गौरीशंकरको विकास एमालेबाहेक अरूले गर्न सक्दैन : पूर्वमन्त्री गुरुङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले दोलखाको समग्र विकास एमालेबाहेक अरूले गर्न नसक्ने बताएको छ ।

नेकपा एमाले दोलखा–काठमाडौँ सम्पर्क मञ्चको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले दोलखाली जनताले अपेक्षा गरेअनुरुपको विकास गर्न नेकपा एमाले मात्रै सक्षम रहेकाले अन्य पार्टीबाट सम्भव नरहेको बताएको हो ।

अहिलेसम्म जिल्लामा जे जति विकासका काम भएका छन् ती सबैको नेतृत्व नेकपा एमालेबाटै हुँदै आएको चर्चा गर्नुहुँदै उहाँले आगामी दिनमा पनि एमालेकै नेतृत्वले दोलखालाई समृद्ध बनाउने विश्वास व्यक्त गरे । ‘दोलखामा अहिलेसम्म जति विकास भएको छ त्यो सबै एमालेको नेतृत्वबाट सम्भव भएको हो,’ पूर्वमन्त्री गुरुङले भने, ‘दोलखालाई समृद्ध बनाउन अझै धेरै काम गर्नुपर्ने छ । त्यसका लागि जिल्लाबाट सङ्घ र प्रदेशमा एमालेको प्रतिनिधित्व र सबै पालिका तथा वडाहरूमा एमालेको नेतृत्व अनिवार्य छ । त्यसका लागि सन्निकट रहेको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचन एमालेले जित्नु जरुरी छ ।’

नेकपा माओवादीका नेताहरू स्थानीय, प्रदेश र सङ्घको नेतृत्वमा पुग्दा विकास गरेजस्तो देखाएर व्यापक कमिसन खाएको आरोप पूर्वमन्त्री गुरुङको छ । विकासका नाममा कमिसनको जालो फिँजाउने पार्टी र त्यसको नेतृत्वबाट दोलखाली जनतामा समृद्धि नआउने उनले बताए । ‘दोलखामा माओवादीले विकासको नाममा कमिसनको व्यापक चलखेल गरेको छ । त्यस्तो पार्टीबाट दोलखाली जनता सुरक्षित छैनन्,’ उनले प्रश्न गर्दै भने, ‘२०६४ सालमा माओवादीले जितेको थियो जिल्लाको विकास कति ग¥यो, के–के ग¥यो ? हामीले देखेकै छौँ, जनताले हेरेकै छन् ।’

दोलखामा स्थापित सबै राजनीतिक दल भन्दा स्वाभिमानी र नैतिक बल उच्च भएको पार्टी एमाले मात्रै भएको बताउँदै उनले दोलखामा अपुग विकास एमालेकै नेतृत्वले गर्ने र विकास एउटा निरन्तर प्रक्रिया भएको बताए । विकासको काममा एमाले कयौँ गुणा अगाडि रहेका कारण मङ्सिर १६ गते गौरीशङ्कर गाउँपालिकालगायत स्थानीय तहहरूमाझमा हुने निर्वाचन एमालेले नै जित्नुपर्ने तर्क उनको थियो । एमाले प्रचारमा भन्दा काममा विश्वास गर्ने पार्टी भएको तर्क उनले गरे ।

यस्तै, उनले नयाँ पार्टीले केही गर्छ भन्ने भ्रम समेत चिरिएको पछिल्लो अवस्थामा एमाले रोज्नुको विकल्प नरहेको बताए । लोकतन्त्र र गणतन्त्र ल्याउनु नै गलत भयो भन्ने भाष्य सृजना गरेर सामाजिक सञ्जालको सहारामा नेता बनेकाहरूको असली हविगत दिनप्रतिदिन उजागर हुँदै गएकाले मूलधारका पार्टीबाटै मुलुकको विकास र समृद्धि सम्भव रहेको स्पष्ट गरे । ‘नेता जनताले बनाउने हो र जनताले बनाएका नेता नै लामो समयसम्म टिक्न सक्छन्,’ नेता गुरुङले भने, ‘सामाजिक सञ्जालले बनाएको नेता अब टिक्दैनन् । लामो समय टिक्दैनन् । त्यो देखिइसकियो ।’

एमाले कमजोर पार्दा मात्रै आफू अघि जान सकिन्छ भन्ने सोचबाट अन्य राजनीतिक पार्टी र विभिन्न शक्तिहरू लागि परेको अवस्थामा पार्टीले सो सभा आयोजना गर्न लागेको उनको भनाइ थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका