गतसाता संघीय राजधानी काठमाडौँमा भेला भएका विश्वका १६ मुलुकका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु, प्राज्ञिक अनुसन्धानकर्ता, शिक्षाविद्, समुदायका अगुवाहरु र आदिवासी संघसंस्थाका प्रतिनिधिहरुसमेतले आदिवासीका सवालमा गरिने अनुसन्धान, आदिवासीलाई दिइने शिक्षा र आदिवासी जनताका लागि गरिने विकास आदिवासीकै नेतृत्वमा हुनुपर्नेमा जोड दिएका थिए । नेपालस्थित आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड)ले आयोजना गरेको ‘आदिवासी जनजातिको नेतृत्वमा आधारित अनुसन्धान र शिक्षा’ विषयक दोस्रो अन्तराष्ट्रिय सम्मेलनका क्रममा विश्वभरका आदिवासी अगुवाहरुले यस्तो धारणा राखेका थिए ।
सम्मेलनमा विशेष वक्ता न्युजिलैण्डस्थित अकल्याण्ड विश्वविद्यालयकी प्राध्यापक डा. लिन्डा वैमारी निकोराले आदिवासीहरुको अनुभवजन्य ज्ञान प्रणालीलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताए । उनले वैज्ञानिक अनुसन्धानलाई परम्परागत ज्ञानसँग मिलाउनु पर्ने धारणा राख्दै वैज्ञानिक र परम्परागत विधालाई ‘दुवै आँखाले’ हेर्नू पर्ने बताए । आदिवासी ज्ञान वैज्ञानिक र दीगो जिविकोपार्जन गर्ने गतिशील ज्ञान भए पनि त्यसले मान्यता पाउन नसकेको उनको टिप्पणी थियो ।
न्यूजिल्याण्डमा सन् २०२३ मा गएको चक्रवातले त्यहाँका आदिवासी माओरी बस्तीलाई सखाप पारेको स्मरण गर्दै राज्य संयन्त्रले उद्धार तथा पुननिर्माण गर्न नसक्दा आदिवासी माओरीको साथ र सहयोग महत्वपूर्ण रहेको बताए । उनले राज्यसंयन्त्र कमजोर रहँदा माओरी ज्ञानका आधारमा जलवायु प्रेरित प्रकोपलाई सम्बोधन गर्न सकिएको उनको धारणा थियो ।
ब्रिटिश कोलम्बिया विश्वविद्यालयकी सहप्राध्यापक डा. पासाङ याङ्जी शेर्पाले आदिवासी समुदायका जलवायु अनुकुलनका अनुभवहरुलाई मूलधारका अनुसन्धानहरुले बेवास्था गरिरहेको आरोप लगाइन् । उनले हालसम्म भएका आदिवासीका नाममा भएका अनुसन्धानहरुले गलत तथ्याङ्क र गलत भाष्य सिर्जना गरेको आरोप लगाउँदै अबको अनुसन्धान आदिवासीबाट, आदिवासीका लागि र आदिवासीकै नेतृत्वमा हुनुपर्नेमा जोड दिइन् । उनले नेपालका आदिवासीका सन्दर्भमा भएका अनुसन्धानहरु अपूर्ण रहेको पृष्ठभूमिमा शिक्षा र विकासलाई आदिवासीमैत्री बनाउन सुझाव दिएकी थिइन् ।
कार्यक्रममा संयुक्त राज्य अमेरिकास्थित मिचिगन विश्वविद्यालयका प्राध्यापक कैले व्हाइटले आदिवासी नेतृत्वमा अनुसन्धान र शिक्षाको विषय एक आन्दोलनको रुपमा अघि बढिरहेको जानकारी दिए । शिक्षा, विकास तथा प्राज्ञिक क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तहदेखि समुदायस्तरसम्म आन्दोलनका रुपमा स्थापित गर्न जरुरी भएको बताए । उनले विश्वले हाल व्यहोरिरहेको जलवायू जोखिम, वातावरणीय समस्याहरु आदिवासीय ज्ञान प्रणालीलाई वेवास्था गर्नुको परिणाम भएको बताउँदै अबको बौद्धिक क्रियाकलाप आदिवासीको नेतृत्व, सहभागिता र उनीहरुको मुद्धामा केन्द्रीत हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जलवायु परिवर्तन, शिक्षा, विकास र संरक्षणका क्षेत्रमा देखिएका चुनौतिहरुलाई सम्बोधन गर्न सामुदायिक अभ्यासकर्ता र विज्ञ विशेषज्ञहरुलाई एकै थलोमा ल्याउने जमर्को गरिएको थियो ।
सम्मेलनमा जलवायु परिवर्तन, आदिवासी शिक्षा र विकास, आदिवासी अर्थतन्त्र र खाद्य सम्प्रभूता, प्राकृतिक स्रोत र शान्ति निर्माण प्रक्रिया लगायतका विषयमा फरक फरक सत्रमा तीन दर्जन भन्दा बढीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तोता विद्धान तथा विदूषीहरुले आदिवासीको प्रथाजनित स्वशासन र स्वामित्वको अधिकार, जैविक विविधता र संरक्षणलाई सम्मेलनमा छलफलको विषयका रुपमा उठाएका थिए ।
कार्यपत्र प्रस्तोता तथा वक्ताहरुले मानव समाजको दीगो र सहज भविष्यका लागि आदिवासी ज्ञान, प्रथाजन्य स्वशासन प्रणाली, परम्परागत जिविकोपार्जनका उपायहरु, आदिवासीजन्य खाद्यसंस्कृति र आर्थिक प्रणालीहरुको मान्यताको संरक्षण, प्रवर्द्धन र पहिचान गर्न आवश्यक रहेको बताएका थिए ।
सम्मेलनका सहभागीहरुले आदिवासी ज्ञान, प्रथाजन्य स्वशासन प्रणाली, परम्परागत जिविकोपार्जनका उपायहरु, आदिवासीजन्य खाद्यसंस्कृति र आर्थिक प्रणालीहरुको मान्यताको संरक्षण, प्रवर्द्धन र पहिचान गर्ने विशेष जोड दिएका थिए ।
थाईल्याण्डस्थित चुलालोंगकार्न विश्वविद्यालयका प्राध्यापक डा. सुरिचाई वुन गाओ, बंगलादेश स्थित चक्मा समुदायका प्रमूख राजादेवासिश रोयलगायतले प्रथाजन्य परम्परा, स्वशासनले आदिवासीको परम्पराको महत्वका बारे सम्मेलनमा विशेष मन्तव्य राखेका थिए ।
आदिवासी जनजातिको भूमि, भू–भाग र भू–क्षेत्रसंगको सन्तुलित अन्तरसम्बन्ध, आत्मनिर्णय, सम्मान र शान्ति र स्थिरताको मूल्यहरुलाई ‘आदिवासी जनजातिको नेतृत्वमा आधारित अनुसन्धान र शिक्षा’ विषयक अर्न्तराष्ट्रिय सम्मेलनले खोजेको छ । सिप्रेडका अध्यक्ष डा. पासाङ शेर्पाको अध्यक्षतामा भएको ससम्मेलनको उद्घाटन सत्रमा नेपालको सीमान्त भूमि दार्चूलाका आदिवासी व्याँसी, सौकाका प्रतिनिधिहरुले परम्परा अनुसार पूजा प्रार्थना गरेर कार्यक्रम उद्घाटन गरिएको थियो ।
जलवायु परिवर्तन र अन्य बाह्य दवावका कारण आदिवासी जनजातिको खाद्यसंस्कृति र दीगो आर्थिक प्रणालीमा पुगेको असरका बारे वृहत् छलफल भई सम्मेलनले विकास र आदिवासीय दृष्टिकोण बिचको खाडल पुर्ने साझा लक्ष सम्मेलनले खोजेको सम्मेलन आयोजक संस्था सिप्रेडकी कार्यकारी निर्देशक डा. पासाङ डोल्मा शेर्पाले बताएकी थिइन् । उनले शिक्षा, विकास र अनुसन्धानका क्षेत्रको भाष्य नै परिवर्तन हुनु पर्नेमा जोड दिएकी थिइन् ।