तामाङ समुदायको साझा मञ्च अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी) ले विज्ञ भेला गर्ने भएको छ ।
सिद्धार्थ बुटिक होटेल काठमाडौँ सिमलटारमा कार्तिक २४ र २५ गते दुई दिनसम्म हुने विज्ञ भेलाको तयारी पूरा भएको आइटिसीका महासचिव टासी लामाले जानकारी दिए ।
विज्ञ भेलाले सांस्कृतिक पुनः उत्थान समिति, तामाङ कला, संस्कृति, साहित्य तथा इतिहास लेखन समिति, तामाङ मानवअधिकार प्रवर्द्धन समिति, भाषा, लिपि तथा शिक्षा प्रवर्द्धन समिति, अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति र अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समिति गठन गरिने आयोजक संस्थाले जनाएको छ ।
भेलामा परिषद्का स्थायी सदस्य राष्ट्रहरू नेपाल, भारत, भुटान, बर्मा, थाइल्यान्डका प्रतिनिधिहरू उपस्थिति रहनेछ । विभिन्न देशमा क्रियाशील दुई दर्जन बढी राष्ट्रिय तथा सम्बन्धन सदस्य संस्थाहरूका प्रतिनिधिले अनलाइन (भर्चुअल) बाट सहभागिता जनाउनेछन् ।
भेलामा विभिन्न देशका प्रतिनिधिहरूले छलफलमार्फत सम्बन्धित विषयहरूमा कार्य योजनालाई अन्तिम रूप दिई कार्यान्वयनका लागि विषयगत समितिको गठन गरिने महासचिव लामाले जानकारी दिए ।
विज्ञ भेलाको व्यवस्थापन नेपाल तामाङ घेदुङ सङ्घीय समितिले गरिनेछ ।