लिसंखुपाखर गाउँपालिकाले असोज १० देखि १२ गतेसम्म अविरल वर्षाका कारण पहिरोमा परी मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रवार गाउँपालिकाको कार्यपालिका बैठकले घर पुरिएर ज्यान गुमाएका परिवारलाई एक लाखका दरले आर्थिक सहयोग गरिने निर्णय गरेको हो ।
पहिरोले पालिकाको वडा नम्बर ३ का २ बस्तीमा घर पुरिँदा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनका श्रीमती सुन्तली तामाङ, शिक्षिका तिर्सना मोक्तान र उनका एक छोरा र एक छोरीको मृत्यु भएको थियो ।
गाउँपालिकाका अध्यक्ष राजु लामाले भने.‘हामीले पालिकाबाट एक लाखको दरले आर्थिक राहत उपलब्ध गरेको छ । सङ्घीय सरकारबाट प्रतिपरिवार २ लाख र प्रदेश सरकारबाट १–१ लाख रुपैयाँ आर्थिक सहयोग पाएको छ ।’
त्यसैगरी, स्थानीय मिकमार दोर्जे तामाङको पहिरोमा पुरिएर मरेका हलगोरुको क्षतिपूर्ति स्वरूप १५–१५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यस्तै, विपद्बाट प्रभावित विद्यालयहरू धर्मोदय मावि, घिच्चेत उसिधुम मावि, शान्ति उदय आधारभूल विद्यालय र लिसंखु स्वास्थ्य चौकीको क्षतिको विवरण सम्बन्धित निकायमा पठाएर राहतका लागि अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ ।
चाडपर्वको बेला भएकोले पहिरोले अवरुद्ध पालिकाभित्रका सडक सञ्चालनका लागि तीव्र पहल गरिरहेको अध्यक्ष लामाले बताए ।
त्यसका लागि गाउँपालिका अन्तर्गत स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले डोजर लगायत आवश्यक सामग्री र समन्वयका लागि काम गर्ने भएको छ ।
यस्तै, पालिकाभित्र बाढि पहिरोले क्षति पुर्याएका व्यक्तिका घर तथा गोठहरू र कृषि बालीको प्रारम्भिक विवरण सङ्कलन गरी सङ्घमा पठाइएको पनि जनाइएको छ ।