सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–४, स्थित सीमा क्षेत्रनजिक अवैध रुपले भण्डार भण्डारण गरिएको गोदाममा शनिबार लहान प्रहरीले छापा मारी १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको भन्सार छलीको मालसमान बरामद गरेको छ ।
भन्सार छली गरेर ठुलो मात्रामा विभिन्न मालसमानहरू भण्डारण हुँदैछ भन्ने गोप्य सूचना आएपछि लहानबाट डिएसपी भेषराज रिजालको नेतृत्वको टोलीले उक्त मालसमान बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी रिजालको टोलीले उक्त गोदामबाट १३ लाख ३६ हजार ५५८ रुपियाँ बराबरको मालसमान बरामद गरेको छ ।
बरामद गरिएको मालसमानहरुमा कपडा, जुत्ता, किराना आइटम र भाडाकुडा लगायत छन् । नजिकिदो तिहार र छठ पर्वलाई इङ्गित गरेर लहान प्रहरीले मिसन चोरीपैठारीविरुद्ध चलाएको अभियान अन्तर्गत लहान प्रहरीले उक्त मालसमानहरू बरामद गरेको डिएसपी रिजालले जानकारी दिए ।
बरामद गरिएको भन्सार छलीका मालसमानहरू शनिबार नै ठाडी भन्सार कार्यालयमा बुझाइएको बताइएको छ । सिरहामा तस्करको गोदाममा भण्डारण भइरहेको बखत पुगेर प्रहरीले भन्सार छलीका मालसमानहरू बरामद गरेको यो नै पहिलो पटक हो । यसअघि विभिन्न नाकावर्ती क्षेत्रहरुबाट ओसारपोसार गर्दै गरेको अवस्थामा मालसमान बरामद गरे पनि उनीहरुको गोदाममा प्रहरी पुग्न सकेको थिएन ।
यसअघि पनि लहान प्रहरीले गत विहीबार फरक फरक स्थानबाट एकै दिन चार लाख रुपियाँ बराबरको भन्सार छलीका मालसमानहरू पक्राउ गरेको थियो ।
लहान प्रहरीले उक्त दिन ठाडीबाट लत्ताकपडा, सुर्ती र पटाका गरी ६६ हजार नौ सय बराबर, कविलासीबाट १३५ केजी सुर्ती र सो सुर्ती बोकेको सिटी रिक्सा गरी तीन लाख ४७ हजार र लहानको अस्पताल चोकबाट तीस हजार ७५० रुपियाँ बराबरको विभिन्न किराना आइटमका सामान गरी चार लाख ४४ हजार ६५० रुपियाँ बराबरको मालसमान बरामद गरेको थियो ।
तस्करहरुले भण्डारण गर्ने गोदाम चेकजाँच गर्ने अधिकार आन्तरिक राजस्व कार्यालय तथा राजस्व अनुसन्धान कार्यालयको छ तर ती कार्यालयहरुले तस्करी नियन्त्रणको सवालमा गर्ने क्रियाकलापबारे स्थानीय प्रहरीसँग समन्वय नगर्दा तस्करहरुको पूर्ण जालो भत्काउन नसकिएको सिरहा प्रहरी गुनासो गर्छन् ।