मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै

सैलुङअनलाइन
सैलुङअनलाइन संवादाता
35 Shares
मकवानपुर

बागमती मकवानपुरमा कुपोषण रोकथाम चुनौती बनेको छ । यद्यपि कुपोषणको सिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्यलाभ गरेका छन् ।

मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारअनुसार आर्थिक वर्ष २०८०/८१ मा फेलापरेको कडा कुपोषित बालबालिकामध्ये ४९ प्रतिशत बालबालिका उपचारपछि निको भएका छन् । आव २०८०/८१ मा कडा कुपोषित एक सय ३३ बालबालिकामध्ये उपचारपछि ५९ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । कडा कुपोषितमध्ये नौ बाबालिकाका अभिभावकले आफूखुसी घर फर्काएर लगेको र बाँकी बालबालिकाको अझै उपचार भइरहेको छ ।

अघिल्लो आव २०७९/८० मा कुपोषित एक सय ३१ जना बालबालिकाको उपचार गरिएकामा ४८ प्रतिशत बालबालिका निको भएर घर फर्किएका थिए । कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा २१ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र (ओटिसी सेन्टर) स्थापना गरेर उपचारात्मक तयारी खाना (पोषिलो खाना) कार्यक्रम सञ्चालन भइरहेको प्रमुख मिजारले बताए । उनले मकवानपुरमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए । पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको उनले बताए ।

पोषण सुधार गर्न जिल्लामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न एकीकृत पोषण कार्यक्रम सञ्चालनमा छ । ‘‘जिल्लामा सञ्चालित २१ वटा ओटिसी सेन्टरमा जाँच हुन्छ, जाँचका क्रममा कडा कुपोषण भएका बालबालिकाको उपचार गर्ने गरेका छौँ”, प्रमुख मिजारले भने , “हेटौँडा अस्पताल परिसरभित्र स्थापना गरिएको पोषण पुनःस्थापना गृह (एनआर एच)मा बालबालिकालाई पोषणायुक्त खानासँगै उपचार हुन्छ ।” कार्यक्रमले गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याएको उनको भनाई छ ।

मकवानपुरमा जन्मिएको १२ महिनाभित्र बालबालिकाको तौल लिनेको सङ्ख्या बढेको छ । दुई वर्षभित्रका बालबालिकाको कम्तीमा २४ पटक वजन मापन गर्नुपर्नेमा दुई वर्षमा पाँचपटक मात्र बालबालिकाको वजन मापन हुने गरेको प्रमुख मिजारले बताए ।

आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा बालबालिकाहरुको तौल गराउनेको सङ्ख्या बढ्को जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बालबालिकाको सङ्ख्यासमेत कम भएको छ । आव २०७९र८० मा कम तौल भएको बालबालिका दुई प्रतिशत रहेकामा आव २०८०/८१ मा त्यो एक प्रतिशतमा झरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया