नेपालमा आउँदो स्थानीय तह उपनिर्वाचन १६ मङ्सिरमा हुने तय भएको छ। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
यो उपनिर्वाचनले स्थानीय स्तरमा दलहरूको प्रभाव र जनाधारको परीक्षा हुनेछ, जसमा प्रमुख दलहरू काँग्रेस, एमाले, माओवादी केन्द्र, र अन्य क्षेत्रीय दलहरूले आफूलाई पुनः स्थापित गर्ने प्रयास गरिरहेका छन्। हालको राजनीतिक परिप्रेक्ष्यलाई मध्यनजर गर्दै, यस उपनिर्वाचनलाई दलहरूले आगामी सङ्घीय र प्रादेशिक निर्वाचनहरूको लागि मञ्चको रूपमा पनि हेरेका छन्।
दोलखाको गौरीशङ्कर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । यसमा उपाध्यक्ष पदमा नेकपा एमालेबाट उमा मगर शेर्पालाई उम्मेदवारी घोषणा गरेकी छन् । नेकपा माओवादी केन्द्रबाट निमलेकी शेर्पालाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । त्यस्तै नेपाली काङ्ग्रेसबाट पासदिकी शेर्पाले उम्मेदवारी घोषणा गरेकी छन् ।
यसै गरी नेकपा एकीकृत समाजवादी दोलखाले गौरीशङ्कर गाउँपालिका वडा नं ५ सुरी निवासी रविना खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उम्मेदवारी घोषणासँगै एमालेले पालिकाको टोल बस्तीमा उम्मेदवार पुग्ने गरी निर्वाचन अभियान सुरु गरेको छ ।
नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठका अनुसार दैनिक कार्य तालिका बनाएर घरदैलो अभियानमा उम्मेदवार पुगेको बताए । पार्टीले आफ्नो उम्मेदवारलाई विजयी गराउने उद्देश्यले पार्टीको टिम नै निर्वाचनमा होमिएको उनको भनाइ छ ।
गौरीशङ्कर गाउँपालिकाका महिला, दलित, उत्पीडित, जनजाति, किसान, मजदुर लगायत हरेक तह र तप्काका जनताको हित र अधिकारको ग्यारेन्टी गर्न तथा स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्ने योजनाकासाथ उम्मेदवारी दिइएको समाजवादीका उम्मेदवार खड्काले बताइन् ।
गौरीशङ्कर गाउँपालिकामा नेपाली काङ्ग्रेस गौरीशङ्कर गाउँपालिका सभापति समेत रहेका गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि आगामी मङ्सिर १६ मा उपचुनाव हुन लागेको हो।
उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ । सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।