बाढीपहिरो : बागमती सरकारद्वारा आर्थिक राहत उपलब्ध

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
147 Shares
मकवानपुर (हेटौँडा)

बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त प्रदेशका ४५ वटा स्थानीय तहलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

१०–१३ असोजको भिषण वर्षाका कारण बाढीपहिरोले क्षति पुर्‍याएको ४५ वटा पालिकालाई ५ करोड ८० लाख रुपैयाँ तीन वटा क्लष्टर बनाएर रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

शनिबार हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय भएको हो ।

उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद व्यवस्थापन कोषमा पठाइनेछ ।

मन्त्रिपरिषद्ले प्रदेश विपद् व्यवस्थापन कोषमा रकम न्यून रहेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बाढीपहिरोबाट धेरै क्षति पुगेको काभ्रेको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिका र मकवानपुरको इन्द्रसरोबर गाउँपालिकालाई बढी जोखिमयुक्त क्षेत्र भएकाले २० लाखका दरले १ करोड ४० लाख रकम निकासा गरिने भएको छ ।

काठमाडौंको चन्द्रागिरी र नागार्जुन नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुपाल्चोकको जुगल र लिसंखुपाखर गाउँपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, मकवानपुरको बागमती गाउँपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, दोलखाको बिगु र धादिङको गजुरी गाउँपालिकामा  १५ लाखका दरले १ करोड ८० लाख रुपैयाँ रकम निकासा गर्ने निर्णय भएको मन्त्री लामिछानेले जानकारी दिए ।

दोलखाको शैलुङ, गौरीशंकर र तामाकोशी गाउँपालिका, धादिङको बेनिघाट रोराङ, नेत्रावती डब्जोङ गाउँपालिका र धुनिवेशी नगरपालिका, रामेछापको मन्थली र रामेछाप नगरपालिकासहित गोकुलगंगा, दोरम्बाशैलुङ, सुनापति, लिखुतामाकोशी र उमाकुण्ड गाउँपालिकामा १० लाखका दरले रकम निकासा हुने भएको छ ।

यस्तै, सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिका मकवानपुरको बकैया गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, भोटेकोशी, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका, काभ्रेको नमोबद्ध र मण्डनदेउपुर नगरपालिका तथा चौरीदेउराली, महाभारत गाउँपालिका र चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई १०–१० लाख गरी २ करोड ६० लाख रुपैयाँ निकासा हुने भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया