जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलो भार्खुमा सदिऔंदेखि मनाइँदै आएको चेन्दा जात्रा अहिलेसम्म पनि जीवन्त रहेको छ ।
प्रत्येक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट मनाइने यो जात्रा करिब ५ हजार वर्ष पहिलेदेखि नै मनाउँदै आइरहेको स्थानीयको भनाइ छ ।
भार्खुका प्रमुख लामा सिङ्गेनुर्पु लामाका अनुसार यो जात्रा परापुर्वकालदेखि नै चलिआएको जात्रा हो । यो जात्रा किन मनाउँछन् त भन्ने प्रश्नमा गाउँमा सुख शान्ति र सम्पूर्ण मानव जाति लगायत सास भएका सम्पूर्ण प्राणीको रक्षार्थ गरिने एक प्रकारको जात्रा भएको उनको भनाइ छ ।
एक वर्षमा चेन्दा र अर्को वर्ष कुन्देन जात्रा हुन्छ । जुन बर्सेनि पालैपालो हुन्छ, प्रमुख लामाले भने, ‘यस ठाउँ तामाङ समुदायको बाहुल्यता रहेको छ । आजका दिनसम्म पनि आफ्नो धर्म संस्कृतिलाई मर्न दिएका छैनन् ।’
यसै ठाउँमा कार्तिक शुक्ल पूर्णिमाको दिन महादेवको पूजा गरिन्छ । लामा,झाँक्री गाउँलेहरू मिलेर पाठ पूजा गर्छन् ।
सिङ्गे नुर्पु लामा चन्दनवारि अर्थात् सिङगोम्बाको प्रमुख लामा हुन् । र ठुलो भार्खु र सानो भार्खुको पनि प्रमुख लामा नै हुन् ।
गाउँलेहरू सबै मिलेर जात्रा निकाल्छन् र सबैको रक्षार्थ पूजा पाठ गर्छन् । र रोग व्याधि नलागोस् । सुख, शान्ति होस भन्ने उद्देश्यले जात्रा गरिने प्रमुख लामाले बताए ।