मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनको सरगर्मी यति वेला देशैभर बढेको छ । गौरीशङ्कर गाउँपालिकामा हुने उपनिर्वाचनका लागि विभिन्न दलले चुनावी घरदैलो अभियानमा व्यस्त छन् । नेकपा एमालेले चुनाव केन्द्रित काठमाडौँमा बृहत् भेला शनिवार सम्पन्न गरेको छ ।
दोलखा काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित भेलामा विभिन्न पेसामा रही काठमाडौँमा रहेका गौरीशङ्करका नेता कार्यकर्ता र जनतालाई उम्मेदवारको परिचय, चुनावी अभियान र एमालेलाई विजयी गराउन नेताहरूले आग्रह गरिएका छन् ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट गौरीशङ्कर गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पा मगर शेर्पाले काठमाडौँमा बसोबास गर्ने गौरीशङ्करका मतदाताहरुसँग भेटघाट गरी उम्मेदवारबारे छलफल गरी विजयी गराउन आग्रह गरिन् ।
उनले भनिन्,‘जितपछि म निरन्तर पालिकामै बसेर जनताको सेवामा लाग्छु । हालका जनप्रतिनिधि कार्यालयमा नबस्ने र नागरिकलाई दुःख दिने गुनासो रहेको निर्वाचित भएपछि सुखदुख जुनसुकै बेला सहज तरिकाले भेट्न सकिन्छ ।’
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, पोलिटब्युरो सदस्य तथा दोलखा इन्चार्ज पार्वत गुरुङ, पोलिटब्युरो सदस्य आनन्द पोखरेल, एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ लगायत नेताहरूले सम्बोधन गरिएको थियो ।