त्री खड्काले पुल निर्माण पश्चात् स्थानीयमा देखिएको खुसीयाली कुनै ठुलो विजयोत्सव भन्दा कम नरहेको बताए ।

‘यस खोलाले बगाएर आफन्त गुमाएका परिवारजनले पुल उद्घाटन कार्यक्रममा प्रस्तुत गरेको भावना असाध्यै मर्मस्पर्शी थियो, पूर्व मन्त्री खड्काले भने, ‘पुल निर्माण पश्चात् स्थानीयमा देखिएको खुसीयाली साँच्चिकै ठुलो विजयोत्सव जस्तो देखिन्थ्यो ।’

पूर्व मन्त्री खड्काकै विशेष पहलमा करिब ६ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरी पुल निर्माणको कार्य सम्पन्न भएको हो । २०७९ साल फागुन ५ गते पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोक र भीमेश्वर शिव खिम्ती जेभी बीच ठेक्का सम्झौता भई निर्माण कार्य सुचारू भएकोमा पुलको निर्माण समयमै सम्पन्न भएको छ।

उनलाई उद्घाटन समारोहमा स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

उद्घाटन समारोहमा नेकपा माओवादीका नेता शंकर लामा, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा, शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठ, शैलुङ–१ का वडा अध्यक्ष वीरबहादुर घतानी, वडा नं १ का पूर्व वडाध्यक्ष विर्ख मोक्तान लगायतका उपस्थिति रहेका थिए ।

यो पुल निर्माण भएपछि दुधपोखरी र रामेछाप जाने स्थानीयका लागि सहज भएका छन् । बर्खाको समयमा खोला बढ्दा त्यहाँबाट गाडी जान सक्ने अवस्था थिएन । मोटरेबल पुल बनेपछि हिउँद र बर्खाको समयमा बस सहजै गुड्न सकिनेछ ।

यो पनि

तपाईको प्रतिक्रिया