यहाँको खिजीदेम्बा गाउँपालिकालाई अम होङ गिल ह्युमन फाउन्डेसनले दुई वटा एम्बुलेन्स सहयोग गरेको छ । कोरियन नागरिक क्याप्टेन तथा पर्वतारोही अम होङ गिलको नामबाट स्थापित उक्त संस्थाले नेपालमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा योगदान गर्दै आएको छ ।
आज काठमाडौँमा एक कार्यक्रमबिच फाउन्डेसनका प्रमुख क्याप्टेन अम होङ गिलले खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरियो । एम्बुलेन्स केही महिना अघि पालिकाले प्राप्त गरिसकेको भए पनि औपचारिक रूपमा हस्तान्तरण आज गरिएको हो ।
नेपाल विश्वकै सुन्दर देश भए पनि शिक्षा र स्वास्थ्यमा समस्या देखेपछि आफूले सहयोगका कार्यक्रम ल्याएको प्रमुख गिलको भनाई छ । उनले सगरमाथासहित नेपालका दर्जनौँ हिमाल आरोहण गरिसकिएको छ ।
एम्बुलेन्स दाता गिललाई खिजीदेम्बावासीले सम्मान गरेका छन् । एम्बुलेन्स सुविधा नहुँदा भौतिक पूर्वाधारमा जिल्लाकै दुर्गम खिजीदेम्बा गाउँपालिकाबाट सामान्य उपचारका लागि समेत महँगो भाडा तिरेर निजी सवारी वा हेलिकप्टर चार्टर गरेर अस्पताल जानुपर्ने बाध्यता थियो ।