सन्तोष योञ्जनको संकलन तथा स्वर रहेको रैथाने पूर्वेली लोकगीत ‘एकै नजर परिगो’ हालै सार्वजनिक भएको छ । गीतमा उनलाई स्वरमा साथ दीपा तामाङले दिएकी छन् ।
हाक्पारे, पालम, केलाङ, साकेला, ख्याली वा झ्याउरे अर्थात् चुड्के, लम्बरी वा नम्बरी, गोठाले वा घाँसे वा दाउरे, मारुनी, सोरठी जस्ता पूर्वी पहाडका प्रसिद्ध लोक भाकाहरु हुन् । तिनै भाकाहरूमध्ये योञ्जनको पछिल्लो गीत ‘एकै नजर परिगो’मा लोपोन्मखु पुरानो रैथाने भाका ख्याली अर्थात् झ्याउरे वा चुड्केलाई टिपेर जीवन्त बनाउने जमर्को गरिएको छ ।
योञ्जनले यस भाकाका लय र केही शब्दहरू अरुण गाउँपालिका र्याङ ४ बेसीटोलका स्वर्गीय श्री सीताराम बालाली राईबाट सङ्कलन गरेका हुन् । त्यस्तै बाँकी अन्य शब्दहरू अरुण तथा तम्मोर उपत्यका भेगबाट संयोजन गरेको उनले बताए ।
गीतमा म्युजिकको सम्पादन संकलक योञ्जन र बुद्ध स्याङबाले गरेका हुन् । एरेन्ज र मिक्सिङ स्याङबाले नै गरेका हुन् । यस गीतको रेकर्डिङ बुद्ध रेकर्डिङ स्टूडियो पुतलीसडकमा गरिएको हो ।
भोजपुर जिल्ला अरुण गाउँपालिका ४ र्याङमा जन्मेका योञ्जन विशेषगरी आदिवासी ज्ञान, सीप तथा संस्कृतिको अध्ययन तथा अनुसन्धान गरिरहेका छन् ।