हिमाली जिल्ला रसुवामा आन्तरिक तथा वाह्य पर्यटक बढ्दै

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
70 Shares
रसुवा

धार्मिक तथा पर्यटकिय स्थल लाङटाङ र गोसाईकुण्ड अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमनमा वृद्धि हुँदै गएको छ ।

हिमाली जिल्ला भएकै कारण दैनिक २०–२५ बाह्य पर्यटकको आगमन हुन थालेको र यो सङ्ख्या वृद्धि हुँदै गएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मिलन सापकोटा दिए । यसरी पर्यटन बढ्न थालेसँगै हिमाली भेगका स्थानीय पर्यटन तथा होटल व्यवसायीले आवश्यक खाद्यन्न ढुवानीको काम सुरू गर्नुको साथै होटल तथा लजको सुदृढीकरण गर्न थालेका छन् ।

वर्षा कम हुँदै गएपछि साउन–भदौ महिनामा करिब १० हजार ५०० आन्तरिक एवं बाह्य पर्यटकको जिल्लामा आगमन भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सापकोटा ले जानकारी दिए । तीमध्ये १० हजार चार सय ४० आन्तरिक तथा तीनसय ६० बाह्य पर्यटक भएको निकुन्जले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार अघिल्ला वर्षहरूमा जस्तै गत भदौ महिनामा पनि धार्मिक तथा सांस्कृतिक महत्वको पवित्रस्थलका रुपमा परिचित ‘गोसाइँकुण्ड’ मेला भर्न जाने तीर्थयात्रीका कारण आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यसरी उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा ठूलो मेला लाग्ने तथा सोही अवसरमा स्नान तथा पूजाआजा गर्ने हजारौँ भक्तजन निलाद्री पर्वतसम्म पुग्नेगरेका कारण वर्षायाम भए पनि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको पाइन्छ ।

देशकै नमूनाका रूपमा निर्माण भएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् गृहलगायतका लाङ्टाङ एवं गणेश हिमाल, ऐतिहासिक रसुवागढी, उकाली, ओराली झर्ना, पाहाड, तामाङ सम्पदा मार्ग अन्तरगत स्थानीय संस्कृतिमा आधारित तामाङ भेषभूषा, नाचगान , हिमाली वनस्पति, पार्टी–भञ्ज्याङ –चौतारी, चीज उत्पादन केन्द्र, र महत्वपूर्ण सम्पदा लगाएत निलाद्री पर्वतमा भगवान शिव विराजमान रहेको पवित्र तीर्थ गोसाइँकुण्ड, हिमालयकी छोरि पार्वती ले वास गरेको ठाउँ गतलाङ अवलोकन गर्न सकिने होटल तथा पर्यटन व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण (निसान) गजुरेलले बताए ।

तामाङ सम्पदा मार्गअन्तरगत गोल्जुङ् , गतलाङ, नाकथली, बृद्विम समेतका क्षेत्रमा पाइने स्थानीय परिकारका खानाले समेत आगन्तुक पर्यटक लोभिने गरेको अध्यक्ष गजुरेलले जानकारी दिए । हिमाली प्रकृतिमा रमाउन काठमाडौँको गोंँगबु–बालाजुदेखि टोखा, छहरे, थान्सिङ, ढिकुरे, गँगटे, बटृार, ढुङ्ग्रे, बेत्रावती, कालिकास्थानहुँदै सदरमुकाम धुञ्चेसम्मको सडकमार्ग राम्रो भएकाले जम्मा पाँच घण्टामा सवारी साधनबाट सदरमुकामसम्म पुग्न सकिने लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पदयात्रा मा हुनसक्ने सम्भावित अपराधिक गतिविधिको रोक लगाउन वा हुन नदिन बर्दि लगाएको वा सादा पोसाकका प्रहरीलाई नियमित गस्तीमा खटाइने गरेकाले ढुक्क भई यात्रा गर्न र कुनै समस्या आइपरे जिल्ला प्रशासन कार्यालय वा स्थानीय सुरक्षा निकायमा तत्काल जानकारी गराइ दिनुहुन सम्बद्ध सबैसँग अनुरोध गरिएको साहायक प्रमुख जिल्ला अधिकारि सरस्वती अधिकारी जानकारी दिइन् ।

तामाङ सम्पदामार्ग बाहेक अन्य हिमाली पदयात्राको भूभाग लाङ्टाङ राष्ट्रिय निकुन्जको आधार इलाकामा पर्ने भएकाले निकुञ्जको नीति नियमको पूर्ण पालना गरी हिमाली जैविक विविधताको संरक्षणमा यात्रुहरूबाट सहयोग मिल्नेमा निकुञ्ज परिवार आशावादी रहेको निकुन्जका संरक्षण अधिकृत सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका