साउदी अरेबियामा ६ जना नेपाली अलपत्र परेको भिडियो प्राप्त भएको छ । भिडियोमा अलपत्र परेका नेपालीहरु अहिले नेपाली दूतावासको दमामस्थित सेल्टरमा रहेको बताएको छ ।
भिडियोका अनुसार १३ महिनाअघि नेपालमा अन्तर्वार्ता दिएर कम्पनीका कामका लागि आएका उनीहरू एजेन्टले सप्लाइमा परेका हुन् । अलपत्र परेका नेपालीहरुले पाँच महिनाको तलव नपाएर, खाना र बस्नसमेत समस्या परेपछि दूतावासको सेल्टरमा आएको बताएको छ ।
अलपत्र परेकाहरुले तत्काल पाँच महिनाको तलव दिलाएर सकुशल नेपाल फिर्ता पठाइदिन दूतावाससँग माग गरेको छ ।
नेपालका एमिटी ह्युमन रिसोर्स प्रालि मार्फत साउदीस्थित मुसवहाव अब्दुल्लाह हमिद ओसाइमी कन्ट्रयाटिंग कम्पनीमा काम गर्ने गरि २७ जना नेपाली कामदारलाई साउदी ल्याएका मध्य ६ जना अलपत्र परेका हुन् । उनीहरूलाई साउदीमा सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका-४, का एजेन्ट सरोज बरुवालले ल्याएका हुन् । एजेन्ट बरुवाल लामो समयदेखि साउदीमा छन् ।
अलपत्र परेका नेपालीहरुसँग (अकमा) समेत नरहेको बताएको छ । भिडियोमा साउदी कानुन अनुसार अलपत्र परेका नेपालीहरु अबैध (इलिगल)भएको बताएको छ । अलपत्र परेकाहरु चितवनका, राजु तामाङ, शम्भु महत्व थारु, काठमाडौंका श्रीकृष्ण नगरकोटी, चितवनका, जगतकृष्ण कालु, ओखलढुंगका माधव गिरी, सुर्खेतका र अम्बर बहादुर पुन मगर हुन् ।
भिडियोमा आफुहरुलाई उद्धारको नाममा पाँच महिनाको तलव नदिलाई नेपाल पठाउने तयारी भएको बताएको छ । उक्त जानकारी पाएपछि आफुहरुले साउदीमा रहेका नेपाली संघसंस्थाहरुलाई सहयोगको याचना गरेको पीडितहरुको भनाई छ ।
सेल्टरमा पछिल्लो समय खानपिनमासमेत समस्या भएको पिडित मध्येका एक नेपालीले बताए । कम्पनीले पाँच महिनाको तलब नदिए आफुहरुलाई साउदी ल्याउने सरोज बरुवालले दिनुपर्ने पीडितहरुको भनाई छ । पीडित भनिएकाहरुका बारेमा दूतावाससँग सम्पर्क गर्दा अनुसन्धान गरेर बताउने जानकारी दिए ।