मानिसले आफ्नो मनको भाव, विचार वा अनुभूति (क) बोलेर (ख) लेखेर र (ग) सङ्केतद्वारा व्यक्त गर्दछ। अनि, भाषालाई लेखेर व्यक्त गर्ने माध्यम हो- लेख्य चिन्ह। लेख्य चिन्हलाई ‘लेखिम’, ‘लेखन प्रणाली’ र ‘लिपि’ पनि भनिन्छ।
आजभन्दा ६ हजार वर्ष अगाडिदेखि नै मानव जातिको लिपि विकासको लागि सक्रियता रही आएको छ। लिपिको विकाससँगै मानव सभ्यताले अभूतपूर्व फट्को मार्यो। समग्र ज्ञानविज्ञान, क्रियाकलाप, अनुभव र अनुभूतिहरूलाई लिपिबद्ध गरेर हजारौं हजार वर्षसम्म भाव, विचार र अनुभूतिहरूलाई सुरक्षित राख्न सम्भव पनि भयो। प्राचीन कालका हाम्रा पूर्खाको धारणा वा विचार वा राजा अशोकको शासन कालबारे जान्ने प्रमुख आधिकारिक आधार लिपिवद्ध गरिएको सामग्रीहरू नै हो।
मानव उच्चार्य ध्वनि वा वर्णलाई लेख्ने काम लिपिले गर्छ। प्रारम्भमा मानवद्वारा ‘शब्द लिपि’को विकास भयो। शब्द लेख्ने कार्य विभिन्न चरणमा सम्भव हुनसक्यो। त्यसपछि क्रमशः अक्षर लिपि, वर्ण लिपि र ध्वनि लिपिको विकास भयो।
लेखनमा प्रत्येक उच्चार्य ध्वनि (वर्ण)को लागि एउटा छुट्टा छुट्टै लेख्य चिन्ह हुनु राम्रो मानिन्छ। पछिल्लो पुस्ताको रूपमा ध्वन्यात्मक लिपिको विकास भयो (उदा० अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला- आइपिए) र यसले त्यो काम गर्न सम्भव हुनसक्यो। प्राग्-ऐतिहासिक कालदेखि हालसम्म विश्वका विकसित र प्रचलित समग्र लिपिहरूलाई पाँच परिवारमा वर्गीकरण गर्न सकिन्छ :
(१) शब्द लिपि (logographic or word script) : मानव जातिले विकास गरेका लिपिहरूमध्ये पहिलो लिपि हो- शब्दलाई प्रतिनिधित्व गर्ने लिपि। यसका विभिन्न स्वरूप छन्। वाणाकार लिपि (cuneiforms), चित्र लिपि (pictograms), भाव लिपि (ideograms) वा अर्थ लिपि (radical) आदि लिपिले शब्द लिपिकै प्रतिनिधित्व गर्दछ। इ.पू. ३४००-३३०० वर्षको अगाडि वाणाकार लिपि अनि त्यसपछि चित्र लिपि हुँदै विचार व्यक्त गर्न भाव लिपिको विकास भयो।
शब्द वा शब्दिक लिपिमा एउटा सरल चित्रको माध्यमबाट सिङ्गो शब्दको प्रतिनिधित्व गरिन्छ। लेखनमा प्रयोग हुने कुनै चिन्ह र अङ्कहरू (१, २, ३, ९, १५ आदि) लाई पनि शब्द लिपिको उदाहरणको रूपमा लिन सकिन्छ। मिस्री लिपि (प्राचीन मिस्र), चिनी लिपि (चीनका मन्दारिन, कैन्टोनी) यस लिपिका उदाहरण हुन्। यी प्राचीनतम् लिपिहरू हुन्। नेपालमा यो लिपि प्रयोग भएको कुनै भाषा छैन।
(२) अक्षर लिपि (syllable script) : शब्द लिपिको विकास पछि अक्षर लिपिहरू देखा पर्यो। अक्षर लिपिको विकास ई. पू. छैठौँदेखि तेस्रो शताब्दिमा भएको मानिन्छ। ‘अक्षर’ शब्दभन्दा सानो र वर्णभन्दा ठुलो एकाई हो। उच्चारणको एक झोकालाई अक्षर (syllable) भनिन्छ। अक्षर वा आक्षरिक लिपिले सिङ्गो एउटा अक्षरको प्रतिनिधित्व गर्दछ। फोनेसियन लिपि, काताकाना र हिरागाना लिपि, चेरोकी लिपि यसका उदाहरण हुन्। नेपालमा यो लिपि प्रयोग भएको कुनै भाषा छैन।
(३) वर्ण-आक्षेरिक लिपि (alpha-syllabary/abugida) : अक्षर लिपिको विकास पछि इ. पू. तेस्रो शदीतिर वर्ण-आक्षेरिक लिपि देखा पर्यो। वर्णाक्षेरिक लिपि-चिन्हमा एकभन्दा धेरै वर्ण हुन्छन्, जस्तै; क वर्णमा क्+अ; त्र वर्णमा त्+र्+अ; ज्ञ वर्णमा (ज्+ञ्+अ) आदि। वर्णाक्षेरिक लिपिमा स्वतन्त्र रूपमा स्वर वर्णहरू पूर्णाकारमा हुन्छन्, जस्तै; अ आ इ उ ए ओ। र व्यञ्जन वर्णसँग टाँसिदा मात्रको रूपमा देखिन्छन्, जस्तै; ा ि ी ु ू े ै ो ौ)।
भारतीय महाद्विपका देखिएको पहिलो लिपि ‘अशोका ब्राम्ही’ लिपि हो (हे० Gai, G.S (1986:18-20) ‘Origin and nature of Ashokan Brahmi script’, Introduction to Indian Epigraphy, Mysore : Central Institute of Indian Languages)। यो लिपि अशोकाका स्तंभहरूमा प्रयोग भएका छन्। यस लिपिबाट देवनागरी, गुरूमुखी, तामिल, बङ्गाली, सम्भोटा, कैथी, रञ्जना, सिरिजङ्गा, बर्मी, थाइ, ख्मर, बाली, जावा आदि वर्ण-आक्षेरिक लिपिहरू विकास भए। वर्णाक्षेरिक परिवारका लिपिहरू देब्रेबाट दाहिनेतिर लेखिन्छन्। पछिल्ला कालमा डिको लेख्ने चलन चल्यो अर्थात् रेखा खिचिन्छ। यी लिपिहरू प्रायः कठ्य वर्णबाट पठन सुरु हुन्छ, उदा० क ख ग घ ङ, च छ ज झ ञ आदि। नेपालका सबै जसो रैथाने भाषा लेखनमा यस परिवारका लिपिहरू प्रयोग भइरहेका छन्।
(४) वर्ण लिपि (alphabetic script) : वर्ण लिपि इ. पू. दोस्रो शदीतिर देखा परेको हो। वर्ण लिपिमा स्वर वर्ण पूर्णाकारमा हुन्छ, मात्रको प्रयोग हुँदैन। लैटिन (रोमन), युनानी, अरबी (अरबी, उर्दु, फारसी, काश्मिरी), इब्रानी, सिरिलिक (रूस) लिपिहरूलाई यस लिपिका उदाहरणको रूपमा लिनसकिन्छ। यो लिपि लेख्दा शब्दको माथि डिको कोरिदैन। रोमन लिपिका a b c d आदि यसका उदाहरण हुन्। नेपालका रैथाने भाषाहरूको लेखनमा यस परिवारका लिपिहरूको प्रयोग भएको खासै पाइँदैन। सहज उपलब्धताका कारणले मोबाइल टाइपमा भने रोमन लिपिको प्रयोग हुने गर्दछ।
(५) ध्वनि लिपि (phonetic script) : भाषा उच्चारणको सबैभन्दा सानो एकाइ ध्वनि हो। ध्वनि लिपिले अर्थपूर्ण उच्चार्य ध्वनिको प्रतिनिधित्व गर्न सक्दछ। ध्वनि लिपिको रूपमा अन्तर्राष्ट्रिय ध्वनि वर्णमाला (International Phonetic Alphabets -IPA) को विकास सन् १८८८ मा भयो। यो लिपि अन्तर्राष्ट्रिय ध्वनि सङ्घद्वारा निरन्तर परिमार्जन हुन्छ। ध्वनि लिपिमा प्रत्येक उच्चार्य वर्णको लागि एउटा एउटा लेख्य चिन्हको विकास गरिएको छ। भाषावैज्ञानिकहरू भाषाको अध्ययन अनुसन्धान गर्न यसै लिपिको प्रयोग गर्छन्। यो लिपि ल्याटिन (रोमान) लिपिको आधारमा विकास गरिएको हो र लेखन पद्धति पनि उस्तै छ। विश्वमा बोलिने सबै मानवीय भाषाका सबै प्रकारका ध्वनि लेख्न यो लिपि सक्षम पनि छ।
आधारभूत जानकारीको लागि यहाँ मैले यी पाँच प्रकारका लिपि परिवारको जानकारी प्रस्तुत गरेँ। यस अतिरिक्त शब्द-आक्षरिक, अक्षर-वार्णिक र वर्ण-ध्वनिक जस्ता लिपिहरू पनि छन्। विशेष जानकारीको लागि सन्दर्भ ग्रन्थका सामग्रीहरू अध्ययन गर्न सकिन्छ।
विश्वमा कति लिपि छन् ?
हाल विश्वका ७,१६८ भाषा लेखनको लागि कूल २९३ लिपि छन् र यी मध्यै १५६ लिपि प्रयोगमा छन् अर्थात् विश्वका ४५.९४ भाषाको लागि एउटा लिपि प्रयोग हुन्छ। भारतमा बोलिने ४४७ भाषाको लागि २५ वटा लिपि प्रयोग हुन्छ अर्थात् एउटा लिपिमा १७.८८ भाषा लेखिन्छ- देवनागरी, तामिल, गुरूमुखी, कन्नडा, खरोष्टी, तेलगु, गुजराती, कालिङ्गा, मलयालम, उडिया, बङ्गाली-आसामी, मैती, ओलचिकी, अर्बिक, उर्दु आदि (www.education.gov.in)। र नेपालमा १२४ भाषाको लागि १५ वटा लिपि प्रयोगमा छन् अर्थात् एउटा लिपिमा ८.२६ भाषा लेखिन्छ।
यी उदाहरणबाट विश्वमा मौखिक वा अलिखित भाषा धेरै छन् भन्ने देखाउँछ। अनि सबै भाषाको आफ्नो लिपि हुँदैन भन्ने पनि सन्देश व्यक्त गर्दछ। र मौखिम परम्परामा रहेका भाषा लेखनको लागि भाषिक समुदायले आफ्नो परिवेशमा उपलब्ध लिपिको प्रयोग गर्छन् भन्ने सङ्केत पनि गर्दछ।
नेपालका सबै मातृभाषीहरूले पनि आ-आफ्ना भाषाको लागि लिपिको विकास गरेको देखिंदैन। यसको अर्थ हो प्रत्येक भाषाको आफ्नो लिपि छैन। नेपालका ९४ वटा रैथाने आदिवासी भाषाहरूमध्ये चारवटा आदिवासी भाषाहरू- नेवाः भाषा (रञ्जना, प्रचलित आदि लिपि), लिम्बु भाषा (सिरिजङ्गा लिपि), सुनुवार भाषा (कोइँच लिपि) र गुरूङ भाषा (खेङा लिपि) को मात्र आफ्नो लिपि रहेको छ। अन्य ११ वटा लिपिहरू गैररैथाने लिपिहरू हुन्।
लेखनको लागि आफ्नो लिपि नभएका भाषाहरूले अरू भाषाको लागि बनेको वा प्रचलित लिपि नै प्रयोग गर्दछन्। लुगा सिउने सिप नभएको मान्छेले (हाल भएकोले पनि) सुपर मार्केटबाट आफुलाई फिट हुने लुगा किने जस्तै लिपि नभएको भाषाले (हाल भएको भाषाले पनि) आफ्नो परिवेशमा उपलब्ध लिपि प्रयोग गर्दछ। बजारमा किनेका लुगा काटँछाट गरेर लगाए जस्तै उपलब्ध लिपिका वर्णमालामा थपघट गरेर वा आवश्यक उपचिन्ह प्रयोग गरेर लिपि प्रयोगमा ल्याउँछन्। आफ्नो मौखिक भाषा लिपिबद्ध गर्न चाहनेहरूले देवनागरी वा अन्य लिपिको प्रयोग गर्दा उपलब्ध वर्णमा थपघट गरेर र उपचिन्हहरू (diacritic marks) प्रयोगमा ल्याएर खाँचो टारेको पाइन्छ।
भाषा र लिपिको प्रयोग सम्बन्ध : भाषा र लिपिको प्रयोगको सन्दर्भ हेर्दा तीन प्रकारका सम्बन्ध देखिन्छन्- (१) एउटा भाषा एउटा लिपि (२) एउटा भाषा धेरै लिपि र (३) धेरै भाषा एउटा लिपि।
(१) एउटा भाषा एउटा लिपि : लिम्बु भाषाको लागि सिरिजङ्गा लिपि, लेप्चा भाषाको लागि रोङ लिपि, सुनुवार भाषाको लागि कोइँच लिपि, गुरूङ भाषाको लागि खेमा लिपिको प्रयोग हुन्छ। सिरिजङ्गा लिपि, रोङ लिपि, कोइँच लिपि र खेङा लिपिहरू अन्य भाषाको लागि प्रयोग भएको पाइँएको छैन (हाल सिरिजङ्गा लिपिमा लिम्बु भाषाका अतिरिक्त अन्य किराती भाषाहरू लेख्ने जमर्को भइरहेको छ, हे० किरात सिरिजङ्गा लिपि: समायोजन कार्यदलको प्रतिवेदनको सारांश र वर्णमाला (२०८०)।
(२) एउटा भाषा धेरै लिपि (बहुलिपि) : कुनै कुनै भाषाले एकभन्दा धेरै लिपि प्रयोग गर्दछन् जस्तै उराव भाषाले ओलचिकी, बङ्गाली, उडिया र देवनागरी; तामाङ भाषाले सम्भोटा, तामहिक, देवनागरी र बाङ्ला-आसामी; मगर भाषाले देवनागरी र आक्खा लिपि; गुरूङ भाषाले रोमन, देवनागरी र खेङा लिपि आदि प्रयोग गर्ने गरेको पाइन्छ। अनलाईनहरूमा मेसेज लेख्दा ल्याटिन लिपि प्रयोग हुने गरेको पाइन्छ। यसबाट नेपालमा एकभन्दा धेरै लिपि अर्थात् बहुलिपि प्रचलनमा रहेको देखिन्छ।
नेवाः भाषा लेखनमा रञ्जना, प्रचलित, कूटाक्षर, भुजिमोल, कुम्मोल, क्वेमोल, गोलमोल, पाचुमोल, हिँमोल, लितुमोल गरी ९ वटा लिपिको प्रयोग हुन्छ (नेपाल लिपि-प्रकाश, २०३०)। आफ्नो ९ वटा लिपि हुँदा हुँदै पनि नेवाःहरू नेवाः भाषा लेखनमा देवनागरी लिपिको प्रयोग गर्दछन्। यसै गरी मैथिली भाषाले तिरहुता-मिथिलाक्षर र भोजपुरीले कैथी लिपिको ठाउँमा देवनागरी लिपि प्रयोग गर्ने गरेका छन्। सुनवार भाषीले कोइँच लिपिको साथै देवनागरी लिपि प्रयोग गर्ने गर्छन्। प्रायः सबैजसो मातृभाषीहरूले सामाजिक सञ्जालहरूमा रोमन लिपि प्रयोग गरिरहेका हुन्छन्। यसका विभिन्न ऐतिहासिक तथा सामाजिक कारणहरू हुन सक्छन्।
(३) धेरै भाषा एउटा लिपि : प्रत्येक भाषाको आफ्नो लिपि नहुनाले परिवेशमा उपलब्ध लिपिको प्रयोग गर्छन्। यस कारणले कुनै एउटा लिपि एकभन्दा धेरै भाषा लेखनमा प्रयोग हुन्छ।
एक अध्ययन अनुसार हाल विश्वमा ल्याटिन लिपि सर्वाधिक प्रयोगमा छ। विश्वका ७० प्रतिशत भाषाले यो लिपिको प्रयोग गर्दछन् भन्ने दावी गुगलको छ। ल्याटिन लिपिमा स्वर वर्णसहित २६ वर्ण छन् र अन्तर्राष्ट्रिय ध्वनि वर्णमालाको (आइपिए)को आधार पनि यै लिपि हो। यो लिपि देब्रेतिरबाट दाहिनेतिर लेखिन्छ। वर्णको माथि डिको तानिदैन।
दोस्रो स्थानमा चिनी लिपि (हान्जी, कान्जी र हान्जा पनि भनिन्छ) रहेको छ। इ.पू. १३०० वर्ष अगाडिदेखि हान्जी लिपि लेखिदै आइरहेको छ। यस लिपिमा चीन, जापान, कोरिया, भियतनामी भाषाहरू लेखिन्छन्। यो लिपि विश्वकै प्राचीनतम् लिपि हो। यो मूलतः देब्रेबाट दाहिनेतिर लेखिन्छ। माथिदेखि तलतिर पनि लेखिन्छ भन्ने छ।
तेस्रो स्थानमा रहेको छ- अरबिक लिपि। जम्मा २८ वटा व्यञ्जन वर्ण मात्र भएको यो लिपि उर्दु, पास्तु र कुर्दहरूले प्रयोग गर्दछन्। यो लिपि दाहिनेबाट देब्रेतिर लेखिन्छ। यस लिपिको विकास सातौं शदी तिर भएको मानिन्छ।
चौथो स्थानमा देवनागरी लिपि रहेको छ। आठौँ शदीतिर विकसित यस लिपिमा संस्कृत, हिन्दी, नेपाली लगायत १२० भन्दा धेरै भाषाहरू लेखिन्छन्। यस लिपिमा ४७ वर्ण (३३ व्यञ्जन र १४ स्वर) छन्। यो लिपि अशोका ब्राम्ही लिपिबाट विकास भएको मानिन्छ। यो लिपि देब्रेबाट दाहिनेतिर डिको दिएर लेखिन्छ।
पाँचौँ स्थानमा सिरिलिक लिपि रहेको छ। ९-१० औँ शदीतिर विकसित यो लिपि वर्ण लिपि हो र देब्रेबाट दाहिनेतिर लेखिन्छ। यस लिपिमा बुलगरिया, किर्गिजस्थान, ताजिकिस्थान, रसिया, युक्रेन, टर्की, काकासियन, मङ्गोलिया आदि देशका भाषाहरू लेखिन्छन्।
छैठौँ स्थानमा रहेको छ- बाङ्ला लिपि। ११ औं शदीमा अशोका ब्राम्हीबाट विकसित यो लिपि १९ औं शदीमा केही परिमार्जन गरिएको मानिन्छ। यो लिपि भारतको पश्चिम बङ्गाल, त्रिपुरा र आसामका बाराक उपत्यका र बाङ्गला देशमा बोलिने भाषाहरू लेखिन्छन्।
सातौं स्थानमा रहेको छ- सम्भोटा लिपि। सातौँ शदीमा तिब्बतमा थोनमी सम्भोटाद्वारा विकास गरिएको यस लिपिमा तिब्बती भाषाका अतिरिक्त हिमाली भूक्षेत्र (तिब्बत, नेपाल, भारत, भुटान) का धेरै भाषाहरू लेखिन्छन्। अशोका ब्राम्ही परिवारमा पर्ने यो लिपि देब्रेबाट दाहिनेतिर डिको दिएर लेखिन्छ।
नेपालमा लिपि विकास
भारती प्रायःद्विपमा अशोका-ब्राम्ही लिपिको विकास भएपछि कालान्तरमा विभिन्न लिपि वा लेखन शैलीको विकास भएको पाइन्छ। यस लिपिको प्रभावबाट नेपालमा पनि लिपिको विकास भएको उदाहरणहरू धेरै छन्। काठमाडौंका नेवार समुदायले ११ औं शदीदेखि नै नेवाः लिपिहरू (रञ्जना, भुजिँमोल, कुँमोल, क्वँय्मोल, गोलमोल, पाचुमोल, हिँमोल, लितुमोल र प्रचलित गरी ९ वटा लिपि र शैली)१ को विकास गरेको देखिन्छ। यसै गरी लिम्बु भाषीले १८ औं शदीमा आफ्नो भाषाको लागि सिरिजङ्गा लिपिको विकास गरे भने सुनुवार भाषीले ल्याटिन लिपिको प्रभावमा कोइँच लिपि (सन् १९४२) र गुरूङ भाषीले खेमा लिपि (२०४२) को विकास गरेको इतिहास पाइन्छ।
नेपालमा विकसित यी लिपिहरू अशोका-ब्राम्ही लिपिकै सन्तान दर सन्तान हुन्। यी लिपिहरू मूलतः वर्ण-आक्षरिक लिपि परिवारमा पर्दछ। उत्तर र दक्षिण दुवैतिरको धार्मिक, राजनीतिक र प्रशासनिक दबदबा नेपालका भाषा र लिपिमा परेको देखिन्छ। नेपालमा भाषाको मात्र होइन लिपिको राजनीति पनि कसिकसाउ छ। लिपि विकासको सन्दर्भमा डा. महेशराज पन्त (सन् २०१५ को विचारमा असहमति प्रकट गर्दै तमोट (२०७४:३८-३९) लेख्छन् :
“भारतको पूर्वी तथा पूर्वोत्तर क्षेत्रमा प्रचलित कुटिला लिपिको ८-१० शताब्दीतिर स्थानीय भेद देखिन थाल्यो। ती भेदले आधुनिक लिपिहरूको जन्म दियो। ती लिपिले जहाँ जहाँ स्थानीय रूप लिए तिनको नाम त्यहीँ त्यहीँ स्थानको नामबाट चिनिए। त्यसो हुँदा बङ्गाल-गौडमा विकसित लिपिलाई बङ्गाली-गौडी, देवनगर (पटना) केन्द्र भै विकसित लिपिलाई देवनागरी, मिथिला-तिरहुतमा विकिसित लिपिलाई मैथिली वा तिराहुती, त्यस्तै नेपालमण्डलमा विकसित लिपि नेपाल लिपि वा नेवाः लिपि भयो।”
“बङ्गाली, देवनागरी, मैथिली, नेवाः लिपि भगिनी लिपि हुन्। यिनमा केही मात्रामा लिपिगत समानत हुनु वंशानुगत हो। … नेवाः लिपि नेपालमै इ.पू. तेस्रो शदीदेखि (अशोका-ब्राम्ही) निरन्तर लेखिदै आएको लिपिबाट स्वतन्त्र रूपले विकसित लिपि हो।”
गुप्त लिपि र लिच्छवि लिपिको सन्दर्भमा राजवंशी (सन् १९७४:२५)ले लेखेका छन्, “गुप्त साम्राज्यताका भारतका शिलालेख र नेपालका लिच्छवी कालको शिलालेखको तुलना गरी हेरेमा लिपिमा उत्तिको अन्तर पाइँदैन। लिच्छिवि कालमा नेपालमा चलेको लिपिलाई गुप्त लिपि नै भन्ने चलन थियो। २०१७ देखि नेपाल सरकार पुरातत्व विभागबाट आफ्नै ढङ्गको नाम राख्नु पर्छ भनी लिच्छिवि कालको लिपिलाई लिच्छवि लिपि भन्ने नामकरण गरियो।”
नेपालमा प्रचलित लिपिहरूको वंशवृक्ष निम्नानुसार देखाउन सकिन्छ।
नेपालमा प्रचलित लिपि : हाल नेपालमा निम्नानुसारका १५ वटा लिपि प्रयोगमा देखिन्छन् :
१. अशोका ब्राम्ही (इ.पू. ३००) : यस लिपिलाई सर्वप्रथम सम्राट अशोकाले प्रयोग गरेको हुनाले यसको नाम अशोका लिपि र बुद्ध धर्मका कुराहरू लिखिएको हुनाले यसलाई धम्म लिपि पनि भनियो। पछि यसको नाम ब्राम्ही लिपि रहन गयो। यसलाई आशोका ब्राम्ही लिपि पनि भनिन्छ। इ.पू. ३०० देखि सन् ५०० सम्म प्रयोगमा रहेको यो लिपि वर्ण-आक्षरिक (अबुजिडा) लिपि हो। यो देब्रेतिरबाट दाहिनेतिर लेखिन्छ। सर्वप्रथम यस लिपिमा अशोक कालीन अभिलेखहरूमा देखा परेको हो। अशोक कालीन अभिलेखहरू प्राकृत भाषामा लेखिएको छ। यस लिपिमा प्राकृत, पालि, संस्कृत, तामिल आदि भाषा लेखिएको पाइन्छ। यस लिपिको युनिकोडिकरण भएको छ। हालै यस लिपिलाई आक्खा लिपि शीर्षकमा मगर भाषा लेख्ने (फागुन २०४९) प्रयास भइरहेको छ।
२. सम्भोटा लिपि : थोन्मी सम्भोटाद्वारा ६५० तिर तिब्बती भाषाको लागि यो लिपिको विकास गरिएको हो। तिब्बतका सम्राट स्रङ्चङ गोम्पोले थोन्मीलाई लिपि अध्ययनको लागि सन् ६३२ मा भारत पठाइएको थियो। उनले सात वर्षसम्म भारतमा बसेर लिपिहरूको अध्ययन गरी स्वदेश फर्केर त्यस समयमा भारतमा प्रचलित गुप्त लिपि (चौँथो शताब्दितिर विकसित) बाट सम्भोटा लिपिको विकास गरिएको मानिन्छ। यो अशोका-ब्राम्ही लिपिको तेस्रो पुस्ताको लिपि (ब्राम्ही-गुप्ता-सम्भोटा) हो। यो लिपि देब्रेबाट दाहिनेतिर लेखिन्छ। अनुकुलन गरेर हिमाल वारिपारिका भूक्षेत्रमा दर्जनौं भाषाहरू यस लिपिमा लेख्ने गरेको पाइन्छ। यस लिपिको युनिकोडिकरण भएको छ। हाल यस लिपिलाई तामहिक शीर्षकमा तामाङ भाषा लेख्ने (जेठ १९, २०५५) प्रयास गरिदै छ।
३. देवनागरी लिपि : विहारको पटनाको देवनगरमा १२ औं शताब्दितिर यो लिपि विकास भएको मानिन्छ। यो लिपि मूलतः संस्कृत भाषा लेखनमा प्रयोग हुन्छ। यस लिपिमा ५२ वर्ण (१६ स्वर वर्ण र ३६ व्यञ्जन वर्ण) छन्। अशोका ब्राम्ही लिपिबाट नन्दीनागरी र नागरी हुँदै देवनागरी लिपिको विकास भएको हो। अनुकुलित देवनागरी लिपिमा हिन्दी, नेपाली, बज्जिका, खस, डोट्याली आदि १२० भन्दा धेरै भाषाहरू लेखिन्छन्। आफ्नो मौलिक लिपि भएका र लिपि नभएका नेपालका सबैजसो मातृभाषाहरू जस्तै मैथिली, भोजपुरी, अवधी, नेवाः, तामाङ, गुरूङ, मगर लेखनमा यो लिपि प्रयोग हुन थालेको छ। यस लिपिको युनिकोडिकरण भएको छ।
४. बाङ्ला लिपि : यो बाङ्ला भाषाको लिपि हो। यस लिपिमा भारतको पश्चिम बङ्गाल, त्रिपुरा र बाङ्लादेशमा बोलिने बाङ्गला लगायतका भाषाहरू र संस्कृत भाषा लेखिन्छ। विश्वमा सार्वाधिक प्रयोग हुने लिपिहरूमा यो लिपि छैठौँ स्थानमा रहेको छ। बङ्गालको गौडमा ११ औं शदीमा ब्राम्हीबाट विकसित यो लिपि १९ औं शदीमा परिमार्जन गरिएको मानिन्छ। यस लिपिको युनिकोडिकरण भएको छ।
५. नेवाः लिपि (रञ्जना, प्रचलित, भुजिँमोल, कुँमोल, क्वेँमोल, गोलमोल, पाचुमोल, हिँमोल, लितुमोल गरी ९ वटा) : नेपाल मण्डलमा विकासित यी नेवाः लिपिहरू अशोका ब्राम्ही लिपिबाट विकसित तेस्रो पुस्तका वर्ण-आक्षरिक लिपि हुन् (नेवाः भाषामा ‘मोल’ शब्दको अर्थ डिको हुन्छ)। लेखनका लागि डिको दिने शैलीको आधारमा लिपिको नाम रहन गएको मानिन्छ। रञ्जना लिपि (लान्चा लिपि पनि भनिने) कलात्मक लिपि हुनाले बौद्ध धर्म ग्रन्थ, गुम्बा, अभिलेख, बोर्ड लेखन र शीर्षक लेखनमा प्रयोग हुन्छ। यस लिपिको विकास ११ औं शदीमा भएको मानिन्छ। नेवाः भाषा लेखनमा प्रचलित लिपि (सन् १७६९ मा विकसित) को प्रयोग हुने गर्दथ्यो। पछि लेख्न छोडियो। नेवाः भाषा पुनः प्रचलित लिपिमा लेख्ने अभ्यास भइरहेको छ। नेवाः लिपि शीर्षकमा यो लिपिको युनिकोडिकरण भएको छ। गत एक शदीदेखि नेवाः भाषा मूलतः देवनागरी लिपिमा लेखिन्छ।
६. मिथिलाक्षर/तिरहुता लिपि : मिथिला-तिरहुतमा १३औं शदीमा विकसित यस लिपिमा मैथिली भाषा लेखिन्छ। यो लिपि बङ्गला-आसामी र उडिया लिपिको निकै नजिक रहेको छ। सन् १९५० पछि मैथिली भाषा देवनागरी लिपिमा लेखिन थालेको हो। हाल पुनः यस लिपिमा लेखन प्रयास भइरहेको छ।
७. कैथी लिपि : कैयी लिपिलाई कयथी, कायस्थी लिपि पनि भनिन्छ। १६ औं शताब्तीतिर यस लिपिको विकास भएको मानिन्छ। बेलायती राज्य कालमा भारतमा यो राज लिपि थियो। यस लिपिमा अङ्गीका, अवधी, भोजपुरी, मगही, नागपुरी आदि भारोपेली भाषाहरू लेखिन्थ्यो (हाल यस लिपिमा पुनः लेखनको प्रयास भइरहेको छ)।
८. गुरूमुखी लिपि : यो पञ्जाबी भाषा लेखनको लागि दोस्रो गुरू अङ्गदद्वारा १६ औं शदीमा विकसित लिपि हो। यसलाई ब्राम्ही लिपिको सन्तान मानिन्छ। यस लिपिको युनिकोडिकरण गरिएको छ।
९. सिरिजङ्गा लिपि : यो लिम्बु भाषा लेखनको लागि विकास गरिएको लिपि हो। ताप्लेजुङ्का तेओङसि सिरिजङ्गा सिङ थेबे (सन् १७०४-१७४१)द्वारा १८ औं शदीमा यो लिपि विकास गरिएको मानिन्छ। यसलाई ब्राम्ही लिपिको चौथो पुस्ताको लिपि (ब्राम्ही-गुप्ता-सम्भोटा-सिरिजङ्गा) को रूपमा हेरिन्छ (हे० तमोट, २०४८)। सबै स्वर वर्णहरू ‘अ’ वर्णलाई मात्रा दिएर लेखिन्छ। यस लिपिको युनिकोडिकरण भएको छ। अनुकुलन गरेर किराती समुहका भाषाहरू लेख्ने सुरसार पनि गरिदैँ छ।
१०. रोङ लिपि : यो लाप्चा भाषाको आफ्नै लिपि हो। १८औँ शताब्दिको प्रारम्भमा सिक्किमका चाक्डोर नाम्ग्यालले यस लिपिको विकास गरेको मानिन्छ। यो लिपि सम्भोटाबाट विकास भएको हो। यसलाई ब्राम्ही लिपिको चौथो पुस्ताको लिपि (ब्राम्ही-गुप्ता-सम्भोटा-लेप्चा) मानिन्छ। प्रारम्भिक कालमा यो लिपि ठाडो लिन्थ्यो पछि देब्रेबाट दाहिने तेर्सो लेख्न थालियो। यो लिपि पुनर्जीवित गर्दै पुनः लेख्ने प्रयास भइरहेको छ। यस लिपिको युनिकोडिकरण भएको छ।
११. कोइँच लिपि : सुनुवार भाषाको लिपि हो। कर्णबहादुर सुनुवार (१९२६-१९९१)द्वारा सन् १९४२ मा यस लिपिको विकास गरिएका हुन्। यो मूलतः वर्ण लिपि हो, हाल वर्णाक्षरिकतिर उन्मुख देखिन्छ। यो लिपि देब्रेबाट दाहिनेतिर लेखिन्छ। यस लिपिलाई पुनः लेख्ने प्रयास हुनका साथै लिपिको युनिकोडिकरण पनि भएको छ।
१२. खेमा लिपि : गुरूङ भाषाको लागि २०४२ तिर स्याङ्जा क्होलसराका पिमबहादुर गुरुङद्वारा तयार गरिएको यो लिपि २०५० मा सार्वजनिक भएको हो। यो वर्ण-आक्षरिक लिपि हो, देब्रेबाट दाहिनेतिर लेखिन्छ। यो अशोका ब्राम्ही लिपिको चौथो पुस्ताको लिपि (अशोका ब्राम्ही-गुप्ता-सम्भोटा-खेमा) मानिन्छ। सबै स्वर वर्ण ‘अ’ लाई मात्रा दिएर लेखिन्छ। यो लिपिको युनिकोडिकरणको प्रयास पनि गरिएको छ। गुरूङ भाषा लेखनमा सिक्किमका साथै नेपालमा पनि यस लिपिको विस्तार गरिदै छ।
१३. ओल चिकी लिपि : यो लिपि सन् १९२५ मा भारतका रघुनाथ मुर्मुद्वारा सन्थाली भाषाको लागि विकास गरिएको र १९३९ मा सार्वजनिक गरिएको थियो। यो वर्ण लिपि हो (स्वर वर्णको मात्र हुँदैन), देब्रेबाट दाहिनेतिर लेखिन्छ र यस लिपिको युनिकोडिकरण गरिएको छ।
१४. अरबी लिपि : यो अरबी भाषाको लिपि हो। उर्दु लगायतका दर्जनौं भाषा यस लिपिमा लेखिन्छन्। यो लिपि दाहिनेबाट देब्रेतिर लेखिन्छ। सातौं शदीमा विकसित यस लिपिको युनिकोडिकरण गरिएको छ।
१५. ल्याटिन लिपि : बोलिचालीमा यसलाई रोमन लिपि पनि भनिन्छ। यो ल्याटिन भाषाको लिपि हो। सातौं शदीमा विकसित यस लिपिको कोडिकरण गरिएको छ। अनुकुलन गरेर अङ्ग्रेजी, फ्रान्स, जर्मनी लगायतका सैकडौं युरोपेली र अन्य मुलुकका भाषाहरू यस लिपिमा लेखिन्छन्।
माथिका १-१२ सम्मका लिपिहरू वर्णाक्षेरिक लिपि हुन्। वर्णाक्षरिक लिपिहरू अशोका ब्राम्ही लिपिबाट विकसित तथा परिमार्जित रूप मानिन्छन्। यस परिवारका लिपिहरू व्यञ्जन वर्णसँग स्वर वर्णको मात्रा जोडिएर आउँछ, देब्रेबाट दाहिनेतिर लेखिन्छन् र प्रायः जसो लिपि लेखनमा डिको दिइन्छ। यी सबै लिपिहरू भारतीय उपमहाद्वीपमा प्रचलित छन्। ओल चिकी, अरबी र ल्याटिन लिपि वर्ण लिपि हुन् (वर्ण लिपिको मात्रा हुँदैन। स्वर वर्ण पूर्णाकारमा लेखिन्छ। डिको दिइदैन)।
सारमा भन्नु पर्दा माथि उल्लेखित नेपालका प्रयोग हुने १५ वटा लिपिहरूमध्ये नेवाः लिपि (११औँ शदी), सिरिजङ्गा लिपि (१८औँ शदी), सुनुवार लिपि (२०औँ शदी) र खेमा लिपि (२०औँ शदी) मात्र नेपालमै विकसित रैथाने लिपिहरू हुन्।
(साभार : ‘नेपालका भाषाहरू’बाट)