ऐतिहासिक दोस्रो डम्फु साँझ २०८१ को तयारी पूरा, उठेको रकम बाढी पीडितलाई प्रदान गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
273 Shares
काठमाडौं

चर्चित गायक एवं सङ्गीतकार विश्व दोङ र ल्हास्सो म्युजिकल ब्यान्डको लाइभ साङ्गीतिक कार्यक्रम ऐतिहासिक दोस्रो डम्फु साँझ २०८१ को तयारी पूरा भएको छ ।

आज हुन गइरहेको साँझबाट जम्मा भएको रकम हिजोदेखि परिरहेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा क्षति पुगेका बाढीपीडितलाई प्रदान गर्ने भएको छ ।

गायक एवं सङ्गीतकार विश्व दोङले फेसबुकमार्फत लेखिएको छ,‘देशमा विपत आईलाग्यो । देश रोईरहेको छ तर विपतसँग सामना पनि गर्नुछ । त्यसैले आज हुन गईरहेको डम्फू साँझमा उठेको रकम सबै बाढि पिडितलाई सहयोग गरिनेछ।  धन्यवाद ।’

डम्फु साँझ प्रालिद्वारा आज लिक्विड लाउन्ज एन्ड बारमा साँझ हुँदैछ ।

डम्फुको तालमा रहेको गीतसङ्गीत तथा कला संस्कृतिलाई संसारभरि फैलाउनु, तामाङ सभ्यताको विकास गरी यसको महत्त्व दर्साउनु, आफ्नो अस्तित्व र पहिचान कायम राख्न टेवा पुगोस् अनि नेपाल राष्ट्रको राष्ट्रिय पहिचान संसारभरि छुट्टै कायम रहोस् भन्ने नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको गायक दोङले बताए ।

डम्फु साँझमा गायक दोङको चर्चित गीतहरू गुन्जने छन् । जसमा उनका अहिलेसम्म चर्चित भएका सेलो गीतहरूले दर्शकलाई मनोरञ्जन दिनेछन् ।

कार्यक्रमले तामाङ कला, संस्कृति, र परम्परालाई मात्र जीवन्त राख्ने नभई नयाँ पुस्तालाई समेत संस्कृतिप्रति प्रेरित गर्ने अवसर प्रदान गरिने गायक दोङले बताए ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा लोकप्रिय गायक सुमिना लो र सुनिता गोलेको प्रस्तुति रहनेछन् । कलाकारहरूले तामाङ समुदायको सांस्कृतिक पहिचान झल्काउने गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिनेछन् । गायिकाहरूले तामाङ समुदायको लोक सङ्गीतलाई नयाँ रूप दिएर प्रस्तुत गर्दै आएको इतिहास छ। सुमिना लोले आफ्नो मौलिक शैलीमा पुराना तामाङ गीतहरूलाई आधुनिक लयमा प्रस्तुत गरेकी छन् भने सुनिता गोलेले आफ्नो आवाजमार्फत तामाङ सभ्यताको सौन्दर्यलाई प्रस्तुत गर्ने प्रयास गर्दै आएकी छन्।

तामाङ समुदायभित्र मात्र नभई अन्य समुदायका व्यक्तिहरूलाई समेत आकर्षित गर्न सक्ने गरी आयोजना गरिने यो साँझले विभिन्न जातीय समुदायबिच आपसी सद्भाव र भाइचारा प्रवर्द्धन गर्न समेत मद्दत पुर्‍याउने विश्वास आयोजकहरूको छ ।

यो पनि

तपाईको प्रतिक्रिया

पत्रपत्रिका