मस्जिद विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ६२ पुग्यो

सैलुङअनलाइन संवाददाता
0 Shares
अफगानिस्तान

अफगानिस्तानको नङ्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ६२ पुगेको छ ।

देशको पूर्वी भागमा पर्ने नङ्गाहर प्रान्तमा अवस्थित मस्जिदको छत नै खस्नेगरी भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन् । उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो । राष्ट्रसङ्घका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको सङ्ख्या ११ सय ७४ थियो ।

गत शुक्रबार प्रार्थना भइरहेका बेला विस्फोटन भएको बताइएको छ । उक्त विस्फोटन कसले गराएको भन्ने अँझै स्पष्ट भएको छैन । तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट (आइएस) दुवै समूह सक्रिय छन् ।

घटनामा परी कम्तीमा ३३ जना घाइते भएका प्रान्तीय प्रवक्ता अट्टौल्लाह खोज्ञानीले जानकारी दिए । प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमीटर टाढा हाँस्का मिना जिल्लामा रहेको मस्जिदमा विस्फोटन भएको हो । प्रत्येक्षदर्शीहरूले मस्जिदको छत खस्नुअघि ठुलो आवाजसहितको विस्फोटनको आवाज सुनेको बताएका छन् ।

विस्फोटनका बेला ३५०भन्दा बढी व्यक्ति मस्जिदमा रहेका स्थानीय बासिन्दा ओमार घोर्जाङ्ले बताए । उनले विस्फोटनमा परी केहीको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई एम्बुलेन्समा राखेर लगेको आफूहरुले देखेको जानकारी दिए ।

दर्दनाक घटनाप्रति संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय निकाय र विभिन्न देशहरुले चर्को आलोचना गरेका छन् । उनीहरुले यस्ता विभत्स घटनाले कसैको पनि हित नहुने भएकाले यस्ता क्रियाकलाप रोक्न आग्रह पनि गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका