रवि चोख्याउन लोकतन्त्रको प्रयोग

काठमाडौं

सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको शासन व्यवस्था हो, जहाँ आफ्नो निम्ति आफैले कसैको आदेशमा होइन, आफ्नै स्वविवेकले स्वायत्तता र स्वशासनको निम्ति कानुन बनाएर मुलुकको समृद्धि र जनताको जीवनस्तरमा उन्नति प्रगति गर्ने कल्याणकारी व्यवस्था हो । के यस्तै भएको छ त, यहाँ ? पुरानो राजनीतिक दलहरूको विकल्पमा जन्मिएका नयाँ युवा शक्ति भनाउँदाहरूले अहिले पोखरामा जनताले जे अपेक्षा गरेका थिए, त्यो भन्दा विल्कुल भिन्न प्रकृतिको दृश्य देखिएको छ; यसले राजनीतिमा निखारपन नआएको युवापीढिको अल्प र अज्ञानी चेतले काम गरेको जस्तो देखिन्छ । माथि उल्लेख गरे झैँ कानुन बनाउने संसदभित्रका सदस्यहरू नै त्यही कानुनको धज्जी उडाउँदै कुनै सहकारी ठगको पक्षमा न्वारनदेखिको बल प्रयोग गर्न पछि हट्दैन भने अब लोकतन्त्रमा दीक्षित हुनुपर्ने को ? साधारण नेपाली जनताले पनि मनन गर्न थाले । यसको प्रतिक्रिया जनमतले आगामी निर्वाचनमा देला, यही कामना गरौँ । पीडितको पक्षमा उभिनुपर्ने जनशक्ति पीडकको पक्षमा उभिएपछि जनमतको फिर्ता अवश्य पनि निर्वाचनले दिनेछ, जनता यिनीहरूले सोचे झैँ अज्ञानी-अबुझ छैन र समय सापेक्ष चेतनशील हुँदै गएको पनि छ । भलै, त्यो चेतनाको गति हामीले सोचे भन्दा धिमि होला ।

सामाजिक सञ्जालमा जे जस्तो भ्रम सृजना गरे पनि त्यसको गलत प्रयोगको विरुद्ध हाम्रा नब्युँझिएका कानुनहरू पनि अब बौरिन्छ कि ? किनकि कानुन आफसे आफ जागृत हुने होइन, कानुनलाई जागृत गर्ने काम समाजको प्रत्येक सदस्यको कर्तव्य हुन आउँछ । त्यसका निम्ति जनताको चेतना उच्च हुनु पर्छ र अहिले देखिएको रवि लामिछाने पक्राउमा पनि जनचेतनाले काम गरोस् भन्ने नै हो । बनाइएका कानुन र बनिने क्रममा रहेकाहरू पनि यसरी निष्क्रिय राख्ने हो भने प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्न सकिदैँन् । प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा त्यो बेला सम्भव हुन्छ, जब ती राज्यका निकायहरूमा चलायमान हुँदै जनताको दैनिकीसँग जोडिन्छ । यसको निम्ति आम जनताको भूमिका दोस्रो दर्जामा हुन्छ भने त्यसको कार्यान्वयन गर्न जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरूको स्थान महत्त्वपूर्ण र प्रमुख हुन्छ । तर, यहाँ यसको ठिक विपरीत दिशामा काम हुँदै छ, कार्यान्वयन कर्ता नै उल्लङ्घनमा प्रेरित हुँदै छ भने जनताले कार्यान्वयनको लागि सडक र घरघरबाट आवाज उठाउनु परेको छ ।

जनादेश ठोस हुँदा त्यसले त्यो व्यवस्थाको घनत्व बढ्दछ, तरलता हुँदा विचारहरू त्यो व्यवस्थाभित्र वर्गसंघर्षमा रूपान्तरण हुन्छ र वाष्पीकरण हुँदा तत्कालीन व्यवस्थाप्रतिको विश्वास उडेर नयाँ सामाजिक व्यवस्थाको रचनात्मक सृजना हुन्छ ।

आफू आबद्ध राजनीतिक दलभित्र होलसेलमा नेतृत्वको विकास गर्दा अहिले विद्यमान राजनीतिक दलहरूले जनचाहना बमोजिमको काम कारबाही गर्न नसकिएको हो । त्यसैले, नेतृत्व चयन गर्दा मापदण्डको व्यवस्था हुनु पर्‍यो । त्यो मापदण्ड भनेको दलहरू कुन विचार र सिद्धान्तबाट मार्ग निर्देशित छ भन्ने हो । सत्ता, भत्ताको निम्ति प्रयोग नभै देश र जनताको लागि हो भने जनादेशको अर्थ शिरोधार्य गर्दै त्यो लक्ष्य प्राप्तिमा गम्भीर बहस र छलफल गर्दै दलहरू माझ बहुदलीय प्रतिस्पर्धा र नेतृत्वमा बहुलवादी खुल्ला विचारले ठाउँ पाउनु पर्छ । मार्क्सवाद भनेकै सिद्धान्त र व्यवहारको एकरूपता हो । यो भनेकै सिद्धान्त र व्यवहार बिचमा कहीकतै चर्केको सम्बन्ध नभई व्यष्टि होइन, समष्टि हुनु पर्‍यो । यो मार्क्सवादी विचार कुनै व्यक्ति विशेष र समाज विशेषको नभई सिङ्गो वर्गीय सामाजिक विकासको निम्ति हो । यसले सर्वहारा र श्नमजीवीवर्गको आवश्यकतालाई मात्र मध्यनजर नगरेर सिङ्गो मानव कल्याणको अवधारणा प्रस्तुत हुनुपर्छ ।

एकको विकल्प अर्को तब मात्र हुन्छ, जब उनीहरूको गर्ने कार्यशैली पुरानोको भन्दा फरक हुन्छ । यहाँ जनतालाई हामी युवा, नयाँ र रचनात्मक शैलीको राजनीतिक विचारबाट प्रेरित भन्ने रास्वपाहरू नै आफ्नालाई जोगाउन उदित र पीडित जनताको पक्षमा आवाज बुलन्द गर्नु पर्नेमा उल्टै ती सहकारी पीडित जनतालाई मिठामिठा शब्दहरूबाट सम्बोधन गर्दै सकेसम्म चिप्ल्याउने, नसके धम्क्याउने र प्रलोभन देखाएर भए पनि कृतिम जनमत सृजना गर्ने प्रवृत्ति ठिक होइन । अहिलेको सचेत जनताले यसलाई आफ्नो लक्ष्य र कक्षको रूपमा स्विकार्दैनन् । लोकतन्त्रमा जनमत ठोस होइन, यो त सदैव तरल अवस्थामा हुन्छ किनकि उसले निकास खोजेको हुन्छ, त्यो निकास भनेकै सिञ्चित वैचारिक भू(भाग हो, जहाँ प्यासी जनमुद्दाहरूले राज्यको निर्णायक तहहरूमा ठाउँ पाऔंस् । त्यसैको लागि जनताले वैकल्पिक शक्तिको निर्माण हरेक निर्वाचन पिच्छे गर्दै जान्छ । यो समाज विकासको नियमित प्रक्रिया हो र यसलाई विद्यमान व्यवस्थाको संरचनाले धानेसम्म जनमतको विश्वास हुन्छ तर, जनताले पाउनु पर्ने भावनात्मक र आत्मीयता जनताकै शासन व्यवस्थामा पाउन सकिएन भने जनमतको विश्वास उड्दछ, त्यो नै जनादेश वाष्पीकरण हुनु हो किनकि हामीले जनादेशको बाफलाई त्यो व्यवस्थाभित्र अटाउने भाँडोको निर्माण नगरेको प्रमाणित हुन्छ । जनादेश ठोस हुँदा त्यसले त्यो व्यवस्थाको घनत्व बढ्दछ, तरलता हुँदा विचारहरू त्यो व्यवस्थाभित्र वर्ग संघर्षमा रूपान्तर हुन्छ र वाष्पीकरण हुँदा तत्कालीन व्यवस्थाप्रतिको विश्वास उडेर नयाँ सामाजिक व्यवस्थाको रचनात्मक सृजना हुन्छ । यी चक्रहरू पदार्थ र जैविक क्षेत्रमा मात्र लागू नभएर सामाजिक विकासको क्षेत्रमा पनि उतिकै सान्दर्भिक हुन्छ ।

त्यसैले, अहिलेको हाम्रो राजनीतिक तरलताको अवस्था वर्गसंघर्षको स्थिति हो । यसमा हामी मार्क्सवादी(लेनिनवादी शुभचिन्तकहरूले वस्तुगत र मनोगत स्थितिको निचोड जनताको बहुदलीय जनवादको आलोकमा बसेर गर्नु पर्छ । जनादेश, शोषक सामन्ती वर्गको पक्षमा जाला कि भनी सदैव सचेत रहनु पर्छ । जनादेशले हाम्रो वर्गसंघर्षको कार्यक्रमलाई भुत्ते होइन कि धारिलो बनाउँदै जबजको मार्ग निर्देशमा समाजवादको आधार निर्माण तर्फ सोझ्याउनु पर्छ । यसले तरल वर्गीय पक्षधरताको राजनीतिक अर्थव्यवस्थालाई यहाँको ठोस परिस्थितिसँग मेल खाने बनाउँदै शोषणरहित समाजको निर्माणमा दत्तचित्त हुँदै साम्यवादको नीतिहरू लागू गर्दै विश्व सर्वहारा श्नमजीवीवर्गको मुक्तिको आन्दोलनमा केही नयाँ इट्टा थप्नु पर्ने वर्तमान कार्यभार हाम्रो हुनेछ । विद्यमान विश्व ध्रुवीकरणको राजनीतिमा जनताको बहुदलीय जनवाद कुनै मुलुक विशेषको नभएर सम्पूर्ण विश्व सर्वहारा र श्नमजीवीवर्गको मुक्तिको आवाज हुनु पर्छ, त्यो दिन धेरै टाढा छैन र हुनु पनि हुँदैन । त्यसैले, हे तमाम जबजवादीहरू हो १ मुक्तिको यो नौलो परिपाटीमा हामीले हाम्रो उत्कृष्ट वैचारिक धरातलको अनुसन्धान गरौँ र गर्न प्रेरित गरौँ ताकि हाम्रो श्रमजीवी तागत वैचारिक हिसाबले सबैले अनुसरण गरून् ।

दक्षिणपन्थीसँगको अहिलेको सत्ताको तालमेल क्षणिक र हाम्रो समाजवादको नीति दीर्घकालीन हुनु पर्छ । संसदीय पद्धतिमा कार्यगत एकता, वैचारिक एकता र मोर्चा बन्दी आजको आवश्यकता हो, त्यो कार्यनीतिहरू भने हाम्रो रणनीतिहरूसँग मेल खाने खालको हुनु पर्छ । वर्ग शत्रुसँगको अस्थायी शिविरमा उसको गुण लिएर फर्किने होइन, उसलाई वर्गसंघर्षको पाठ सिकाएर त्यहाँ रहेका समाजवादी तप्काहरूलाई साथमा ल्याउने परिपाटीको विकास हामीभित्र गर्नु हरेक जबजवादीहरूले बुझ्नु पर्नेछ । त्यसैले, सहकारी ठगीको नाउमा होस् या अराजकतावादी र अवसरवादीको धंङधंङीबाट मुक्त नभएका नाम मात्र नयाँ धारको शक्ति नै किन नहोस्, हाम्रो लक्ष्य अगाडी तिनीहरू फिक्का हुन् । त्यो शक्ति हाम्रो भन्दा शक्तिशाली हुनसक्दैन्, त्यसले अल्प–क्षति बाहेक हाम्रो वर्गीय कूललाई नष्ट गर्न सक्दैन् किनकि हामी जनताको माझबाट हुर्कँदै जनताकै निम्ति समर्पित हुँदै समाजवादको प्रारम्भिक चरण जनवादमा छौँ । कार्य धेरै छन्, हामीसँग वैचारिक हतियारको कमी छ । त्यसको उत्पादन गर्ने हाम्रो मार्क्सवादी-लेनिनवादी उद्योगधन्दाहरूको स्थापना देशको कुना कुनासम्म स्थापना गर्नु पर्छ, त्यस्ता जनवादी वैचारिक शक्तिहरू गाउँ(गाउँबाट उत्पादन गर्न धेरै ढिलो गर्नु हुँदैन किनकि जति धेरै ढिलो त्यति नै मात्रामा ती प्रतिक्रियावादी शक्तिहरूले हामीमाथि बारम्बार प्रहार गर्नेछ र हामीलाई वैचारिक हिसाबले दयनीय अवस्थामा पुर्‍याएर हाम्रा पूर्वनिर्धारित जनवादी कार्यक्रमहरू बिथोल्नेछन् । त्यसो भएमास हामी हाम्रो वैचारिक धरातलमाथिको प्रहार सम्झिने छौँ, मुक्तिको सङ्ग्राममा ठुलो प्रतिक्रियावादी ढुङ्गाले हाम्रो बाटो छेक्न सक्छ, अनि हामी विचलित हुँदै उनीहरूकै शिविरमा भीखको कसौटी थाप्न पुग्नेछौँ । त्यो दिन हामीले देख्न नपरोस् भन्नकै निम्ति आज देखा परेका ती वर्गीय शत्रुको तख्ता पल्टाउन जनताको बहुदलीय जनवादको झन्डामुनि गोलबद्ध हौँ । यो बेला गुमाउनको निम्ति हामीसँग एकसरो कपडा र जीर्ण आर्थिक अवस्था बाहेक केही छैन तर जित्यौँ भने सारा संसार छ ।

हे जबजवादीहरू हो ! ती प्रतिक्रियावादी शक्तिको कमजोर हुङ्कारमाथि आजको विज्ञान र प्रविधिको युगमा आफ्नो वर्गीय वैचारिक हतियारलाई प्रयोग गर्न पछि नपरौँ, वर्गीय शत्रु हाम्रा अगाडी नै नारा जुलुस गर्दै, हामीलाई नै उनीहरू अवसरवादको पगरी गुथ्याउन खोज्दै छ । हामीले नै सृजना गरेका हाम्रा संरचनाहरू टेकेर रवि जस्ता सहकारी ठगलाई चोख्याउन हाम्रै राजनीतिक उपलब्धिहरूको प्रयोग गर्न खोजिएको छ । सचेत रहौँ, सङ्गठित रहौँ र जबजको मार्ग निर्देशमा समाजवादको आधार निर्माण गरौँ ।

तपाईको प्रतिक्रिया