कुमारी लामाको ‘दर्ज्यु संलाप’ लोकार्पण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं

समालोचक एवं निबन्धकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दर्ज्यु संलाप’ शनिवार लोकार्पण भएको छ ।

शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रम आयोजना गरी लोकार्पण गरिएको हो ।

लोकार्पण समारोहमा लेखक लामासहित प्राध्यापक तथा संस्कृति चिन्तक अरुण गुप्तो, कवि, समालोचक विन्दु शर्मा र कवि, आख्यानकार एवं नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले सङ्ग्रहको संयुक्त रूपमा विमोचन गरेका हुन् ।

सङ्ग्रहमा लेखक लामाले भावनात्मक एवं तार्किक रूपमा आदिवासी पहिचान, श्रमिक वर्ग, सीमान्तकृत आवाजहरूलाई चित्रण गरेकी छिन् ।

सङ्ग्रहबारे बोल्दै भाषाविद् अमृत योञ्जनले निबन्ध सङ्ग्रहमा ताम्बा दर्शन र तामाङ मूल जरोतिर फर्किएर सिर्जना गरिएका निबन्धहरू रहेको बताए ।

त्यस्तै, महाप्रबन्धक बलले निबन्धहरूमा आत्मपरक ढङ्गले कथानात्मक लयमा पात्रका माध्यमबाट बलियो रूपमा विचार प्रस्तुत गरिएको सुनाए ।

यसै गरी कार्यक्रममा समालोचक शर्माले निबन्धमा अनुसन्धान, आर्थिक, सांस्कृतिक, ऐतिहासिक पाटोलाई वैचारिक रूपमा प्रस्तुत गरिएको बताइन् ।

प्राध्यापक गुप्तोले सङ्ग्रहभित्र रहेको चिन्तन र विचारहरू केवल खास समुदायको मात्र नभएर संग्रह समाजसँग सम्बन्धित रहेको सुनाए ।

लामाको यसअघि निबन्ध सङ्ग्रह ‘उज्यालो अन्धकार’ र ‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’ प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया